0
गोल्डेन न्यूज संवाददाता
एक जमानामा कांग्रेसका नेताहरुले भन्ने गर्थे–‘कुनै पनि व्यक्ति २५ वर्षको उमेरसम्म कम्युनिष्ट बन्छ, तर २५ कटेपछि ऊ कांग्रेसमा आउँछ ।’ तर, यतिबेला १३ औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा २५ मात्रै होइन, ४० वर्षमुनिका नेताहरु पाउनै मुस्किल हुन थालेको छ । के अब कांग्रेसको नीति निर्माण तहमा युवा नेतृत्व विकासको सम्भावना सकिएकै हो त ? अहिले नेतृत्वमा रहेका सभापति सुशील कोइराला र कृष्ण सिटौलालाई छाड्ने हो भने सबै नेताहरु नेविसंघकै पृष्ठभूमिबाट आएका छन्, चाहे ती शेरबहादुर देउवा हुन् या गगन थापा ।गगन थापा नेपाली कांग्रेसका कान्छा केन्द्रीय सदस्य हुन् । तर, उनी पनि उमेरले ३९ वर्ष भइसके । नेपाल विद्यार्थी संघबाट कांग्रेसको केन्द्रीय राजनीतिमा आएका गगन ०६२÷०६३ को आन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाउँदै चर्चामा आएका हुन् । गगन ३२ वर्षको उमेरमा सांसद भए । अहिले दोस्रो पटक सांसद छन् र १३ औं महाधिवेशननमा पदाधिकारीमा चुनाव लड्ने तयारीमा छन् । गगनलाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसको नेतृत्वमा अब प्रौढ र वृद्धहरु मात्रै छन् । अहिले १३औं महाधिवेशनको तयारी भइरहँदा नेतृत्व छनोट प्रक्रिया देशभर चलिरहेको छ । गाउँ, नगर, क्षेत्र हुँदै सोमबार जिल्ला सभापतिहरुको चुनाव भयो । तर, यो महाधिवेशनबाट पनि कांग्रेसको केन्द्रीय राजनीति (केन्द्रीय समिति) मा युवाहरु आउने सम्भावना देखिँदैन । गाउँ, नगर र जिल्लामा भने युवाहरुको अनिकाल केन्द्रमा जति देखिँदैन । योपटक युवा भनेर विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र रञ्जित कर्णहरु केन्द्रीय समितिमा आउने प्रयासमा हुनेछन् । तर, यी सबै नेताहरु गगनभन्दा सिनियर नै हुन् । अर्थात ४० कटिसेकका नेताहरु हुन् । नेविसंघः नेता उत्पादन गर्ने कारखानाविगतमा नेपाल विद्यार्थी संघ नेताहरु उत्पादन गर्ने कारखानाजस्तै थियो । अहिले विद्यार्थी संगठन सुस्ताएका कारणले पनि कांग्रेसमा नयाँ पुस्तामा मानिसहरुको खडेरी देखिन थालेको कतिपय नेताहरुको तर्क छ । विद्यालय र कलेजमा नेविसंघको उपस्थिति न्यून छ, कलेज बाहिरका युवाहरु विदेशमा श्रम गर्न गएका छन् । यसले गर्दा पनि कांग्रेस जस्तो पुरानो पार्टीमा अवकाश लिने उमेरका वृद्धहरुको बाहुल्य देखिएको र भविश्यमा ठूलो पुस्तान्तरण हुने खतरा देखिएको कतिपयको विश्लेषण छ ।
नेपाली कांग्रेसको नेतृत्व विकासमा विद्यार्थी राजनीति र नेविसंघको ठूलो भूमिका छ । अहिले नेतृत्वमा रहेका सभापति सुशील कोइराला र कृष्ण सिटौलालाई छाड्ने हो भने सबै नेताहरु नेविसंघकै पृष्ठभूमिबाट आएका छन्, चाहे ती शेरबहादुर देउवा हुन् या गगन थापा । सिटौला त्यस्ता एक्ला नेता हुन्, जो जिल्ला सभापति हुँदै कांग्रेसको केन्द्रीय राजनीतिमा आउन सफल भए । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहदेखि सबै नेताहरु कुनै न कुनै रुपमा विद्यार्थी राजनीतिबाटै आएका हुन् । र, त्यहीँबाट उनीहरु अघि बढे ।
विद्यार्थी संघको देशभरि संगठन हुने भएकाले उनीहरुको स्वीकार्यता देशभरि नै हुनु स्वाभाविकै हो । जसका कारण नेविसंघमा काम गरेका नेताहरुलाई केन्द्रमा आउन सहज भयो । हाल कांग्रेसको शीर्ष नेतृत्वमा रहेकाहरु मात्र होइन, युवा पुस्ताका नेताहरु एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुङ, नविन्द्रराज जोशी, दीपक गिरी सबै विद्यार्थी राजीतिबाटै आएका हुन् । एनपी साउदले नै गगनलाई नेवि संघको सदस्यता दिएका थिए । त्यस्तै त्रिचन्द्रमा गगनलाई स्ववियु सदस्य बनाउने चन्द्र भण्डारी थिए । अहिले गगन पदाधिकारीको दाबी गरिरहेका छन् भने एनपी र चन्द्र केन्द्रीय सदस्यमै दाबी गरिरहेका छन् । यद्यपि यी सबै नेताहरु नेविसंघकै पृष्ठभूमिबाट उदाएका हुन् । कांग्रेसका नेताहरु उत्पादन गर्ने कारखानाजस्तै रहेको नेवि संघ पछिल्लो दशकमा एक प्रकारले अस्थित्वमै छैन जस्तो भएको छ । विद्यार्थी आन्दोलन पनि पहिलेको जस्तो छैन । स्ववियु चुनाव नभएको पनि ८र९ वर्ष भइसक्यो । यसले गर्दा कांग्रेसमाजस्तै सबै राजनीतिक दलमा विद्यार्थी राजनीतिबाट नेतृत्वको विकास प्रक्रिया अवरुद्धजस्तै भएको छ ।त्यसमाथि कांग्रेसमा सुशील कोइराला र शेरबहादुर देउवाको झगडाका कारण नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको अधिवेशन नै हुन सकेको छैन । यसले पार्टीमा युवा पुस्तालाई नेतृत्वमा पुग्ने बाटो अवरुद्ध भएको छ । क्याम्पसहरुमा नेवि संघका सभापतिहरु त छन् । तर, उनीहरुले राष्ट्रिय रुपमा पहिचान बनाउन सकेका छैनन् । जसका कारण उनीहरु तत्काल विद्यार्थी राजनीति हुँदै कांग्रेसको केन्द्रीय राजनीतिमा आउने सम्भावना शून्य जस्तै बनेको छ ।विद्यार्थी नेता प्रदीप पौडेल भने नेतृत्वले नयाँ पुस्तालाई चुनौतीका रुपमा लिएको बताए। उनले भने,–‘एकपटक पदमा पुगेपछि टाँसिरहने प्रवृत्ति छ, टेष्ट भएर फेल भए पनि छाड्दैनन् ।’ पौडेलका अनुसार नेताहरु पदमा पुगेपछि केही पैसा कमाउँछन्, आफ्नो नेटवर्क बनाउँछन् र त्यही शक्तिको भरमा टिकिरहन्छन् । 
गुटको कोपभाजनमा युवापुस्ता
कांग्रेसको नेतृत्वमा युवा पुस्ताका मानिसहरु आउन नसक्नुको अर्को कारण गुटको राजनीति पनि हो । पुराना नेताको गुटबन्दीको कोपभाजनमा युवा नेताहरु परिरहेका छन् । कांग्रेसमा पछिल्लो समय संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवाको गुट छ । र, दुबै गुटमा प्रौढ र वृद्ध नेताहरुकै हालिमुहाली छ । र, उनीहरु कुनै हालतमा पद छाड्ने पक्षमा छैनन् । विद्यार्थी नेता प्रदीप पौडेल भने अब नेतृत्वले स्वेच्छाले नछाड्ने भएकाले खोसेर लिनुपर्छ भन्ने आफ्नो मत रहेको बताउँछन् ।
अन्त्यमा, एउटा रोचक प्रसंग
बनारसमा पढ्न गएका बेला मदन भण्डारी नेपाली कांग्रेसमा लाग्न खोजेका थिए । तर, उनलाई त्यहाँ भेटिएका एकजना कांग्रेस नेताले भने कि ओठ निचोर्दा दूध आउनेजस्तो छ, जुँगाको रेखी पनि बसेको छैन, यस्तो मान्छे पनि कांग्रेसमा नेता हुन्छ र ?
कांग्रेसजनले यसो नभनेको भए शायद एमालेका ‘जननेता’ मदन भण्डारी यतिबेला नेपाली कांग्रेसमा हुने थिए । जुँगा नपलाएको मान्छे कांग्रेस हुन सक्दैन भन्ने रुखो जवाफ पाएका मदन भण्डारीले त्यसबेला एउटा कवितासमेत लेखे, जसको भाव यस्तो थियो( ‘भैहाल्थें कि नेता कि कतै म पनि, दाह्री हो उम्र उम्र !




Post a Comment

 
Top