0
मुलुकको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस १३औँ महाधिवेशनको चटारोमा छ । महाधिवेशनकै पूर्वसन्ध्यामा कांग्रेस सभापति सुशिल कोइरालाको निधनले अभिभावकविहीन बन्न पुगेको कांग्रेसमा आगामी नेतृत्वका लागि रस्साकस्सी सुरू भइसकेको छ । कांग्रेसको बुथदेखि जिल्ला अधिवेशनसम्मको निर्वाचन परिणामलाई विश्लेषण गर्दा गुटबन्दीको रोग भने अझै हट्न नसकेको प्रस्ट देखिएको छ । मुलुकको ठूलो लोकतान्त्रिक पार्टीभित्र अझै पनि लोकतान्त्रिकीकरण हुन नसक्नु दुर्भाग्य हो । कांग्रेसभित्र देखिएको गुटबन्दी अन्त्य गरी पार्टीलाई एकीकृत गर्न सक्षम नेतृत्व आवश्यक छ । तर, व्यवहारतः कांग्रेसका शीर्ष नेतृत्वहरुमा त्यो गुणको अभाव देखिन्छ । पार्टीका आमकार्यकर्ताले सक्षम र सबल कांग्रेसको आवश्यकता महसूस गरिरहेको परिपे्रक्ष्यमा गुट÷उपगुटको संस्कार हटाएर समन्वयात्मक ढंगले पार्टीलाई अगाडि लैजाने नेतृत्व जरूरी भएको छ । पार्टीभित्र पराक्रम गर्नेभन्दा परिक्रमा गर्नेलाई स्थान दिने संस्कार हट्न सकेमात्रै कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन सकिन्छ । कांग्रेसमा दूरदर्शी र अभिभावकत्व निभाउन सक्ने नेतृत्व चयन हुन सक्नुपर्छ । कांग्रेसमा चार पुस्ता एकै ठाउँमा छन् । २००७ सालको प्रजातन्त्रदेखि, ०१७ सालको पुस्ता, ०४७ साल हुँदै गणतन्त्र ल्याउन क्रियाशील पुस्ता कांग्रेसमा छन् । चारै पुस्तालाई सँगै लिएर हिँड्नु कांग्रेसको सांगठनिक क्षमता हो । अहिले कांग्रेस दोस्रो चरणको राजनीतिक यात्रामा छ । पहिलो चरणमा कांग्रेसको स्थापनालगत्तै मुलुकमा लोकतन्त्र स्थापना गर्ने र संविधानसभामार्फत संविधान जारी गर्ने सपना सात दशकमा पूरा भयो । संविधानको जगमा टेकेर अब आर्थिक, सामाजिक, राजनीतिक रुपले समृद्ध नयाँ नेपाल निर्माणमा लाग्नु परेको छ । जनताको प्रतिनिधिबाट ऐतिहासिक संविधान प्रातःस्मरणीय सुशील कोइरालाको नेतृत्वमा जारी भयो । अबको चुनौती भनेको संविधानको सफल कार्यान्वयन नै हो, जसका लागि कांग्रेसको जुझारू र सक्षम नेतृत्व आवश्यक देखिएको छ । संविधानसभाको मुद्धालाई राजनीतिमा प्रवेश गराउने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ०६४ सालमा संविधानसभालाई औपचारिक रुपमा स्थापित गर्ने काम भएको थियो । यस अर्थमा कांग्रेस मुलुकको राजनीतिक परिवर्तनका लागि अपरिहार्य पार्टी भएको तथ्य अबको नेतृत्वले बिर्सन मिल्दैन । महाधिवेशनले वैचारिक र सांगठनिक हिसाबले सामथ्र्यवान् पार्टी बनाउने पद्धति निर्माण गर्नु जरूरी छ । अधिवेशनको मूल चुनौती र दायित्व पनि यही हो । सांगठनिक रुपले सशक्त, वैचारिक रुपले सृदृढ कांग्रेस अहिलेको आवश्यकता हो । पार्टीलाई नीतिगत रुपले अग्रगामी, समावेशी र समृद्धिको बाटोमा डो¥याउने ‘भिजन’ भएको नेता छनोटको आवश्यकता छ । यो महाधिवेशनमा कांग्रेस प्रतिनिधिहरुले नेता छनोटमा मात्रै केन्द्रित भए भने कांग्रेस ऐतिहासिक जिम्मेवारीबाट चुकेको ठहर्ने छ । महाधिवेशनमा नीतिमाथि बहस हुनुपर्छ, जुन नीतिले कांग्रेसमार्फत नेपाली जनताले गरेका अपेक्षा पूरा हुन सकून् । कांग्रेसको जिल्ला अधिवेशनहरुमा युवाशक्ति र पढेलेखेका पुस्ता निर्वाचित भएका छन् । यसले कांग्रेसमा युवा नेतृत्व आवश्यक छ भन्ने संकेत गर्छ । अब नेतृत्व कसले हत्याउनेभन्दा भोलिको कांग्रेस कस्तो बनाउने भन्नेमा चासो, चिन्ता र बहस केन्द्रित हुनु जरूरी छ । पार्टी सभापति गुमाएको पीडाबीच कांग्रेसको १३औं महाधिवेशन हुँदैछ । शोकलाई शक्तिमा बदल्दै कोइरालाले पूरा गर्न बाँकी रहेको अभिभारा फत्ते गर्न सक्ने निष्ठा र वैचारिक आधार भएको नेतृत्वलाई स्थापित गर्नु अपरिहार्य देखिएको छ ।




Post a Comment

 
Top