0
गोल्डेन न्यूज संवाददाता
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेली जनताको चार दशकदेखिको सपना अब चाँडै पूरा हुँदैछ । सम्भवतः आउँदो मार्चमा प्रधानमन्त्री केपी ओलीको अगुवाइमा चीनसँग ऋण सम्झौता हुनासाथ विमानस्थल निर्माण कार्यले गति लिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेलामा एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकसँग ऋण सम्झौता हुने बताइएको छ । लगत्तै विमानस्थलको शिलान्यस गरी निर्माण सुरु गर्ने सांसद रविन्द्र अधिकारी बताउँछन् । चीनको सहुलियत ऋणमा सहयोगमा बन्ने पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटनमा कायापलट हुने अधिकारीको दाबी छ । पोखराबाट सोझै अन्तर्राष्ट्रिय उडान सुरु भएको दुई वर्षभित्र पर्यटकको संख्या १५ गुनाले बढ्ने उनी बताउँछन् ।
अहिले पोखरामा वाषिर्क सवा लाख पर्यटक पुग्ने गर्छन् । संसदमा विकास समितिका सभापतिसमेत रहेका अधिकारीको दाबी अनुसार अबको पाँच वर्षमा पोखरामा २० लाख बढी पर्यटकहरु पुग्नेछन् । ‘छिमेकी मुलुक भारत र चीनसँगै सोझै उडान भएमा पोखरामा सहजै ३० लाख पर्यटक भित्र्याउन सकिन्छ’ अधिकारीले भने–‘हामीले चीन र भारतलाई जोड्न हवाइ मार्गसँगै सडकमार्ग पनि चुस्त बनाउनुपर्छ ।’ सरकारले सन् २०२० सम्म नेपालमा २० लाख पर्यटक भित्र्याउने दीर्घकालीन लक्ष्य राखेको छ । अहिले वाषिर्क ८ लाख पर्यटक नेपाल भित्रिरहेका छन् । भूकम्प, नाकाबन्दी र तराई आन्दोलनपछि त्यो संख्या करिब साढे तीन लाखमा झरेको अनुमान गरिएको छ । यही कारण चार वर्षभित्र २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुने शंका पैदा भएको छ । तर, सांसद अधिकारी पाँच वर्षभित्र पोखरामा मात्रै २० लाख पर्यटक सहजै भित्र्याउने दाबी गर्छन् । पोखरा विमानस्थल निर्माणका लागि नेपालको तर्फबाट सम्पूर्ण प्रकृया पूरा भइसकेको छ । अहिलेसम्म ८५ प्रतिशतको हाराहारीमा जग्गाको मुआब्जा दिइसकिएको छ । जग्गा मुआब्जाको लागि करिब एक अर्ब रुपैयाँ खर्च भयो । अब मात्र बाँकी छ, चीनसँग ऋण सम्झौता हुन । प्रधानमन्त्रीको छिट्टै हुन लागेको चीन भ्रमणका बेलामा ऋण सम्झौता हुने बुझिन आएको छ । ऋण सम्झौता हुनासाथ निर्माण कार्य सुरु गर्छौं । पोखरा विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी सीएएमसीले काम सुरु भएको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने आश्वासन दिएको छ । विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर खर्च हुनेछ । यो रकममध्ये एक तिहाइ रकम चीनले अनुदानमा उपलब्ध गराउने भएको छ । त्यसो हुँदा विमानस्थल १४र१५ अर्ब रुपैयाँमा निर्माण हुनेछ । ऋण रकम पनि १.७५ प्रतिशत सहुलियत ब्याजदरमा उपलब्ध हुनेछ ।
पोखरा नेपालको पर्यटकीय राजधानी भएको हुँदा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता परेको हो । नेपाल आउने पर्यटकको पहिलो आकर्षण पोखरा हुने गरेको छ । त्यसमाथि पोखरा पश्चिमाञ्चल क्षेत्रको हब पनि हो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको पहिलो कारण पर्यटकको संख्या बढाउन नै हो । पोखरामा विन्ध्यवासिनी मन्दिर छ । त्यहाँबाट लुम्विनी, मुक्तिनाथ, छोटो पदयात्रा, दामोदर कुण्ड, सौराहा लगायत ठाउँमा पुग्न सकिन्छ । त्यसमाथि भारतीय र चिनियाँ पर्यटकको आकर्षण पनि पोखरा बनिरहेको छ । चीन र भारतबाट सिधै पोखरा उडान गर्न सकेमा उनीहरुको आकर्षण बढ्नेमा दुईमत छैन ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँ पर्यटन र उद्यमशिलताको विकास हुन्छ । नयाँ लगानीकर्ता आउँछन् । यसले पोखरा आसपासका जनताको जीवनस्तरमा सुधार आउने मात्र नभई राज्यको ढुकुटीमा पोखराको योगदानसमेत बढ्ने छ ।
पोखराको आर्थिक आधार भनेको पर्यटन हो । भोलि प्रादेशिक संरचनामा गएपछि त्यहाँको बाँच्ने आधार पर्यटन हो । त्यहाँको पर्यटन प्रवर्द्धनका लागि पनि अन्तर्राष्ट्रिय विमानस्थल नभई हुँदैन । यसका लाग चीन र भारतसँगको ‘कनेक्टिभीटी’ बढाउनुपर्छ । भोलि चीनबाट कोरला नाका भएर कालीगण्डकी करिडोर हुँदै बाटो आउँछ । भारतबाट जोडिएको बाटो पनि विस्तार गरिँदैछ । काठमाडौं पोखरा सडकलाई चार लेनको बनाउन अध्ययन गरिँदैछ । एउटा अन्तर्राष्ट्रिय विमानस्थल पनि भयो भने त पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । अहिले पोखरा आइरहेका पर्यटक भनेका नगन्य हुन् । एक लाख पर्यटक त मरुभूमिमा पनि भित्र्याउन सकिन्छ । हामीले विमानस्थल बनेको कम्तिमा दुई वर्षभित्र पर्यटकको संख्या १५ गुनाले बढाउन सकिन्छ । त्यसमाथि सडकमार्ग समेत चुस्त बनेमा ३० लाख पर्यटक पोखरा पु¥याउनु कुनै गाह्रो काम हैन । हाम्रो लक्ष्य पोखरामा पोखरामा ३० लाख पर्यटक पु¥याउने हो ।
कतिपय अन्तर्राष्ट्रिय कन्सल्ट्यान्टहरुले पोखरामा एक लाख पर्यटक भित्र्याउनु सामान्य भएको बताउँछन् । ‘तपाईहरु हवाइ सेवा विस्तार गर्नुस, सार्वजनिक यातायातलाई राम्रो बनाउनुन्, स्तरीय होटल तथा लजको संख्या बढाउनुस्, पर्यटकले मन पराउने प्रोडक्टहरु पहिचान गरी प्रवर्द्धन गर्नुस्, एक करोड पर्यटक भित्र्याउन कुनै समस्या हुँदैन’ उनीहरु भन्ने गर्छन् ।
माल्दिभ्स जस्तो सानो मुलुकले करोड पर्यटक भित्र्याउन थालिसक्यो । हामीले त अहिलेसम्म केही गर्न सकेका छैनौं । अलि नयाँ सोचबाट अगाडि बढ्नुपर्यो । हामीले पर्यटन र हाइड्रोको गीत गाउँदै हिँड्ने, तर काम नगर्ने हुँदा पछाडि परेका हौं । अहिले पर्यटनले जे जति फड्को मारेको छ, सबै निजी क्षेत्रको प्रयासले सम्भव भएको हो । हामी वृहत् सोचबाट अगाडि बढेमा विश्वकै उत्कृष्ट गन्तव्य पोखरा बनाउन सकिन्छ । त्यहाँ सम्पदा, जैविक विविधता, उच्च हिमश्रृङ्खला, साहसिक टुरिज्म यहीँ छ । तर, हामीले बिक्री गर्न सकेका छैनौं । तिब्बतमा वार्षिक डेढ करोड पर्यटक भित्रिँदा पोखरामा भित्र्याउन नसकिने भन्ने हुँदैन । लुम्विनी, काठमाडौं र पोखरालाई जोडेर पर्यटक प्रवद्र्धन गर्न सकिन्छ । यो रुटमा राम्रो बस र रेल सेवा विस्तार गर्न सकिन्छ । चीनबाट गल्छी हुँदै आउने रेलका लागि पनि सर्भे गरिँदैछ । मुस्ताङको कोरलाबाट चीन र नेपाल जोड्ने नाका खोल्न प्रयास भइरहेको छ ।
चीनबाट पोखरामा अत्यधीक धेरै पर्यटक आउन चहान्छन । तर, सिधा हवाइ सम्पर्क विस्तार गर्न नसक्दा उनीहरु आउन सकेका छैनन् । पछिल्लो समय विश्वमा सबैभन्दा बढी घुम्न निस्कने र खर्च गर्ने पर्यटक चिनियाँ नै हुने गरेका छन् । सन् २०१४ मा ११ करोड बढी चिनियाँ पर्यटक विश्व भ्रमणमा निस्किएका छन् । जसमध्ये सवा लाख चिनियाँहरु नेपाल आएका थिए । तिब्बतमा मात्र करिव डेढ करोड चिनियाँ घुम्न आउँछन् । त्यो पनि अधिकांश सडक मार्गबाटै । हामीले चिनियाँ पर्यटकको केही प्रतिशतमात्र भित्र्याउन सकेमा यहाँ फालाफाल हुन्छ । यसका लागि हवाइ तथा सडक मार्ग चुस्त बनाउनुपर्ने हुन्छ । तिब्बत आएका पर्यटकहरु सडक मार्ग हुँदै नेपाल आउन चाहन्छन् ।
पोखरा आउने पर्यटकमा सबैभन्दा बढी चिनियाँ र भारतीय नागरिक हुने हुँदा उत्तर दक्षिणका बाटोहरु राम्रो बनाउनुपर्छ । पोखरामा सिधै उडान हुन थालेपछि भारतीय र चिनियाँ पर्यटक आगमन बढ्नेछ । खासगरी पोखरामा चिनियाँ पर्यटक दृश्यावलोकन, छोटो पदयात्रा र प्याराग्लाइडिङका लागि आउने गर्छन् । भारतीय पर्यटकहरु साहसिक खेलकुदको अलावा धार्मिकरुपमा समेत आउने गर्छन् ।
पछिल्लो समय चिनियाँ मात्र होइन, भारतीय नागरिकसमेत भ्रमणमा निस्कन थालेका छन् । यहाँबाट मोटो रकम खर्च गर्ने नागरिक विश्वका विभिन्न मुलुकमा पुग्ने गर्छन् । पोखरामा भारतका खर्चालु पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भवना छ । यसका लागि सबैभन्दा पहिलो शर्त अन्तर्राष्ट्रिय विमानस्थल हो । भारतीय र चिनियाँ पर्यटक मात्र होइन, तेस्रो मुलुकका पर्यटकका लागि पनि पोखरा आकर्षक गन्तव्य हो । विश्वकै प्रख्यात पदयात्रा मार्ग अन्नपूर्ण सक्रिटको प्रवेशद्वार पनि पोखरा मानिन्छ । अन्नपूर्ण पदयात्रामा जाने तेस्रो मुलुकका पर्यटक सिधै पोखरा ल्याउन सकिन्छ ।
यसको अलवा तेस्रो मुलुकका पर्यटक दृश्यावलोकन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजम्प, जीप फ्लायरलगायतका गतिविधिमा रमाउन पनि पोखरा आउने गर्छन् । सडक र हवाइ सेवालाई चुस्त बनाएर हामीले पर्यटकीय प्रोडक्टको प्रचार प्रसारमा लाग्यौं भने सहजै ३० लाख पर्यटक भित्र्याउन सकिन्छ ।





Post a Comment

 
Top