0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका–१९ मा सञ्चालित सरस्वती आदर्श विद्याश्रमको २३औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न भयो । ‘मौलिक संस्कृतिको जगेर्ना, एकता र राष्ट्रियता आजको आवश्यकता’ मूल नाराका साथ सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले विद्यालयबाट धेरैले पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका प्रशासक स्वागतसिंह भण्डारीले विद्यालयका गतिविधिको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा होम्स उमाविका निर्देशक अशोक पालिखे र अभिभावक एवम् पश्चिमाञ्चल इन्जिनियर क्याम्पसका  क्याम्पस प्रमुख नारायण गौतमले शिक्षा विकासमा विद्यालयले उल्लेख्य योगदान दिएको बताएका थिए ।  विद्यालय र विद्यालयमा कार्यरत शिक्षक कर्मचारीबाट हरेक वर्ष कुनै न कुनै क्षेत्रमा सहयोग गर्ने प्रचलन अनुसार यस वर्ष पोखरा–१९ घार्मीमा सञ्चालित महेन्द्र मा.वि. लाई शिक्षक कर्मचारीबाट सङ्कलित  ३४ हजार ५०० र विद्यालयबाट  ३५ हजार ५०० रुपैयाँ थप गरि ७० हजार रुपैयाँ बराबरको फर्निचर सामाग्री हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा एसएलसी परीक्षा २०७० र २०७१ मा विद्यालयबाट सर्वोत्कृष्ट अङ्क हासिल गर्ने छात्र क्रमशः कृष गुरुङ र मनिष उप्रेतीलाई सरस्वती पुरस्कार, नगद ५ हजार रुपैयाँ प्रमाण पत्रले सम्मान गरिएको थियो । यस्तै विद्यालयमा निरन्तर १० वर्ष वा सोभन्दा बढी सेवा गर्ने शिक्षक कर्मचारी क्रमशः रेनु रिजाल, हरिबहादुर जिसी, हरिलाल कुमाल र माया थापालाई पनि नगद १२ हजार रुपैयाँ, दोसल्ला र प्रमाण  पत्रले सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य बमबहादुर गुरुङको सभापतित्वमा सञ्चालित कार्यक्रममा विद्यालयकी भाइस प्रिन्सिपल नीलम रानाले स्वागत, अतिरिक्त क्रियाकलाप प्रमुख गोविन्द चापागाइँले सञ्चालन र  विद्यालयका नृत्य निर्देशक सविन गुरुङ लगायतले पनि बोलेका थिए ।

Post a Comment

 
Top