0
देशका लागि खेल्ने खेलाडीहरु जुनसुकै विधाका भए पनि उत्तिकै महत्वका हुन्छन् । नेपालको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरी देशलाई स्वर्ण पदक दिलाउने खेलाडीलाई उत्प्रेरणा प्रदान गर्न राज्यले कन्जुस्याइँ गर्नुहुँदैन । तर, १२औँ दक्षिण एशियाली खेलकुद (साग)मा समान पदक हासिल गर्ने खेलाडीलाई सरकारले उपेक्षा गरेको छ । सागअन्तर्गत पुरूष फुटबलमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई गत बुधबार भव्य रुपमा स्वागत तथा सम्मान गरियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको ट्रकमा राखेर नगर परिक्रमा गरायो । खेलाडीको सम्मानमा एन्फाले कुनै कसर बाँकी राखेन । सांगीतिक प्रस्तुतिका साथ भव्य स्वागत तथा सम्मान पाएका खेलाडीले नेपाली हुनुमा गर्व महसुस गरे । सरकारले पनि खेलाडीको सम्मानमा जनही पाँच÷पाँच लाख रूपैयाँ प्रदान गर्ने घोषणा ग¥यो । फुटबल खेलाडीको सम्मान गर्दा सम्पूर्ण नेपालीको शिर उँचो रह्यो । नेपाली फुटबलको गिर्दो साख फिर्ता भएको अनुभूति गरियो । र, २३ वर्षपश्चात् स्वर्ण जित्दा फुटबलप्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आयो । नेपालले सागमा अपेक्षाकृत नतिजा हासिल गर्न नसके पनि पुरूष फुटबलको सफलताले छुट्टै उत्साह जागृत गरायो । दुःखको कुरा, राष्ट्रिय गौरवका रुपमा फुटबलका हिरोहरुलाई सम्मान गरिँदा उस्तै स्वर्ण पदक दिलाउने उसुतर्फकी नीमा घर्तीमगरलाई भने सरकारले बिर्सियो । नेपाललाई पहिलो १२औँ सागमा स्वर्ण पदक दिलाउने नीमाका लागि न कुनै स्वागत कार्यक्रम गरियो, न त सरकारले सम्मानस्वरुप नगद पुरस्कार नै घोषणा ग¥यो । नेपालबाट पुरूष फुटबल टोली, नीमा र जुडोतर्फ फुपूल्हामु खत्रीले मात्रै स्वर्ण पदक दिलाउन सफल रहे । फुपूल्हामु ब्राजिलमा हुने ओलम्पिक खेलकुदका लागि छात्रवृत्तिमा अभ्यासको अवसर प्राप्त गरेर भारतबाटै ब्राजिलतर्फ गइन् । नीमा विमानस्थलबाट परिवारका साथ ललितपुरस्थित घर लागिन् । खेल व्यक्तिको स्वभाव र रोजाइअनुसार फरक–फरक हुने भए पनि महत्वका दृष्टिले सबै बराबर नै हुन्छन् । सरकारले फुटबल र क्रिकेटलाई मात्र महत्व दिने र अरु खेललाई वास्ता नगर्ने गर्नुहुँदैन । पक्कै पनि फुटबल र क्रिकेटप्रति अधिकांशको लगाव बढी छ । तर, सरकारद्वारा देशले प्राप्त गरेको स्वर्ण पदकको अवमूल्यन गरिनु हुँदैन । यस्तो व्यवहारका कारण खेलाडीहरुमा नकारात्मक प्रभाव पर्न गई खेलप्रति आकर्षण घट्न सक्छ । यस्ता सामान्य कुराहरुमा राज्यले ध्यान दिनुपर्छ । नेपालमा खेलाडीहरुका लागि अझै पनि राज्यले विशेष सुविधा दिन सकेको छैन । खेलाडीहरुले उपयुक्त अवसर र चाहेअनुरुपको सेवासुविधा पनि पाउँदैनन् । खेलकुदमा लागेर जीविकोपार्जन गर्न नसकेर सयौँ खेलाडीहरु विदेश पलायन भइरहेका छन् । उत्साहका साथ खेलमै समर्पित हुने खेलाडीको संख्या पनि न्यून छ । किनकि, राज्यले खेल र खेलाडीका लागि पर्याप्त लगानी गर्न सकेको छैन । खेलकुद क्षेत्रमा राजनीति घुसेर प्रतिभावान् खेलाडी अवसरबाट वञ्चित भइरहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी कमैमात्र छन् । त्यसमा पनि केही विधामा सफलता दिलाउनेहरुलाई सरकारले समेत फरक व्यवहार गरिरहेको छ । नेपालमा खेलाडीले खेल्ने भनेकै सम्मानका लागि हो । देशका लागि खेल्दा सरकारले समेत उचित सम्मान गर्दैन भने खेलाडीले केका लागि मिहिनत गर्ने ? यस्ता प्रश्न खेलाडीका मनमा उत्पन्न हुनु अस्वाभाविक होइन । तसर्थ, सरकारले स्वर्ण पदकधारी अन्य विधाका खेलाडीलाई पनि सम्मान गर्नुपर्छ । र, आगामी दिनमा खेलाडीका लागि पुरस्कृत गर्ने सवालमा पनि भेदभाव गर्नुहुँदैन ।

Post a Comment

 
Top