0
नेपालमा समाज र कानूनले बन्देज लगाएको यौन व्यापार एउटा समस्याका रुपमा देखिएको छ । केही वर्षअघि पोखरामा पनि निकै फस्टाएको यो व्यापार अहिले केही हदसम्म कमि आएको छ । पहिला खुलम खुल्ला रुपमा हुने यो व्यापार अहिले केही भूमिगतरुपमा भएको बुझ्न सकिन्छ । पोखरा, राजधानी काठमाडौँदेखि विभिन्न सहरमा यौनजन्य व्यवसायले प्राथमिकता पाएको छ । पोखराका डान्स रेष्टुराँ, डिस्कोथेग र बारमा भेटिने यौनकर्मी अहिले एउटा सामान्य लज तथा होटलहरुमा उपलब्ध भइरहेका छन् । उज्यालो सहरमा मात्रै होइन, सहरोन्मुख गाउँमा समेत यौनव्यापार राम्रोेसँग चलेको छ । पछिल्लो समय होटल, लजहरुमा प्रहरीले छापा मार्न थालेपछि यौनव्यापार व्यक्तिका घर तथा डेरामा स्थानान्तरण हुँदै गएको छ । प्रहरीको आँखा छल्दै नयाँ स्थान र शैलीमा यौनव्यापार फस्टाइरहेको छ । प्रहरीले जतिसुकै नियन्त्रणको प्रयास गरे पनि यौनव्यापार निरुत्साहित भएको छैन, बरु बढोत्तरी भइरहेको छ । यौनव्यापारका लागि राजधानी, पोखरा, बुटबल, चितवन, नवलपरासी, हेटौँडा, वीरगञ्जमात्र होइन, कुनै जिल्ला तथा सहर बाँकी छैनन् । पोखरा र चितवन पछिल्लो समय यौन पर्यटनका रुपमा कहलिँदै गएका छन् । पोखरामा करिव पाँच हजार यौनकर्मी रहेको तथ्यांक छ । यस्तै, चितवनमा करिव दुई हजारको संख्यामा यौनकर्ममा संलग्न रहेको अनुमान गरिएको छ । प्रहरीले यौनव्यापारलाई नियन्त्रण गर्न होटल तथा लजहरुमा छापा मार्दै यौनकर्ममा संलग्नलाई सार्वजनिक अपराधअन्तर्गत मुद्धा चलाउने गरेको छ । यस्तै, यस पेसामा लाग्न बाध्य पार्ने होटल, रेष्टुरेन्टका सञ्चालकविरुद्ध मानव बेचविखन मुद्दा चलाउँदै आएको छ । यौनव्यापार अहिले राष्ट्रव्यापी समस्या बनिरहेको छ । यौनव्यापारले क्षणिक रुपमा केही व्यवसायीलाई आर्थिक लाभ भएपनि यो एउटा दीर्घरोगका रुपमा समाजमा फैलिरहेको छ । यौनकर्मीलाई व्यवस्थित गर्नुपर्ने र छुट्टै ‘रेडलाइन जोन’ तोकिनुपर्ने सवाल बेलाबेलामा उठे पनि यौनव्यापार नेपालको सांस्कृतिक, धार्मिक तथा सामाजिक मूल्य र मान्यताका हिसावले अपराध मानिँदै आएको छ । समाजमा कलंकको रुपमा फैलिएको यो पेसा जति अवैध छ, त्यति नै असुरक्षित पनि छ । यो व्यवसायमा संलग्न हुनेहरु रहर वा बाध्यता जुन कारणले संलग्न भए पनि उनीहरुको जीवन जोखिममय बन्दै गएको छ । विभिन्न संस्थाले यौनकर्मीका लागि सुरक्षित यौनव्यवहार सिकाउने काम गर्दै आए पनि त्यसको प्रभाव नगण्य छ । यौनकर्मी महिलामा यौनरोग तथा एचआइभीको जोखिम बढ्दै जाँदा समाज पनि दिनहुँ असुरक्षित बन्दै गइरहेको छ । प्रहरीले यौनव्यापारलाई निरुत्साहित गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । तर होटल तथा लजबाट पक्राउ पर्नेमा सबैलाई एउटै व्यवहार गर्दा बेलाबेलामा आलोचित हुँदै आएको छ । प्रहरीको निगरानी र छापा मार्ने अभियान तीव्र रुपमा अघि बढे पनि यौनजन्य गतिविधिलाई नै आम्दानीको स्रोत बनाउँदै आएका व्यवसायीका कारण यो समस्या न्यूनीकरण हुन सकेको छैन । प्रहरीले छापा मार्ने नाममा सर्वसाधारणलाई आतंकित बनाउने, रातबिरात छापा मारेर दम्पत्तिलाई समेत दुःख दिने प्रवृत्ति हटाउनुपर्छ । तर व्यवसाय गर्ने नाममा यौनव्यवसाय गर्ने छुट भने कसैलाई पनि हुनुहुँदैन । अहिले अव्यवस्थित रुपमा होटल तथा लजहरुमा यौनकर्म बढ्दै गएको तथ्य कसैले छिपाउन सक्दैन । त्यस्तो अपराधबाट समाजमा नराम्रो सन्देश फैलिइरहेको छ । यौनव्यापार कुनै पनि व्यवसायीको प्राथमिकताको विषय बन्नु हुँदैन । यो समाजलाई अधोगतिमा लैजाने अपराध हो । यसलाई सबैले निरुत्साहित गर्नु जरुरी छ ।

Post a Comment

 
Top