0
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गते भारत भ्रमण निधो भएको छ । नाकाबन्दी नखुली भारत भ्रमण नगर्ने अडान लिएका ओलीको भ्रमणले द्विपक्षीय राजनीति र कूटनीतिमा विशेष महत्व राख्ने अपेक्षा गरिएको छ । नेपालको आन्तरिक राजनीतिमा चासो राख्दै आएको भारतले नयाँ संविधानको अन्तरवस्तुप्रति असहमति राख्दै पाँच महिना लामो नाकाबन्दी ग¥यो । असल छिमेकी राष्ट्रको गरिमा तोड्दै सम्बन्धमा एकाएक चिसोपना उत्पन्न हुन पुग्यो । नेपाली जनतामा एकाएक भारतविरोधी भावना पैदा गरायो । भारतले नाकाबन्दीजस्तो अमानवीय काम गरेका कारण युुवामा भारतप्रति नकारात्मक भावना जागृत भयो । नाकाबन्दीका कारण मुलुकले भोग्नु परेको चरम अभाव र आर्थिक संकटको लेखाजोखा हुन सकेको छैन । इन्धन अभावले सर्वसाधारणको चुल्होदेखि अत्यावश्यकीय औषधिसमेत आयात हुन नसक्दा नेपालले भोग्नु परेको मानवीय संकटबारे विश्वसमुदायले मुख खोल्यो । मुलुकमा आत्मनिर्भरता बढ्न नसक्दा सामान्य दैनिकीसमेत कति कष्टप्रद हुँदोरहेछ भन्ने ज्वलन्त उदाहरण हामीले भोग्यौँ । भारतसँग एकल परनिर्भरता कति पीडादायी बन्यो भन्ने आभाष हरेक नेपाली जनताले महसुस गरेका छन् । अहिले अघोषित रुपमा भारतीय नाकाबन्दी हटेको छ । तर, नाकाबन्दीको हाउगुजी मानसिक रुपमा हट्न सकेको छैन । भारतले पटकपटक नाकाबन्दीको अस्त्र प्रयोग गरेका कारण विश्वस्त हुने आधार पनि छैन । अहिले एक हदसम्म राष्ट्रियताका सवालमा प्रधानमन्त्री ओलीको नाका नखुली भारत नजाने अडान सफल भएको छ । ओलीको भ्रमण कति फलदायी हुने भन्ने कुरा उनले अघि सार्ने एजेन्डा र आत्मनिर्भरताका विषयमा गर्ने छलफलबाट प्रस्ट हुने कुरा हो । भारतसँग रोटीबेटीको सम्बन्ध र आपसी सद्भावले मात्र द्विदेशीय समस्याको सम्बोधन हुन सक्दैन । ग्यास, इन्धनलगायत अत्यावश्यक सामग्रीको आयात सहज हुँदैमा दुई छिमेकीको सम्बन्ध विकसित हुन सक्दैन । जबसम्म व्यावसायिक सम्बन्ध मजबुत रुपमा अघि बढ्न सक्दैन, तबसम्म मुलुकले परनिर्भरता बेहोर्नुपर्दछ । प्रधानमन्त्रीको भारत भ्रमण बहुपक्षीय व्यावसायिक सम्बन्ध बढाउन केन्द्रित हुनुपर्छ । नेपालले नाकाबन्दी बेहोर्नुपर्दा कूटनीतिक रुपमा सम्बन्ध सुधारको प्रयत्न हुन सकेन । ओलीको भ्रमण ग्यास, इन्धनलगायत अत्यावश्यक सामग्रीको सहज आयातका लागि याचनामा सीमित हुनुहुँदैन । रोटीबेटी र सांस्कृतिक सम्बन्ध सुधारका लागि भ्रमण सीमित हुनुहुँदैन । नेपाल कृषि, जलविद्युत्लगायत थुप्रै क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने योजना प्रस्तुत गर्नुपर्छ । नेपालको बिजुली भारतमा निर्यात गर्न सकिने प्रशस्त सम्भावना नभएका होइनन् । त्यही कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालको बिजुलीले भारतमा उज्यालो दिने प्रसङ्ग उठाएका थिए । त्यो सम्भावनालाई केन्द्रमा राखेर अवरूद्ध जलविद्युत् आयोजना समयमै सम्पन्न गर्ने योजना प्रस्तुत गरी व्यवसायिक रुपमा सम्झौता गर्न सक्नुपर्छ । प्रधानमन्त्री ओलीको भ्रमण व्यवहारिक र व्यवसायिक सम्बन्ध विकसित गर्नेतर्फ केन्द्रित हुनु जरूरी छ ।

Post a Comment

 
Top