0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस कास्की क्षेत्र नं. ४ को अधिवेशन आज बिहीबार हुँदैछ । अधिवेशनबाट महासमिति को सदस्य बन्ने दौडमा महाधिवेशन प्रतिनिधिहरु लागेका छन् भने क्षेत्रीय कार्यसमितिको सभापति, सचिव र कोषाध्यक्षका साथै सदस्यका उम्मेदवारहरु आफ्नो पक्षमा मतदाता तान्न सक्रिय रहेका छन् । गत माघ २२ गते क्षेत्रीय अधिवेशनका क्रममा मतदान सकिएपछि मतगणना भइरहेको बेला निर्वाचन प्रक्रियाका बारेमा विवाद उत्पन्न भएपछि मतगणना प्रभावित भएको थियो । जसका कारण कार्यसमितिको सभापति लगायत पदाधिकारी र सदस्यहरुको मतगणना रोकिएको थियो । महाधिवेशन प्रतिनिधिहरुको भने छट्टै मतपत्र र मतगणना भएकोले कार्यसमितिका लागिमात्र बिहीबार पुनः चुनाव हुने भएको हो । क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिएका मनोज गुरुङ र पोषनाथ शर्माबीच यसअघिको मतदानका क्रममा तीव्र प्रतिस्पर्धा देखिएको थियो । यसपटक पनि तिनै उम्मेदवार बीच मात्र प्रतिस्पर्धा हुने भएपछि गुरुङ र शर्मा चुनाव जित्नका लागि दौडधूपमा लागेका छन् । अघिल्लो मतदानका क्रममा बलियो देखिएका पोषनाथलाई मत माग्दै हिंडेका  महादेव गुरुङ, रामचन्द्र त्रिपाठी, देवेन्द्र शेरचन लगायतका महाधिवेशन प्रतिनिधि यस पटक भने पोषनाथको पक्षमा खुलेर लाग्ने देखिंदैनन् । उनीहरु आफू महाधिवेशन प्रतिनिधि बन्ने प्रयासमा अघिल्लो पटक पोषनाथलाई समर्थन गरेपनि अब उनीहरुले पोषनाथलाई छाड्ने अनुमान गरिएको छ । हुनत शुक्रराज शर्मा जिल्ला सभापतिमा पराजित भएपछि पोषनाथ समेत कमजोर बनेकोले उनको साथ छोड्नेहरु बढेका छन् । यसबाहेक शुक्रराजको समूहमा लामो समय रहेका भेषराज पराजुली समेतका अन्य नेताहरुले समेत यो चुनावमा पोषनाथलाई सघाउने देखिदैन । यसपटकको चुनावमा शुक्रराज शर्मा र युवराज कुँवर सहितका सीमित नेता र कार्यकर्तामात्र पोषनाथको पक्षमा देखिएकोले यसको फाइदा मनोज गुरुङलाई पुग्ने देखिन्छ । यसअघि मनोजको पक्षमा सक्रिय रहेका खेमराज पौडेल, प्रकाशबहादुर गुरुङ समेतका नेता कार्यकर्ताहरुसंग शुक्रराज र पोषनाथ संगै काम गरेका थप नेता कार्यकर्ताहरु गुरुङको पक्षमा देखिएकोले पनि गुरुङले जित्ने सम्भावना बढेको बताइन्छ । यसअघि नै क्षेत्रीय सभापतिको जिम्मेवारी लिएर ११औं महाधिवेशनमा जिल्ला सचिव र १२औं महाधिवेशनमा जिल्ला सभापतिको उम्मेदवार बनेका पोषनाथ यस पटक फेरि क्षेत्रीय सभापति बन्न चाहेपछि उनलाई कतिपय कार्यकर्ताले आप्mनो हैसियत बिर्सिएको र पदलोलुप बनेको आरोप समेत लगाएका छन् तर पोषनाथ भने त्य मान्न तयार छैनन् । कार्यकर्ताको चाहनाले नै आफू पुनः क्षेत्रीय सभापति बन्न चाहेको भन्दै पोषनाथले लामो समय पार्टीमा काम गरेकोले पनि आफूलाई कार्यकर्ताले जिताउने विश्वास उनको छ । मनोज गुरुङ भने आफूलाई परिवर्तनको पक्षमा रहेका युवा र आम कार्यकर्ताको समेत साथ मिलेको दावी गर्दै जिल्लाको अधिवेशनमा आफूलाई विरोध गर्नेहरु पराजित भैसकेकोले पनि निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दावी गर्छन् । क्षेत्रीय अधिवेशनका क्रममा महिला महासमिति सदस्यमा हरिमाया गुरुङ निर्विरोध बन्ने सम्भावना रहेपनि अन्य ४ जना महासमिति सदस्यका लागि ६ जना चुनावी मैदानमा उत्रदैँछन् । यसैगरी कार्यसमितिको सचिवमा खिमराज बाँस्तोला र विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा कृष्णप्रसाद त्रिपाठी र जीवनाथ पौडेल तथा सदस्यहरुमा कमलबहादुर गुरुङ, कमला विन्दु बराल, गोपाल प्रसाद पराजुली, तीर्थबहादुर थापा मगर, देवेन्द्र विक्रम शाही, प्रकाशचन्द्र सापकोटा, प्रकाश बराल, बालकृष्ण अधिकारी, विष्णुकुमारी श्रेष्ठ, मिनबहादुर गुरुङ, राजाराम पौडेल, लक्ष्मी प्रसाद पौडेल र सोनु गुरुङले उम्मेदवारी दिएका छन् । क्षेत्र नं. ४ मा २ सय २८ मतदाता क्षेत्रीय प्रतिनिधि रहेका छन् ।






Post a Comment

 
Top