0
भारतले लगाएको अघोषित नाकाबन्दी खुलेपछि वीरगन्ज नाकाबाटमात्रै ५ सयभन्दा बढी ट्यांकर इन्धन भित्रिए पनि उपभोक्ताले अझै सहज रुपमा पाउन सकेका छैनन् । वीरगन्ज नाकाबाट दैनिक रुपमा १२५ देखि १५० ट्यांकर भित्रिने गरेको भए पनि सीमावर्ती क्षेत्रमा हुने इन्धन तस्करी अझै रोकिएको छैन । गत शुक्रबार मधेसी मोर्चाको जारी धर्ना स्थानीय र व्यापारीले हटाएलगत्तै सुचारु भएको नाका १३५ दिनसम्म लगातार अवरुद्ध भएको थियो । वीरगन्ज र रक्सौल जोड्ने मितेरी पुलको धर्ना हटेको चौथो दिनदेखि इन्डियन आयल कर्पोरेशनले नेपालका लागि दैनिक रुपमा इन्धन पठाइरहेको छ । इन्धनको ट्यांकर भित्रिए पनि सीमावर्ती क्षेत्रका बासिन्दा जर्किनबाट इन्धन ओसार्नेक्रम रोकिएको छैन । खरिदकर्ताले ड्रममा भरेर भण्डारण गर्ने गरिएका कारण तस्करी बढिरहेको छ । नेपाल आयल निगमले पूर्ववत् अवस्थामा पेट्रोलियम पदार्थ भित्र्याइसक्दा पनि पेट्रोल पम्पबाट वितरण सहज हुन सकिरहेको छैन । सरकारले नाकाबन्दीसँगे मौलाइरको तस्करी अझैसम्म नियन्त्रण गर्न नसक्नु विडम्बना हो । तस्करीका कारण नेपालको अर्थतन्त्र कमजोर भएको जगजाहेर हुँदाहुँदै पनि सरकारले इन्धन तस्करी रोक्न सकेको छैन । नेपाल आयल निगमले गरेको स्थलगत अध्ययनका क्रममा वीरगन्जदेखि ठोरी क्षेत्रबाट दैनिक आयल निगमकै हाराहारीमा इन्धन तस्करी भएको पाएको थियो । आयल निगमकै अध्ययनलाई आधार मान्ने हो भने पनि यो समस्या मुलुकका लागि भयानक हो । नेपालमा मौलाइरहेको उदाहरण यही दृष्टान्तलाई हेरे पुग्छ । तस्करीबाट पेट्रोल भित्रिँदा सरकारलाई प्रतिलिटर ३१ रुपैयाँ १३ पैसा घाटा हुन्छ । यस्तै डिजेलमा १३ रुपैयाँ १७ पैसा राजस्व घाटा लाग्ने गरेको छ । स्थिति सहज हुँदा पनि इन्धन तस्करीको बाटोबाटै आयात हुनु दुर्भाग्य हो । सरकारले अविलम्ब सीमा क्षेत्रबाट हुने अवैध इन्धन तस्करी नियन्त्रण गर्नुपर्छ । नाका खुलेयता ५० लाख लिटर इन्धन आइसक्दा पनि सर्वसाधारणले पम्पमा लाइन बस्नुपर्ने बाध्यता छ । सीमा क्षेत्रका पेट्रोल पम्प बन्द रहने र इन्धनचाहिँ अवैध ढंगले भित्रिने अवस्था जारी रहने हो भने सर्वसाधारणले कुनै राहत अनुभव गर्न सक्दैनन् । पम्पबाट सहज नहुँदा वीरगन्ज–पथलैया ओद्योगिक कोरिडोरमा निगमकै कर्मचारीको मिलेमतोमा बढी मूल्यमा इन्धन बिक्री वितरण भइरहेको खबर बाहिर आइरहेको छ । यस्ता समस्या अझैसम्म अन्य जिल्लाहरुमा पनि जारी नै छ । चितवनमा पनि नाकाबन्दीको समयमा झैँ घण्टौँ लाइन बसेर सीमित मात्रामा इन्धन पाउने गरिएको छ । सबै पेट्रोल पम्पबाट नियमित रुपमा इन्धन वितरण गर्न सकिएमात्रै वर्तमान समस्या हल गर्न सकिन्छ । त्यसका लागि स्थानीय प्रशासनले अनुगमन बढाउँदै अवैध रुपमा भित्रिँदै आएको इन्धन तस्करी नियन्त्रण गर्नु जरुरी देखिएको छ ।

Post a Comment

 
Top