0
गोल्डेन न्यूज संवाददाता
पोखराका केही उत्साही युवा सम्मिलित पञ्चामृत समूह पोखराले नाटककार कृष्ण उदासीको नाटक पुलिस र प्यास पोखरामा प्रदर्शन गर्ने तयारी थालेको छ। नाटकको रिहर्सल सुरु भएको छ भने निर्देशन नाटककार उदासीले नै गर्दै छन्। वेश्यावृत्ति, चोरी, जुवा, रक्सीपान आदिलाई समाजले सधै निकृष्ट मान्दै आएको छ। 
समाजले घृणा गरे पनि यिनीहरूको लतमा आफ्नो जीवन, परिवार र समाज नै बिगार्नेहरूको कथा पुलिस र प्यासमा छ। किन बढिरहेछन् यस्ता प्रवृत्ति, के छ यसमा लाग्नुको रहस्य जस्ता प्रश्नको नाटकमार्फत् उत्तर खोज्ने प्रयास गरेका छन् नाटककार कृष्ण उदासीले। नाटककार उदासीले नाटकको विषयवस्तु फरक रहेको दावी गरे। उनले भने–‘नाटकमा यी पात्रले विद्रोह गर्छन्, राजनीतिक हानाथाप र लुछाचुडीले उभो लाग्न नसकेको देशको समाजको कथा हो यो।’ आठ कलाकारको भूमिका रहेको नाटकका अधिकांश कलाकार पहिलोचोटि रंगमञ्चमा देखिँदै छन्। यसअघि एक सय तीन नाटक लेखेका उदासीको यो नाटक प्रदर्शनसँगै आफू अब रंगमञ्चमा निरन्तर लाग्ने जनाएका छन्। उनले भने–‘नाटकले सुरुमा हसाउँछ, हसाँउदा–हसाउँदै रुवाउँछ।’ यसअघि रेडियो नाटक गर्दै आएको पञ्चामृत समूहले पाहिलो पटक रङ्गमञ्चमा प्रवेश गर्न लागेको हो। पञ्चामृतका कार्यक्रम संयोजक परिवर्तनले कलाकारहरू नाटकको रिहर्सलमा व्यस्त रहेको र चाडै प्रदर्शनको मिति सार्वजनिक हुने बताए।


Post a Comment

 
Top