0
जोमसोम उडानमा करिब ५ मिनेट जहाज सम्पर्क विच्छेद हुन्छ । घोरेपानीदेखि तातोपानी क्षेत्रमा कन्ट्रोल रुप र जहाजको सम्पर्क हुन नसक्ने हुँदा अनुमानकै भरमा उडाउनुपर्ने बाध्यता छ । यो ठाउँलाई हवाई उडड्यन क्षेत्रमा बफरजोन भनिन्छ । बुधबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज पनि बफरजोनबाट उड्दै गर्दा दुर्घटनामा पर्रुयो । ‘पोखरा र जोमसोमको टावरले पठाएको सञ्चार तरंगलाई अग्ला डाँडाले छेक्दा सम्पर्क नै हुँदैन,’ पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्रनाथ कुँवरले भने,–‘पाइलटले आँखाले देखेकै भरमा जहाज उडाउँछन्, नेपालमा मात्रै नभई विश्वका विकट ठाउँमा यसरी नै उडाउने गरिन्छ ।’ कुँवरका अनुसार पोखरा र जोमसोम उडान मार्गको बफरजोन ‘भिएफआर’ (भिजुअल फ्लाइट रुल्स) अनुसार उडान हुन्छ । प्रविधि हुन्थ्यो भने उपकरणको सहयोगमा उडान गरिन्थ्यो, तर पोखरा र जोमसोम रुटको बफरजोन आँखाले देखेको भरमा जहाज उडाउने गरिएको छ । 
कुँवरका अनुसार पोखरा–जोमसोम हवाई रुटमा घोरेपानीसम्म पोखरा टावरले सम्पर्क गर्छ र त्यसपछि जोमसोम विमानस्थल टावरलाई हस्तान्तरण गरिन्छ । घोरेपानीलाई ट्रान्सफर प्वाइन्ट भन्ने गरिएको छ ।
पोखराबाट घोरेपानी पुग्न जहाजलाई १० मिनेट लाग्छ । घोरेपानी कटेपछि अन्तिम ४–५ मिनेटमा सम्पर्कमा आएर जहाज जोमसोममा अवतरण हुन्छन् । घोरेपानी कटेको जहाजको बीचमा ५–६ मिनेट कतै पनि सम्पर्क हुँदैन र पाइलटले अनुमानकै भरमा उडाउँछन् । बुधबार बिहान बीचमै कुनै समस्या आएर तारा एयरको जहाज बफरजोनबाटै दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । ट्विनअटर जहाजले यो रुटमा २० देखि २१ मिनेटमा एकतर्फी उडान पूरा गर्छन् ।
ताराको जहाज बुधबार बिहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । बिहान ८ बजेर ११ मिनेटमा जहाज जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने भए पनि उडेको १० मिनेटपछि हराएको जहाज म्याग्दी दाना गाविसको सोलीघोप्टेमा दुर्घनाग्रस्त अवस्थामा भेटियो । कुँवरका अनुसार घोरेपानीमाथिको आकाशबाट जहाजले पोखरा विमानस्थल टावरसँग अन्तिमपटक सम्पर्क गरेको थियो । पाइलटले घोरेपानी माथि १० हजार ५ सय फिटमा उडिरहेको बताएका थिए ।
पोखराबाट जोमसोमका लागि उडेका जहाज मौसम खराब हुँदा घोरेपानीबाटै पोखरा फर्किने गर्छन् । बुधबार मौसम खराब भएको बारे तारा एयरले कुनै पनि संकेत पोखरालाई नगरेको विमास्थलले जानकारी दिएको छ । विमानस्थलबाट करिब १० किलोमिटर दुरी स्पस्ट देखिएको र जहाजका लागि यो दुरी पर्याप्त हुने जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर सूर्यबहादुर खत्रीले बताए । खत्रीका अनुसार पोखरा–जोमसोम रुटमा घोरेपानी कटेपछि जहाजले बादल देखे केही दायाँबायाँ गर्न सक्छन् । ‘बफरजोन’ भएकाले दायाँबायाँ गर्ने सम्भावना बढी हुने खत्रीले बताए । ‘बफरजोनमा आँखाको भरमा उडान गर्दा जहाज अर्कै क्षेत्रमा पुगेको हुनसक्छ,’ उनले भने,–‘जहाजको यो नियमित रुट होइन । घोरेपानीमाथि आउँदा मौसम खुला भएकाले पनि अन्त जान आवश्यक थिएन् ।’
पोखराबाट जोमसोमका लागि उडेकोे नाइनएन ए एचएच कल साइनको ट्विनअटर जहाज दिउँसो जलिरहेको अवस्थामा भेटिएको थियो । दुर्घटनामा परी सबैको ज्यान गएको छ । जसमध्ये कृष्ण थकाली विनिता भट्टचन र उनको छ महिने बालकको शव घटनास्थलबाटै आफन्तको जिम्मा लगाइएको छ भने बाँकी शव पोखरा ल्याइएको छ ।



Post a Comment

 
Top