0
मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनका कार्यकर्ताहरुले आन्दोलनका नाममा अराजक प्रदर्शन गर्न थालेका छन् । संविधान संशोधनपश्चात् आन्दोलनको स्वरुप परिवर्तन गर्ने भनिए पनि कांग्रेस अधिवेशन बिथोल्ने नाममा व्यक्तिका घर छानीछानी ढुङ्गामुढा र आगजनीमा उत्रिएका छन् । आन्दोलनकारीले जनकपुरमा पूर्वमन्त्री विमलेन्द्र निधिको घरमा आगजनी गर्नुका साथै आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव र लीला कोइरालाको घरमा ढुंगामुढा गरे । लोतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई छ तर आन्दोलनकारीको अराजक क्रियाकलापका कारण जनकपुर झनै अशान्त बन्न पुगेको छ । राजनीति र आन्दोलनसँग कुनै सम्बन्ध नभएका व्यक्तिलाई समेत मोर्चा कार्यकर्ताले कुटपिटसमेत गरे । उनीहरुले आफ्नै घरमा सुरक्षित बस्न नसकेको भन्दै प्रशासनसँग जीउ–धनको सुरक्षा मागिरहेका छन् । मधेस आन्दोलन सुरूवातदेखि नै हिंसात्मक बनेको थियो । अधिकार प्राप्तिको आन्दोलनका नाममा मोर्चाका कार्यकर्ताहरुले जघन्य ज्यादती मच्चाउँदै आएका छन्, जसका कारण सर्वसाधारणले अनाहकमा पीडा भोग्नु परेको छ । यस्ता अराजनीतिक चरित्रका कारण ६ महिनासम्म पनि मधेस आन्दोलन निरर्थक बन्न पुगेको छ । मधेसमा उठेका राजनीतिक मागसम्बन्धमा संविधान संशोधनदेखि विभिन्न चरणमा वार्ता र संवादमार्फत समस्या समाधान गर्ने प्रयत्न भइरहेका छन् । शान्तिपूर्ण आन्दोलनमार्फत जोकसैले पनि आफ्ना जायज माग राख्न पाउने अधिकार छ । तर, मधेसमा निधेषको राजनीतिले प्रश्रय पाइरहेको छ । कांग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि गाउँ÷नगर अघिवेशन भइरहेका छन् । अब क्षेत्रीय तथा जिल्ला अधिवेशनको चटारोमा कांग्रेस कार्यकर्ता लागिपरेका छन् । यस्तो समयमा अधिवेशन बिथोल्ने ढंगले प्रदर्शन गर्ने र नेता तथा कार्यकर्ताको घरमा आगजनी र तोडफोड गर्ने कार्यले थप हिंसा उत्पन्न हुनसक्छ । मधेसमा उठेका मागबारे कांग्रेसले गम्भीरता लिइरहेको सन्दर्भमा यस्ता गतिविधिले हिंसा बढाउनेमात्र काम गर्दछन् । पहिलो कुरा, आम नेपालीले ऐतिहासिक मानेर स्वागत गरेको नयाँ संविधानलाई मधेसीले मधेशविरोधी संविधानका रुपमा परिभाषित गर्दै आएका छन्, जुन आफैँमा त्रुटिपूर्ण छ । संविधान दलहरुको सहमतीय दस्तावेज भएकाले यो परिमार्जन र संशोधन गर्दै असन्तुष्ट पक्षहरुलाई सम्बोधन गर्न सकिन्छ, जुन कुरा पहिलो संशोधनले प्रमाणित गरिसकेको छ । ६ महिना लामो आन्दोलनले मुलुकका सबै क्षेत्र प्रभावित छन् । आन्दोलनका कारण मधेसमै धेरै संकट उत्पन्न भइरहेको छ । दिनहुँजसो आन्दोलनका नाममा हुने अराजकताले गर्दा सर्वसाधारण वाक्कदिक्क बनेका छन् । सर्वसाधारणका पसल, वित्तीय संस्था, शिक्षण संस्था बन्द गराउँदा सर्वसाधारणको आधारभूत अधिकारसमेत खोसिन पुगेको छ । राजनीतिक मागका लागि अराजनीति गतिविधिमा उत्रिरहेका आन्दोलनकारीले प्रदर्शन गर्ने हिंसात्मक गतिविधिका कारण जनधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । मधेसमा मोर्चाका कार्यकर्ताहरुले गरेका ज्यादतीका घटना पुनरावृत्ति हुँदै गएको छ । मानवीय मूल्य र मान्यताविपरीत अराजनीतिक तवरबाट भइरहेका घटनाले सिंगो मुलुक अस्तव्यस्त बनिरहेको छ । सरकारले दमनका नाममा थप हिंसा बढाउँदा न मधेस जल्न छाडेको छ, न त निर्दोष जनता शान्तिपूर्वक बाँच्न नै पाएका छन् । प्रजातान्त्रिक शासन व्यवस्थामा जायज आन्दोलन शान्तिपूर्ण रुपमा गर्ने अधिकार सबैलाई छ, तर विध्वंसात्मक र हिंसात्मक ज्यादती गर्ने अधिकार कसैलाई छैन, हुनु पनि हुँदैन । तसर्थ, मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनले आपराधिक चरित्र प्रदर्शन गर्न तत्काल रोकेर आन्दोलनको स्वरुप परिवर्तन गर्नु जरूरी छ ।

Post a Comment

 
Top