0
गोल्डेन न्यूज संवाददाता
यातायात ब्यवसायीको शुक्रबारदेखि शुरुगरेको आन्दोलन स्थगित भएको छ । आन्दोलन स्थगित भएपछि गण्डकी अञ्चलमा सार्वजनिक सवारी संचालनमा आएको छ । शनिवार विहानैदेखि ठप्प रहेको सार्वजनिक यातायात दिउसो १ बजेदेखि चल्न थालेका थिए । यातायात ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको आग्रहपछि माघ २७ गतेसम्मका लागि आन्दोलन स्थगित गरिएको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सहसंयोजक योगेन्द्र बहादुर केसीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए। पोखरामा नयाँ बस ब्यवसायी समितिले रुट ईजाजत पाएपछि पुराना ब्यवसायी आन्दोलित हुँदा शनिवार बिहान पोखरा नगर क्षेत्रमा सञ्चालन हुने र पोखरा हँुदै बाहिरिने कुनैपनि सवारी चलेका थिएनन् ।

आन्दोलनका कारण सर्वसाधारण तथा निजि सवारी साधन हुनेले निकै सास्ती व्यहोरेका थिए । तत्कालका लागि नयाँ विन्धवासिनी यातायात बस ब्यवसायी समिति अन्तर्गतका बस सञ्चालन नगर्ने र यातायात ब्यवस्थापन समितिको बैंठक बसेर निर्णय गर्ने सहमति भएको छ । पोखरा नगर क्षेत्रभित्र सञ्चालन गर्ने गरी नयाँ समितिका तीन वटा बसले रुट ईजाजत प्राप्त गरेका थिए ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यवस्था विभागको पत्रका आधारमा यातायात ब्यवस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो । तर पोखरामा थप नयाँ बसको आवश्यकता नरहेको र भएका समितिलेनै यात्रुको आवश्यकता अनुसारको सेवा दिईरहेकाले नयाँ समितिको रुट ईजाजत खारेज हुनुपर्ने पुराना ब्यवसायीले माग गरेका छन् ।

Post a Comment

 
Top