0
गोल्डेन न्यूज संवाददाता
फेवा किनारमा आयोजना हुन गइरहेको १३औं फेवा नववर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले सुझाव संकलन अभियान सुरु गरेको छ । आगामी चैत २८ देखि बैशाख २ गतेसम्म नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने महोत्सवलाई नयाँ र परिस्कृत ढंगले संचालन गर्ने उद्देश्यका साथ संघले मंगलबार लेकसाइडमा एक विशेष भेलाको समेत आयोजना गरेको थियो । संघका सल्लाहकार, पदाधिकारी र सदस्यहरुबाट सुझाव संकलन गरी महोत्सवलाई नयाँ ढंगले संचालन गर्न भेलाको आयोजना गरिएको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । नाकाबन्दी र विभिन्न हड्तालका कारण यो पटक पोखरा र नेपालकै पर्यटनमा सून्यताको अवस्था छाएको बताउँदै उनले कठित परिस्थितिमा पनि महोत्सव आयोजना गर्न लागिएको बताए । अहिले होटलको अकुपेन्सीमा ६० देखि ७० प्रतिशतसम्म गिरावट आएको जानकारी दिंदै उनले तातोपानी नाका बन्द हुँदा र आवश्यक मात्रामा अन्तर्राष्ट्रिय उडान नहुँदा पनि यस्तो अवस्था आएको उनले सुनाए । तर पनि आफूहरु भविष्यप्रति आशावादी रहेको र सार्क मन्त्रीस्तरीय बैठक पोखरामा गर्ने तयारीले थप उत्साह मिलेको उनले सुनाए । सो अवसरमा बोल्दै संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले महोत्सवको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन गर्नु नै रहेको स्मरण गराउँदै महोत्सवलाई सफल पार्न सामूहिक प्रयासको आवश्यकता औंल्याए । पर्यटन, खाना र संस्कृतिको पक्षलाई महोत्सवले केन्द्रमा राखेको पनि संयोजक तुलाचनले बताए । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षबाट सुझावको समेत अपेक्षा गरिएको उनले सुनाए । आवश्यक सुझाव होटल सदस्य र अन्यले समेत संघको कार्यालयमा टिपाउन सकिने सो अवसरमा जानकारी गराइयो । फेवा किनारमा आयोजना हुने महोत्सवका अवसरमा लेसकाइडमा सडक महोत्सव समेत आयोजना गर्ने सोंच रहेको र त्यसपहिला महोत्सवबारे जानकारी दिन नेपालका विभिन्न भागमा व्यवसायी पुग्ने योजना बन्दै गरेको पनि कार्यक्रममा बताइएको थियो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्मा, सल्लाहकार हरु बच्चुराम तिवारी, गोविन्दराज पहारी र लक्ष्मीबहादुर भट्टराईले महोत्सवलाई सफल पार्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने भनाई राखे । महोत्सवका अवसरमा गीत संगीतका कार्यक्रमलाई थप नयाँ र चर्चित कलाकारका साथ प्रस्तुत गर्न, महोत्सवको प्रचार–प्रसारमा ध्यान दिन, पार्किङ, सुरक्षा र सरसफाईमा ध्यान दिन, वाटर स्पोर्टसका कार्यक्रम संचालन गर्न सदस्यहरुले सुझाव प्रस्तुत गरेका थिए । यसैगरी घरबास कार्यक्रम, कृषि र हस्तकलाका सामग्री प्रवद्र्धन तथा उपहारका कार्यक्रम टिकटमा समावेश गर्न समेत सुझाव दिइएको थियो । महोत्सवमा राजदूतहरुलाइ समेत सहभागी गराउन सो अवसरमा सुझाव दिइएको थियो । राष्ट्रिय पर्यटन परिषद्को सदस्यमा हालै नियुक्त नेपाल पर्यटन वोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठीलाई सो अवसरमा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top