0
पूर्णप्रसाद मिश्र
नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ । काँग्रेसमा २४० निर्वाचन क्षेत्रबाट समावेशी प्रतिनिधित्वसहित निर्वाचित १२ जनाका दरले दुई हजार ८८०, विदेशस्थित १७ नेपाली जनसम्पर्क समितिबाट सात जनाका दरले ११९, पार्टीका १८ वटा भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र केन्द्रीय पदाधिकारी एवम् सदस्य ८४ महाधिवेशन प्रतिनिधिले भाग लिने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिए ।काँग्रेसको ३६ जिल्लामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । यही माघ २५ गते धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकामा माघ २६ गते सभापति सुशील कोइरालाको निधनले माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगन गरिएको थियो । बारा र पर्सा जिल्लामा प्राविधिक कारणले गाउँ अधिवेशनको प्रक्रिया बाँकी रहेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । ती जिल्लामा मङ्गलबारदेखि नै निर्वाचन कार्यक्रम सुरु हुने भएको छ । “तराईका अन्य जिल्लामा पनि अधिवेशनको कार्यक्रम भइरहेको छ, धनुषा, सिरहा र सप्तरीको गाउँ अधिवेशन सम्पन्न भएको छ, रौतहटमा पाँच क्षेत्रको क्षेत्रीय अधिवेशन पनि सम्पन्न भई अरु क्षेत्र सकेर जिल्ला अधिवेशनको प्रक्रिया अघि बढेको छ”–पराजुलीले भने । बाँकी ३९ जिल्लाको अधिवेशन यही फागुन १० गतेभित्रै सम्पन्न गर्ने गरी निर्देशन दिइएको काँग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । “फागुन २० गतेदेखि केन्द्रीय महाधिवेशन हुने भएकाले तयारीका लागि पनि नाम सूची १० गतेपछि बुझाउनुपर्छ, यसैले १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गराउन निर्देश गरिएको छ”–उनले भने ।हालसम्म ६५ जिल्लाका २०३ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । त्यस्तै आजसम्म सम्पन्न ३६ जिल्ला अधिवेशनबाट निर्वाचित भएका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला पोखरेल, झापामा उद्धव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुङ्गामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्ज्वलप्रसाद बराल र धादिङमा रमेश धमला छन् । यसैगरी काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पङ्गेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी भएका छन् । यस्तै मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजङ्ग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, बैतडीमा नरेन्द्रसिंह थापा, डडेलधुरामा कर्णबहादुर मल्ल, पाँचथरमा नवीन्द्र केरुङ, भोजपुरमा नन्दमणि राई, धनकुटामा अग्निप्रसाद पौडेल, नुवाकोटमा जगदीश्वरनरसिंह केसी, कपिलवस्तमाु सुरेन्द्रराज आचार्य, मुगुमा खड्गबहादुर शाही, कालीकोटमा हर्षबहादुर बम, हुम्लामा जयपति रोकाया र बैतडीमा नगेन्द्रराज थापा सभापतिमा निर्वाचित भएका छन्।यत, कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत २८ जिल्लामा भएको अधिवेशनमा संस्थापनको अग्रता रहेको छ। माघ २५ देखि २८ गतेसम्म सम्पन्न जिल्लाको अधिवेशनमा संस्थापनका १४, देउवाका १२ र दुई अनिर्णित जिल्ला सभापति चुनिएका छन्। निर्वाचन क्षेत्र संख्याका आधारमा संस्थापन पक्षमा रहेका जिल्लामा ४६ र देउवा पक्षमा ३६ निर्वाचन क्षेत्र रहेका छन् भने अर्घाखाँची र नवलपरासी जिल्लाका सभापति कुनै पक्षमा खुलेका छैनन्। जिल्ला सभापति अधिवेशनको परिणामअनुसार पार्टीको १२ औं महाधिवेशनसम्म संस्थापन पक्षको नियन्त्रणमा रहँदैआएका तीनवटा जिल्ला देउवा पक्षले १३औं अधिवेशनमा फुत्काउन सफल भएको छ। विशेषगरी कोइराला परिवारको छत्रछायाँमा जिल्ला नेतृत्व कायम गर्दैआएको मोरङमा कोइराला परिवारबीचकै आपसी खिचातानीले देउवाको पोल्टामा परेको छ।

Post a Comment

 
Top