0
गोल्डेन न्यूज संवाददाता
मुस्ताङ जिल्लाको जोमसोममा रहेको जनहीत क्याम्पस संचालनका लागि ८२ वर्षीया निरला तुलाचनले पतिको स्मृतिमा १ करोड १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरेकी छन् । पोखरा १६ दीप निवासी तुलाचनले शिक्षाले नै सबैको आँखा खुल्ने भएकोले शिक्षा क्षेत्रको विकासका लागि आफूले उक्त रकम सहयोग गरेको बताइन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद थकाली र मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन र उनका छोरा मृगेन्द्र र पत्रकारबीच सो रकम हस्तान्तरण गर्दै उनले भनिन, मेरा पतिको स्मरणमा गरिब बालबच्चाले पनि पढ्न पाउने छन्, त्यसैले क्याम्पसलाई सहयोग गरेकी हुँ ।
उनले भनिन्, अहिलेलाई यत्ति नै लैजानुहोस् पछि परेछ भने अझै सहयोग गर्नेछु । मैले दिएको पैसा सही रुपमा सदुपयोग होस् । अत्यन्तै सादा जीवन बिताएकी बृद्ध निरला तुलाचन आगामी बैशाखमा ८३ पुग्छिन । ८४ पूजा गर्ने सोच छैन । मैले क्याम्पसलाई पैसा दिएँ, त्यही नै मेरो ८४ पूजा हो, उनले थपिन् । छोराबुहारीसँगै बस्ने निरलाले पति तेजबहादुर तुलाचनको स्मृतिमा रकम दिएको बताइन् । १६ वर्षको उमेरमा विवाह गरे पनि पतिसँगका क्षति १६ वर्षभन्दा बढी नभएको स्मरण गर्दै उनले भनिन्, मेरो पतिको लागि मैले सबै अर्पेकी हँु, दान दिए मेरा छोरा नातिलाई पनि राम्रो हुनेछ । उनको धनमात्रै होइन, मन पनि यत्तिकै रहेछ , अन्य संघसंस्थालाई पनि निकै सहयोग गर्दछिन् । मरि लानु केही छैन, छोडेरै जाने हो, उनको कथन छ । उमेर ढल्किदै गएकोले दाँत सबै झरिसकेका छन्, तैपनि थाकखोलाको च्याङ्ग्राको सुकुटी खानलाई निकै शोख छ, पोखरामा गर्मी हँुँदा उडेर भए पनि थाकखोला जान उनको चाहना छ । मुस्ताङको कुन्जोमा जन्मिएकी निरलाको पछिल्लो जीवन पोखरामा बिताइन््। आमाले दान दिँदा छोरा मृगेन्द्र र बुहारी मंगला पनि खुसी नै छन् । क्याम्पस प्रमुख रामचन्द्र अधिकारीलाई चेक हस्तान्तरण गर्ने क्रममा परिवारका सदस्यले भन्दै थिएँ, विद्यार्थीलाई राम्रो शिक्षा दिनुहोला । हाम्रो सहयोग रहीरहनेछ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिनप्रसाद थकाली भन्छन्, धन हुनेको मन हुँदैन, मन हुनेको धन हुँदैन । निरलाको सहयोगले मुस्ताङबासी निकै हौसिएका छन् । हामीलाई सामाजिक क्षेत्रमा काम गर्न हौसला मिलेको छ । उद्योग वाणिज्य संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनको पनि भनाइ त्यस्तै छ । सहयोग रकमले गरिब बालबालिकाले मुस्ताङमा बसेर नै स्नातक तहकोे शिक्षा हासिल गर्न सक्नेछन् । क्याम्पसमा हाल ८० विद्यार्थी छन् ।



Post a Comment

 
Top