0
त्याग, निष्ठा र सदाचारका प्रतिमूर्ति सुशील कोइरालाले नेपाली राजनीतिमा स्मरणीय योगदान छाडेर बिदा भएका छन् । आजीवन राष्ट्र, जनता, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताका हिमायती कोइरालाले नेपालको संविधानमा पु¥याएको अतुलनीय योगदानको यतिखेर सर्वत्र चर्चा भइरहेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अथक रुपमा समर्पित रहँदै आएका कोइरालाको निधनले सिंगो कांग्रेसजन र सबै नेपाली अभिभावकविहीन भएका छन् । सदैव राष्ट्रिय सहमति र सहकार्य कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका उनको अभाव नेपाली राजनीतिमा सधैँ रहिरहने छ । कोइरालाको निधनले नेपाली राजनीतिमा परिपक्व र इमानदार नेताको खडेरी परेको अनुभूति गरिएको छ । नेपाली जनताले लामो समयदेखि व्यग्र प्रतीक्षा गरेको ऐतिहासिक संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान उनको नेतृत्वकालमा जारी भयो । अहिले संविधान कार्यान्वयनको अवस्थामा नेता कोइरालाको निधनले ठूलो क्षति भएको छ । ६ दशकभन्दा बढी समय राजनीतिमा होमिएका कोइराला व्यक्तिभन्दा देश र जनताको हितमा समर्पित रहे । उनीबाट हरेक राजनीतिकर्मीले पाठ सिक्नु जरूरी भएको छ । वर्तमान राजनीति एउटा कमाउ उद्योगका रुपमा विकसित भइरहेको सन्दर्भमा निःस्वार्थ रुपमा देश र जनताको सेवामा जीवन व्यतीत गर्ने नेता विरलै भेटिन्छन् । त्यसमा पनि अवसरवादबाट टाढा रहेका राजनीतिक नेता पाउन मुस्किल पर्छ । प्रजातान्त्रिक आन्दोलनमा होमिएरै उनले आफ्नो व्यक्तिगत इच्छा तथा आकांक्षालाई तिलाञ्जली दिए । आजीवन अविवाहित रहेर सबै सम्पत्ति नेपाली कांग्रेसकै लागि खर्च गरेर ‘भूमिहीन’ भए । कांग्रेसलगायत विभिन्न पार्टीमा अनियमिततामा मुछिएर धेरै राजनीतिज्ञहरुले राजनीतिलाई दाउमा राखेका छन् । शक्तिको आडमा राजनीतिलाई ‘कमाइ खाने भाँडो’ बनाउने जमातको पनि कमी देखिँदैन । तर, सुशील एक हुन् जोसँग न बस्ने आफ्नै घर थियो, न त सम्पत्ति नै । सादा जीवन र उच्च विचारका धनी कहलिएर उनले महाप्रस्थान गरेका छन् । कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईकै पदमार्ग पछ्याउँदै उनले गरिब पूर्वप्रधानमन्त्रीका रुपमा विश्वभर अमिट छाप छाडेर बिदा भए । कोइरालाको निधनबाट मुलुक साँच्चै स्तव्ध भएको छ र देशवासी शोकाकुल बनेका छन् । त्याग र आदर्शलाई परिचय बनाएर राजनीति गर्नु कम्ती कठिन कुरा होइन । यी कुरा कोइरालाबाट अनुसरण गर्नु अपरिहार्य छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तप्रति अविचलित रहँदै राजनीतिमा शीर्षस्थ स्थान हासिल गरेका कोइरालाको अभाव त कांग्रेसमा सधैँ रहने छ । यद्यपि उनले देखाएको मार्ग, निष्ठा, नैतिकता र सरल जीवन पद्धतिलाई कांग्रेसले पुँजीका रुपमा ग्रहण गर्नु चुनौती पनि देखिएको छ । सुविधासम्पन्न जीवनशैलीमा रमाउने नेताहरुबाट कोइरालाको आदर्श पछ्याउने आशा त्यति गर्न सकिँदैन । यतिखेर आस्थाको एउटा स्तम्भ ढलेको छ । अब कांग्रेसले गुट÷उपगुटमा रूमल्लिएर होइन, सिंगो कांग्रेस स्थापनाका लागि जुट्नुपर्छ । सुशीलले राष्ट्र र कांग्रेसका लागि जति दिएर गए, त्यो पर्याप्त छ । सहमतिको राजनीति मुलुकका लागि अझै पनि खाँचो छ । कोइरालाको शोकमा डुबेरमात्र उनीप्रति न्याय हुन सक्दैन । उनको योगदानको सही मूल्यांकन गरी राजनीतिक संवाद र सहमतिका माध्यमबाट संविधान कार्यान्वयन र मुलुकलाई समृद्धिको बाटोमा लैजान सकेमात्र राष्ट्रवादी नेता कोइरालाप्रति सच्चा सम्मान हुनेछ । सदगी नेता सुशिल कोइरालाको दुःखद् निधन भएको आज १३औं दिनको पुण्य तिथिमा ब्रम्हलीन आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं । साथै नेपाली राजनीतिका अग्रज एवं संविधानका पिता कोइराला अमर रहून् हाम्रो कामना !

Post a Comment

 
Top