0
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानसभाले असोज ३ मा संविधान जारी गरेसँगै नेपाल–भारत सम्बन्ध अत्यन्त कमजोर अवस्थामा पुग्यो । नेपालले संविधान जारी गरेपछि निर्माणको नवयुग सुरु होला भन्ने अपेक्षाविपरीत भारतले त्यो घटनालाई ‘जानकारीमा लिएको’ मात्र प्रतिक्रिया दियो । त्यति मात्र होइन, तराई–मधेसमा भएको आन्दोलनका कारण आफ्ना ढुवानीकर्ताहरू असुरक्षित भएको भन्दै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर नाकाबन्दी सुरु गरेको थियो । प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएको सन्दर्भमा अहिले भने दिल्लीको हैदरावाद हाउसमा भएको ४० मिनेटको भेट र दुई देशबीच ७ वटा सहमतिपत्रमा हस्ताक्षर गरेपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानलाई ‘महत्वपूर्ण उपलब्धि’ भएको बताएका छन । नेपालले ऐतिहासिक मानेको संविधान जारी गरेको कामलाई ‘जानकारीमा लिएको’ भारतीय दृष्टिकोणमा आएको यो ठूलो परिवर्तन हो । अन्ततः भारत पनि नेपालीहरूले गरेको निर्णयप्रति नतमष्तक हुन बाध्य भएको छ । भारतलाई नेपालको कटु सत्य स्वीकार गर्न पनि झन्डै पाँच महिना नाकाबन्दी लगाउनुपर्यो र वहादुर नेपालीले त्यसको दृढतापूर्वक सामना गरे । संविधान जारी भएपछि नाकाबन्दी लगाएको भारतले यति चाँडै प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत गर्ने परिस्थिति कूटनीतिक प्रयास र भारतको आन्तरिक परिस्थितिका कारण सिर्जना भएको हो । नेपालमा नाकाबन्दी लगाएको घटनालाई त्यहाँका विश्लेषकले कटु आलोचनाको विषय बनाए । विपक्षी राजनीतिक शक्तिहरूका निम्ति पनि नेपालप्रतिको भारतीय संस्थापनको व्यवहार आलोचनात्मक बन्यो । अनेकन आन्तरिक समस्यामा समेत अल्भ्किरहेको भारतका निम्ति सदैव असल छिमेकीको व्यवहार गरिरहेको नेपालविरुद्धको नाकाबन्दी झन् महँगो बन्न पुग्यो । यसै विचमा प्रधानमन्त्री ओलीले भारत यात्राका निम्ति सकेसम्मको जोड लगाए । उनले ‘नाकाबन्दी सम्पूर्ण रुपमा नखुली भारत जान्नँ’ भने । नभन्दै उनी भारत भ्रमणमा जानुभन्दा केही दिनअघि मात्र वीरगन्ज–रक्सोल नाका खुला भयो । भारत आफैंले नाकाबन्दी गरे पनि त्यसलाई प्रधानमन्त्री मोदीको वक्तव्यमा उल्लेख गर्न अप्ठ्यारो भएको महसुस गर्न सकिन्छ । तर, विदेशमन्त्री स्वराजले नाकाबन्दी यो नै पहिलो नभएको संसदमै बताइसकेकी छन् । त्यसैगरी विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले समेत नाकावन्दीलाई उल्लेख गरिसकेका छन् । सायद, मोदीलाई पाहुनाको स्वागत गरिरहेका बेला नाकाबन्दीको तिक्तता उल्लेख गर्नु कूटनीतिक रुपमा उचित लागेन । तर, प्रधानमन्त्री ओलीले दुई देश सम्बन्धमा समस्या रहेको स्पष्ट पारेका छन् । ओली भ्रमणको समग्र उपलब्धिको चर्चा क्रमशः हुँदै जानेछ । तर, यसपटक उनले देशलाई राम्रैसँग प्रतिनिधित्व गरेको देखिएको छ । दुई देश विचको सम्बन्धलाई सामान्यीकरण गर्नु उनको उद्देश्य रहेको देखिन्छ । त्यसमा उनी सफल भएका छन । अनि विगतमा जस्तै उनले भारतबाट प्राप्त गर्नुपर्ने उपलब्धिको लामो सूची पनि लिएर गएनन् । मझौला खालका आयोजना र कार्यक्रम निरन्तरताका निम्ति केही सम्झौतामा हस्ताक्षर भए । अहिले भारतीय प्रधानमन्त्री मोदीको जसरी प्रतिक्रिया आएको छ, त्यो आफैंमा उपलब्धि हो भन्दा अत्याउक्ति नहोला । यसबीचमा भारतले समेत राम्रै पाठ लिएको हुनुपर्छ । नेपाल स्वतन्त्र र सार्वभौम मुलुक हो भन्ने बिर्सिएर आन्तरिक मामिलामा खेल्न खोज्ने ‘माइक्रो मेनेज्मेन्ट’ले भारतलाई घाटा नै बढी भएको छ । हामी छिमेकी हौं तर दुई भिन्न मुलुकबीच हुने दुरी कायम हुनुपर्छ भन्ने महसुस भारतलाई पक्कै यसपटक भएको हुनुपर्छ । त्यसमा पनि संस्कृति, धर्म, भाषा र भाषा उत्पत्तिका आधारमा सँगै जोडिएर बसेको नेपाललाई शत्रुको कोटिमा राख्दा अन्तर्राष्ट्रिय क्षेत्रमा भूमिका निर्वाह गर्न खोजिरहेको भारतलाई सजिलो भएन भन्ने कुरा यसपटक पनि पुष्टि भएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण यी सवै विषयमा पटाक्ष गर्न सफल भएको छ ।





Post a Comment

 
Top