0
राजाराम पौडेल
नेपाली कांग्रेस कास्कीको सभापति पदका उम्मेदवार कृष्ण केसीले पार्टीको क्षेत्रीय अधिवेशनबाट आएको परिणामले आफू उत्साहित भएको भन्दै सभापति पदमा विजयी हुने दावी गरेका छन् । आइतबार सुनौलो एफएमसंग कुरा गर्दै उनले ४ वटा क्षेत्रमा भएको क्षेत्रीय अधिवेशनबाट  आएको परिणामले आफ्नो सम्भावनालाई बलियो बनाएको बताए । ‘कास्की कांग्रेसको सभापतिमा निर्वाचित हुनेमा म विश्वस्त छु’, केसी भन्छन्–‘कास्कीका चारवटै क्षेत्रबाट आएको आएको परिणाम र मप्रतिको सहानुभूतिले उच्च मनोबलका साथ अगाडि बढ्न हौस्याएको छ ।’
गुट–उपगुट भन्दा पनि कार्यकर्ताको मूल्याङ्कन महत्वपूर्ण हुने हुदाँ अत्यधिक मतले निर्वाचित हुने उनको दावी छ । कास्की कांग्रेसको नेतृत्व कस्लाई दिने भन्नेमा नेता भन्दा कार्यकर्ता बढि चिन्तित भएको बेला कास्की कांग्रेसको एकता, सुदृढ र सशक्त संगठनको लागि केसीले मत पाउने आंकलन गरिएको छ । आफूले सबै नेतालाई सम्मान गर्ने बताउने केसी नेपाली कांग्रेस कास्कीको अधिवेशन एकता र सम्मानको अधिवेशन बन्नुपर्नेमा जोड दिन्छन् । हाल नेपाली कांग्रेसमा चालिस प्रतिशत युवा क्रियाशिल रहेको र त्यतिनै संख्यामा प्रतिनिधि चयन भएकोले युवाहरुको राजनीतिक भविष्य कांग्रेसमा छ भन्ने सम्भावनाका लागि पनि आफनो उम्मेदवारी रहने उनले बताए ।
एक व्यक्ति एक कार्यकालको पक्षमा आफू रहेको बताउँदै केसीले यसपटक जितेपनि वा पराजित भएपनि अर्कोपल्ट सभापतिको उम्मेदवार नबन्ने स्पष्ट पारे । केसी ‘गाउँ–गाउँमा संगठन घर–घरमा सदस्यता युवाहरुको हातमा अहिलेको नेतृत्व अभियान’ सहित उनी चुनावी प्रचार–प्रसारका लागि कार्यकर्ता माझ पुगिरहेका छन् । कांग्रेस अव्यवस्थित देखिएका भातृसंस्थालाई व्यवस्थित गर्ने, सामाजिक विकास निर्माणका काममा बढि जो दिने ५० वर्ष पछि आउने पुस्ताले समेत सम्झने खालको कामहरु आफू सभापति भएमा गरेर देखाउने चाहना उनको छ । राजनीति सुरु गरेको दिनदेखि अनवरत रुपमा पार्टी काममा लागेका उनले आफ्नो व्यक्तिगत जीवनमा आएका आरोह–अवरोहलाई कुनै वास्ता नगरि निरन्तर पार्टीमा खटिरहेका छन् । वि.स.२०५१ सालमा आफ्नी धर्मपत्नीको निधन हुँदा समेत पुरा समय परिवारलाई दिएनन् । श्रीमतीको दाहसंस्कार पश्चात् ७० वर्षका बुबालाई  कीरिया कर्ममा राखेर उनी २०५१ को मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसको प्रचार गर्न हिँडे । 
आमा खोजेर रोइरहेका आफ्ना तीन जना (३, ५ र ७ वर्षका) नाबालाक छोराको आँशुको प्रवाह नगरि आफ्नो राजनीतिक यात्रा अगाडि बढाए । उनको प्रभाव र व्यक्तिगत छविका कारण लोकप्रियता बढेको समयमा वि.स.२०५६ साल माघ १ गते राति तत्कालिन नेकपा माओवादीले कास्की कालिका–५ देउमाडीमा रहेको उनको घरमा पुगेरै मरणाशन्न हुने गरि पिटे । मृत्यु भैसक्यो होला भनेर छाडिएका उनी संयोगले बाँचे । उनको खुट्टा भाँचिएको थियो भने शरीरका विभिन्न भागमा गहिरा चोट । उनलाई पूर्ण स्वस्थ्य हुन निकै समय लाग्यो । 
अझैपनि ती पुराना चोटहरुले बेला–बेलामा दुःख दिने गरेको उनी बताउँछन् । तत्कालिन समयमा उनी कालिकाबाट पोखरा विस्थापित भएपनि यो घटनाले उनमा निराशा हैन झन् आत्मवल बढेर गयो  । 
दोस्रो संविधान सभाको चुनावमा कांग्रेस उम्मेदवार यज्ञबहादुर थापा विजयी हुनुको मुख्य कारण कास्की कांग्रेसका सचिव केसीको क्रियाशिलता भएको कांग्रेस कार्यकर्ताको बुझाइ रहेको छ । दुई कार्यकाल नेपाली कांग्रेस क्षेत्र नं. १ कास्कीको क्षेत्रीय सभापतिको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका केसीसँग इलाका कमिटिको सभापति, नेपाली कांग्रेसको भातृ संस्था तरुण दल र नेविसंघमा काम गरेको अनुभव छ ।





Post a Comment

 
Top