0
चिरञ्जीवी पौडेल
भारतविरुद्धको म्याच भन्नासाथै नेपाली समर्थकको मुख रसाउँछ, चाहे त्यो फुटबल होस चाहे क्रिकेट । सोमबार यू–१९ विश्वकपमा नेपाल र भारतको भिडन्त हुँदैछ, र नेपाली समर्थकहरु मुख मिठ्याएर बसेका छन् । भारतसितको म्याचलाई लिएर एक जना डाक्टरले फेसबुकमा लेखे,–‘नेपालले भारतलाई हराएको खण्डमा टिमका सबै खेलाडीहरुलाई जिन्दगीभरी निःशुल्क स्वास्थ्य परिक्षण गर्ने घोषणा गर्दछु ।’ डाक्टरसा’बको जस्तै भावुकता धेरै नेपालीहरुमा छ, यद्यपि, सबैले स्वास्थ्य परीक्षण गर्न सक्दैनन् !
फुटबलमा नेपाल र भारतबीच धेरै ठूलो खाडल छैन । विविध कारणले भारतसितका फुटबल म्याचमा लगातार हार व्यहोर्दै आए पनि स्तरको हिसाबले दुवै देश हाराहारीकै हुन् । यद्यपि, क्रिकेटमा भने यो खाडल अत्यन्त ठूलो छ । भारत क्रिकेटको महाशक्ति हो । टेस्ट वरियतामा हाल नम्बर १ मा रहेको देश हो । मैदानभित्र मात्रै नभएर बाहिर पनि उसको मजबुत पकड छ । अहिले विश्व क्रिकेट नै भारतको अधिनमा रहेको मान्नेहरु धेरै छन् । यता नेपाल क्रिकेटको उदियमान राष्ट्र हो, जहाँ क्रिकेटका न्यूनतम पूर्वाधारहरु समेत छैनन् । क्रिकेटमा अहिलेसम्म नेपालले हासिल गरेका उपलब्धि खेलाडीको व्यक्तिगत प्रतिभाले गर्दा मात्र सम्भव भएको भन्दा अतिशयोक्ति हुने छैन । दुई देशका खेलाडीहरुले पाउने अवसर र सुविधामा आकाश–जमीनको फरक छ ।
यू–१९ विश्वकपमा भारतको इतिहास निकै लोभलाग्दो पनि छ । अहिलेसम्म तीनपटक अन्डर–१९ विश्वकपको उपाधि उचालिसकेको भारत यसपाली पनि एक दावेदार हो । त्यसैले भारतविरुद्धको म्याच नेपालका निम्ति फलामको च्यूरा हुनेछ । तर, त्यसो भनेर भोलिको म्याचमा नेपालले सहजै आत्मसमर्पण भने गर्दैैन । विगतमा पटक–पटक भारतजस्तै शक्तिशाली टेस्ट खेल्ने टिमहरुलाई हराएको गर्विलो इतिहास नेपालसित छ । त्यसैले भारतले नेपाललाई कम आँक्न सक्ने अवस्था छैन । आज सोमबारको म्याचमा नेपालले भारतलाई स्तब्ध पार्न सक्ने केहि आधारहरु यस्ता छन् ः
१.भारत दबावमा, नेपाल निस्फ्रिक्री
नेपाललाई म्याच जित्नैपर्छ भन्ने मनोवैज्ञानिक दबाव छैन, तर भारतलाई छ । नेपाल र भारत दुवैले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको अवस्थामा भोलिको म्याचले समूह विजेताको टुंगो लगाउने छ । भारतीय टोली कुनै हालतमा समूह विजेता भएरै अर्को चरणमा जान चाहन्छ । म्याच नेपालले जित्यो भने भारत उपविजेतामा सिमिति हुने छ, जून उसको लागि मरेतुल्य हो । नेपालका हकमा त्यस्तो दबाव छैन । क्वाटरफाइनलमा स्थान बनाएर इतिहास रचिसकेको नेपाल भारतसितको निर्धक्क भएर खेल्नेछ । आजको म्याच हार्दा नेपालले केहि गुमाउँदैन तर, जित्दा धेरै एतिहासिक उपलब्धि हासिल हुनेछ ।
२. नेपाली ब्याटिङ फर्म ः नेपालको ब्याटिङ परम्परागतरुपमा कमजोर मानिन्छ । ब्याटिङले धोका दिँदा नेपालले जित्न सक्ने धेरै म्याचहरु गुमाएका उदाहरण छन् । यस विश्वकपका दुई म्याचमा भने नेपालको ब्याटिङ राम्रो लयमा देखिएको छ । पहिलो म्याचमा खडा गरेको दुई सय ३८ रनको स्कोर नेपालका लागि यू–१९ विश्वकपकै अहिलेसम्मको उच्च थियो । न्यूजिल्याण्ड जस्तो बलियो टोलीविरुद्ध २३८ रन हान्नुले युवा टोलीको ब्याटिङमा दम छ भन्ने पुष्टि गर्छ । अर्को म्याचमा १३२ रनको लक्ष्य भेटाउने क्रममा नेपालले दुई विकेट र २५ ओभर मात्रै खेर फाल्यो ।
दुवै म्याचको प्रदर्शन हेर्दा सबै ब्याट्सम्यानहरु राम्रो र्फममा देखिएका छन्, जुन नेपालका लागि उत्साहको समाचार हो । अर्को सकारात्मक पक्ष भनेको नेपालको ब्याटिङ कुनै एक वा दुई ब्याट्सम्यानमा निर्भर देखिएको छैन । सबैले आ–आफ्नो ठाउँमा योगदान दिएका छन् । भरत विरुद्धको म्याचमा पनि २५० को नजिक स्कोर खडा गर्न सकेको खण्डमा बलिङले बाँकी काम गर्न सक्छ । पहिलो बलिङ गर्दा भारतलाई २२० भन्दा मुनी रोकेको खण्डमा ब्याट्सम्यानहरुले बाँकी काम पूरा गर्न सक्छन् ।
३. अलराउण्डरको वर्चश्व ः क्रिकेटमा अलराउण्डरहरुको ठूलो महत्व हुन्छ । जति धेरै अलराउण्डर हुन्छन्, ब्याटिङ उत्तिकै गहिरो हुन्छ । नेपालको टोलीमा अलराउण्डरहरुको वर्चश्व छ, जून टोलीको सबैभन्दा मजबुत पक्ष हो । सुनिल धमला, आरिफ सेख, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले बलिङ तथा ब्याटिङ दुवैमा योगदान दिन सक्छन् । कप्तान राजु रिजालले मध्यक्रममा ब्याटिङ गर्नुका साथै विकेट किपिङ पनि गर्छन् । कुनै पनि टिमसित पाँच वास्तविक अलराउण्डर हुनु भनेको गजब हो ।
४. बंगलादेशको पिच र नेपालका स्पिनर
सन्दिप लामिछानेको स्पिन अहिले प्रतियोगीतामै चर्चाको विषय बनिरहेको छ । आफ्नो दोस्रो अन्तर्राष्ट्रिय म्याचमै ह्याट्रिक लिएर यी किशोरले अन्य टिमहरुलाई चेतावनीको सन्देश दिएका छन् । नेपालविरुद्धको म्याचमा भारत सन्दिपसित सतर्क हुनेछ । उनले आयरल्याण्डविरुद्धको प्रदर्शन भारतविरुद्ध नदोहोर्रुयाउलान् भन्ने छैन । बंगलादेशको पीचले स्पिनरलाई मद्दत गरिरहेको देखिएको छ । अहिलेसम्म तीन जना स्पिनरले पाँच विकेटको सफलता हासिल गरिसकेका छन् । नेपाली टोलीमा स्पिनरहरु भरपुर छन् । अघिल्ला दुई म्याचमा नेपालले चार स्पिनरलाई बलिङ गराएको थियो ।
सन्दिप जत्तिकै क्षमता भएका स्पिनर सुशील कँडेल पनि । देव्रे हाते यी स्पिनरले न्यूजिल्याण्ड विरुद्ध किफायति बलिङ गर्दै १० ओभरमा केवल २९ रन दिएका थिए भने आयरल्याण्ड विरुद्ध पनि २० रन मात्रै दिएर १ विकेट लिएका थिए । यसैगरी प्रेम तामाङ र सुनील धमलाको स्पिन पनि नेपालका लागि महत्वपूर्ण हुनेछ । स्पिनरहरुले आफ्नो भूमिकामा न्याय गरे भने भारतलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकिनेछ ।
५. सरफराजको विकेट ः भारतीय टोली कप्तान सरफराज खानमाथि अत्यधिक निर्भर देखिएको छ । अघिल्ला दुई म्याचमा समस्यामा परेको बेला उनैले टोलीको उद्दार गरेका थिए । आयरल्याण्डविरुद्धको पहिलो म्याचमा भारत ४ विकेटमा ५५ रनको अवस्थामा धर्मराइरहेकोमा उनको सम्हालेका थिए । सरफराजले ७० बलमा ७५ रन बनाएपछि भारत २६८ स्कोरसम्म पुग्यो । आयरल्याण्ड विरुद्ध पनि उनले त्यतिकै बलमा उत्तिकै रन बनाए । भारतीय टोलीमा अरु पनि खतरनाक ब्याट्सम्यान छन् । तर, अहिलेको र्फममा सरफराजलाई सस्तैमा आउट गर्ने हो भने भारतको ब्याटिङ धर्मराउन सक्छ । चार नम्बरमा खेल्ने सरफराजको विकेट सस्तोमा झार्न लागि नेपालले खास रणनीति बनाउनुपर्ने देखिन्छ ।
तर, भारत बलियो छ ः न्यूजिल्याण्ड र आयरल्याण्डसितको लगातार विजयपछि नेपालको हौसला बुलन्द छ । नेपाली समर्थकहरु अर्को सनसनीपूर्ण नतिजाको कल्पनामा डुबेका छन् । यो आफैंमा असम्भव कल्पना होइन । यद्यपि, भारतको युवा टोलीविरुद्ध नेपालले धेरै महत्वाकांक्षा राख्न भने हुँदैन, किनकी भारत प्रष्ट रुपमा नेपालभन्दा बलियो टोली हो । उसित एक–से एक विश्वस्तरीय युवा खेलाडीहरु छन् ।
नेपालका लागि अर्को चिन्ताको विषय के हो भने परम्परागतरुपमा भारतीय ब्याट्सम्यानहरु स्पिनरलाई राम्रो खेल्छन् । नेपालको बलिङ स्पिनमा बढि निर्भर रहेको अवस्थामा भारतीय ब्याट्सम्यानलाई रोक्नु फलामको च्यूरा सावित हुन सक्छ ।
हेर्नलायक खेलाडी
नेपालः दिपेन्द्र ऐरी ः नेपालले हासिल गरेका दुवै जितहरुमा दिपेन्द्र ऐरी प्रमुख पात्र थिएन, तर उनको अहम भूमिका थियो । फास्ट बलरलाई खासै मद्दत नगर्ने गर्ने पीचमा पनि उनको मध्यम गतिको बलिङ प्रभावशाली बनिरहेको छ । दुवै म्याचमा किफायति बलिङ गरेका उनले अहिलेसम्म पाँच विकेट लिइसकेका छन् । ऐरीको बलिङ मात्रै नभएर ब्याटिङ पनि नेपालका लागि महत्वपूर्ण हुनेछ । तल्लो मध्यक्रममा ब्याटिङ गर्न आउने उनी छिटो रन बटुल्ने क्षमता राख्छन् । न्यूजिल्याढडविरुद्ध उनले १७ बलमा १६ रन बटुलेका थिए भने आयरल्याण्डविरुद्ध उनले ब्याटिङको मौका पाएनन् । भारतविरुद्धको म्याचमा उनको ब्याटिङको खाँचो पर्न सक्छ ।
भारतः अभेस खान ः अभेस खान भारतका प्रमुख बलर हुन् । उनको बलिङ झेल्नु नेपाली ब्याट्सम्यानहरुका लागि सबैभन्दा ठूलो चुनौति हुने छ । भारतले खेलेका दुवै म्याचमा अभेसले विपक्षी ब्याट्सम्यानलाई घुँडा टेकाएका छन् । आयरल्याण्डविरुद्ध उनले १० ओभरमा २४ रन दिएर २ विकेट लिएका थिए भने न्यूजिल्याण्डका ब्याट्सम्यानहरु त उनका सामु टिक्नै सकेनन् । उनले चार अग्रपंतिका ब्याट्सम्यानहरुलाई पेभेलियनको बाटो देखाएपछि न्यूजिल्याण्ड १० रनमा ४ विकेटको अवस्थामा पुगेको थियो । बाउन्सहरु फ्याक्न खप्पिस अभेसलाई नेपाली ओपनरहरुले कसरी सामना गर्छन्, त्यो हेर्न लायक हुनेछ ।
नाकाबन्दी र क्रिकेट ः भारतले चार महिनादेखि नेपाललाई नाकाबन्दी लगाएपछि दुई देशबीचको सम्वन्ध तनावमय छ । त्यसैले पनि भारतविरुद्धको म्याचलाई लिएर नेपालका समर्थकहरुमा चर्को भावुकता छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले नेपालका खेलाडीलाई फोन गरेर भारत विरुद्धको म्याचका लागि शुभकामना दिएका छन् । भोलीको म्याचमा नेपालले विजय प्राप्त गरेको खण्डमा भारतलाई गतिलो पाठ हुने विश्वास समर्थकहरुले राखेका छन् । यद्यपि, खेलमा भावुकताको कुनै अर्थ हुन्न । खेलमा त्यति टोलीले जित्छ, जो बलियो छ र जसले मैदानमा अर्कोभन्दा राम्रो खेल्छ । नेपालले कुनै पनि उमेर समूहको क्रिकेटमा नेपालले भारतलाई अहिलेसम्म हराउन सकेको छैन । भारतलाई क्रिकेटमा हराउनका लागि योभन्दा उचित समय अरु हुन सक्दैन ।

Post a Comment

 
Top