0
नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनको तयारीका लागि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन शुक्रबार हुँदैछ । काँग्रेसले संविधानसभाको निर्वाचनमा कायम २४० निर्वाचन क्षेत्रानुसार नै यही माघ २२ गते शुक्रबार क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री सहित निर्वाचन अधिकृत खटिइसकेका छन् । बारा बाहेक अन्य अधिकांश जिल्लाका २२० निर्वाचन क्षेत्रमा शुक्रबार क्षेत्रीय र महाधिवशेन प्रतिनिधिको निर्वाचन सम्पन्न हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले राससलाई जानकारी गराए । एक निर्वाचन क्षेत्र भएका जिल्ला र प्राविधिक कठिनाइले स्थानीय तहको निर्वाचन हुन बाँकी २० निर्वाचन क्षेत्रमा भने माघ २५ गते निर्वाचन हुने उनले बताए । बारामा प्राविधिक कारणले निर्वाचन हुन नसक्ने बताइएको भए पनि आन्दोलनरत मधेस केन्द्रित दलको अवरोध भएको ठानिएको छ । 
माघ १५ गते गाउँ, नगर वडा र नगरको अधिवेशन गरेको काँग्रेसले क्षेत्रीय अधिवेशन तथा महाधिवशेन प्रतिनिधिको निर्वाचन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते गर्ने तालिका सार्वजनिक गरेको छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन एकै दिन हुने संयोजक अधिकारीले बताए । गाउँ र नगरको निर्वाचनबाट चुनिएका क्षेत्रीय प्रतिनिधि र स्थानीय नेतृत्वले पार्टीको क्षेत्रीय र जिल्लाको नेतृत्व एवम् महाधिवेशन प्रतिनिधिको चयन गर्ने केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए । महाधिवेशन प्रतिनिधिले महासमिति सदस्य र केन्द्रीय कार्यसमितिको चयन गर्ने व्यवस्था काँग्रेस विधानमा छ । काँग्रेसमा केन्द्रीय कार्यसमितिका ८५, २४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने दुई हजार ८८० र विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट चयन हुने गरी जम्मा तीन हजार दुई सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुने सचिव पराजुलीले जानकारी दिए ।



Post a Comment

 
Top