0
पोखराको जरेवरदेखि शुरु भई सराङ्कोट–कास्कीकोट–ढिकुरपोखरी–भदौरेतामागी–पञ्चासे हुँदै डेमसाइड जोडिने ७४ कि.मी. पर्यटकीय पैदल मार्गको निर्माणकार्य द्रुतगतिमा संचालन भइरहेको छ । गत वर्ष जि.वि.स. कास्कीको सहयोगमा सराङ्कोटबाट कास्कीकोटतर्फ ३ कि.मी. बाटो निर्माण गर्ने काम भएको थियो भने यस वर्ष ढिकुरपोखरीको नागडाँडाबाट कास्कीकोटतर्फको खण्डको निर्माण कार्य भइरहेको छ । उक्त खण्डको निर्माणको लागि नेपाल सरकार पर्यटन मन्त्रालयबाट सहयोग प्राप्त भएको हो । हालसम्म नागडाँडाबाट पूर्वतर्फ ४ कि.मी.बाटो निर्माण भइसकेको र काम निरन्तर चलिरहेकोले उक्त खण्ड छिट्टै सराङ्कोटसम्म जोडिने निर्माण समितिका अध्यक्ष विष्णुहरि शर्माले बताए । यसै वर्षभित्रमा जरेबरदेखि नागडाँडासम्म पदयात्रुहरुलाई हिड्न मिल्ने गरी दुई मिटर चौडा ट्रयाक खोलिसकिने उनले जानकारी दिए। उक्त मार्गको निर्माणको लागि जरेवर–सराङ्कोट खण्डको कार्यको लागि पो.उ.म.न.पा. ले सहयोग गर्ने र त्यसको कार्य प्रारम्भ छिट्टै गरिने समेत अध्यक्ष शर्माले बताए । उक्त मार्ग निर्माणको लागि नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय, पोखरा उप–महानगरपालिका, जिल्ला विकास समिति कास्की, टे«किङ एशोसिएशन अफ नेपाल टान, गाउँ विकास समितिको कार्यालय कास्कीकोट र स्थानीय होटल व्यवसायीहरुको समेत सहयोग रहेको छ । नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन विभागका निर्देशक गोविन्द बहादुर कार्की, पर्यटन कार्यालय पोखराका प्रमुख डोलराज ढकाल, इन्जिनियर विजय सुवेदी लगायत व्यक्तिहरुले पर्यटकीय पदमार्गको अनुगमन निरीक्षण गरेका थिए । त्यस अवसरमा विभागका निर्देशक कार्कीले पर्यटन मन्त्रालयको पैसा प्राकृतिक दृष्टिले अति रमणीय ठाउँमा लगानी भएको र यसले पर्यटन पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण सहयोग गर्न सक्ने बताए । पर्यटन कार्यालय पोखराका प्रमुख डोलराज ढकालले यस पदमार्ग सम्पन्न गर्नसके यस क्षेत्रमा धेरै पर्यटकहरु भित्र्याउन सकिने बताए । समितिका अध्यक्ष शर्माले पदमार्ग निर्माण कार्य सम्पन्न गर्न आफूहरु अहोरात्र लागिपरेको बताए ।

Post a Comment

 
Top