0
गोल्डेन न्यूज संवाददाता
फागुनको चौथो साता पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ को तयारी तीब्र गतिमा अगाडि बढेको छ । मेला नजिकिँदै गर्दा मेला स्थलमा राखिने स्टलहरुको धमाधम बुकिङ भइरहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा प्रचारप्रसार समिति संयोजक रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । ‘हामीले स्टल बुकिङ खुल्ला गर्नुभन्दा अगाडिबाटै व्यवसायीहरुले स्टल राख्नको लागि चासो दिनुभयो’, उनले भने,‘अब केही स्टलहरुमात्र बुकिङ हुन बाँकी रहेका छन्, तयारी कपडा लगायतका स्टलहरु त सबै बुकिङ भइसके ।’ मेलामा  कुल ३०६ वटा स्टल रहेको उनले जानकारी दिए । ती स्टलहरुमा स्वदेशी उत्पादन, हस्तकला, सूचना प्रविधी, खाद्य सामाग्री, अटो, कृषि, लत्ताकपडा, डेरी उत्पादन, बेकरी, रेष्टुरेण्टहरु रहनेछन् । नेपालमा उत्पादित बस्तुहरुको छुट्टै ‘मेड इन नेपाल’ पेभेलियन महोत्सवको आकर्षण हुने महासचिव प्रजुले बताए । क्यान कास्कीले आयोजना गर्दै आएको क्यान इन्फो टेकको सातौँ संस्करण समेत यही मेलामा समाहित हुने तथा प्रदर्शनी केन्द्रमा रहेको सुविधा सम्पन्न डोममा इन्फोटेक आयोजना हुने उनले जनाए । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुन लागेको मेला फागुन २१ गतेदेखि चैत १ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुँदैछ । स्थानीय उत्पादनहरुको बजारिकरण गर्दै व्यवसायीहरुमा नयाँ सम्भावनाबारे जानकारी दिनु मेलाको मुल उदेश्य रहेको छ । मेला र महोत्सवको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन सकिन्छ भन्ने मान्यताबाट अभिप्रेरित भई संघले नेपालमै पहिलो पटक संगठित रुपमा मेला र महोत्सवको आयोजना गर्न थालेको हो । औद्योगिक व्यापार मेला  २०४२ बाट सुरु भएको हो । बीचमा संघले विभिन्न मेलाको अलावा पोखरा महोत्सव २०५२ पनि सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पोखराकै सिको गर्दै अहिले देशैभर मेला र महोत्सवहरु आयोजना हुँदै आए पनि राष्ट्रिय औद्यागिक व्यापार मेलाप्रति प्रायोजक तथा स्टल राख्न चाहने व्यवसायीहरुको छुट्टै आकर्षण रहेको संघका कार्यबाहक अध्यक्ष देव क्षेत्रीले दावी गरे । उनका अनुसार यो पटकको मेलाको प्रायोजनको लागि समेत विभिन्न औद्योगिक घरानाहरुले विशेष चासो व्यक्त गरेका छन् । ‘राष्ट्र विषम परिस्थितिबाट गुज्रेकोबेलामा समेत प्रायोजकहरुले देखाउनुभएको चासोले हामी उत्साहित भएका छौँ’, उनले भने,‘हामी मेलालाई अविश्मरणीय बनाउन कुनै कसर बाँकी राख्दैनौँ ।’ मेलालाई सफलतापूर्वक रुपले सम्पन्न गर्न संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन भएको छ भने अध्यक्ष थापाकै अध्यक्षतामा कार्यसम्पादन समिति समेत गठन गरिएको छ । कार्यसम्पादन समितिमा संघका पदाधिकारी र कार्यसमिति सदस्यह सदस्यको रुपमा रहेका छन् भने पूर्व अध्यक्षहरुलाई सल्लाहकार मनोनयन गरिएको छ ।

Post a Comment

 
Top