0
गोल्डेन न्यूज संवाददाता
पोखराबाट जोमसोम जाने क्रममा म्याग्दीको दाना गाविस वडा नम्बर १ र २ बीचको जंगल सोलिघोप्टेभिरमा दुर्घटनाग्रस्त तारा एयरको विमानमा सवार मृतक सबैको शब फेला परेको छ । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोइरालाका अनुसार विमानमा सवार २३ जनाकै शब संकलन गरिसकिएको छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले यत्रतत्र छरिएको अबस्थामा शब शंकलन गरेका हुन् । एक वालक र महिलाको शब पहिचान गर्न सक्ने अवस्थामा रहेको भएपनि अन्यको शब क्षतविक्षत अबस्थामा भेटिएको छ । केहिको शब आगोले जलेको अबस्थामा भेटिएको छ । बुधवार साझ परेपछि हिउ परेको र सामान्य पानी परेकाले घटनास्थलमा अन्य खोजी कार्य स्थगित गरिएको कोईरालाले बताए । बिहीवार विहान मौषम अनुकुल हुनासाथ हेलिकप्टर मार्फत शब पोखरा ल्याउने र आफन्तलाई बुझाउने प्रशासनले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । खोजी र उद्धारमा खटिएको टोली आज घटनास्थल वरपरनै बस्ने र विहिवार शब लिएर फर्किने क्षेत्रीय प्रशासक कोईरालाले जानकारी दिए । जहाजमा चालक दलका तीन, दुई बालक, दुई विदेशी सहित २३ जना सवार थिए । जहाजमा चालक रोशन मानन्धर, सहचालक डिकेस नेमकुल र परिचारिका रमा रावल सहित दुई वच्चा, कुवेती नागरिक अहमद रसिद र चिनिया नागरिक माक्सु इङ सवार थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालय मुस्ताङका नासु रेवती बराल, मुक्तिनाथ गाविसका सचिव मुक्तिनाथ बाँस्तोला, विनता भट्टचन, कृष्णलाल भट्टचन, दिल कुमारी गौचन, देविजंग गुरुङ, फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, मोतिबहादुर केसी, पवित्रा केसी, लेप्साङ लामा, वालकृष्ण न्याउरे , कान्छा परियार, डोल्मा छिरिङ शेर्पा, राज कुमार तामाङ र कमला थकाली थिए । उनीहरु सबैको मृत्यु भएका हो । विहान ७ बजेर ५० मिनेटमा पोखरा विमानस्थलबाट उडेको ९ एन–ए एच एच कलसाईनको जहाज ८ बजे अन्तिम सम्पर्कमा आएको थियो । पोखरा जोमसोम रुटमा पोखरा विमानस्थलबाट अन्तिम सम्पर्क स्थापित हुने क्षेत्र घोरेपानीबाट सम्पर्कमा आएको जहाज त्यसपछि सम्पर्क वाहिर गएको नागरिक उड्डयन कार्यालय पोखराका प्रबन्धक योगेन्द्र कुँवरले जानकारी दिए । घोरेपानीदेखि तातोपानी बिचको क्षेत्रमा पोखरा र जोमसोम दुबैतिरबाट कुनैपनि सम्पर्क स्थापित नहुने भएकाले सो क्षेत्रलाई ‘वफर एरिया’ भनिन्छ । सो एरियामा छिरेको पाँच मिनेटपछि जोमसोम विमानस्थलको सम्पर्कमा आउनुपर्ने जहाज बीचमै दुर्घटनाग्रस्त भएको हो । म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले पनि विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए । स्थानीय नवीन खड्का र प्रहरी जवान फुलकुमार थापा घटनास्थलमा पुगेका छन् । बाँकी प्रहरी टोली त्यसतर्फ लागेको छ ।  दुर्घटनास्थल बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने रुप्से झरनाबाट ४÷५ घण्टा उकालो लागेपछि मात्रै पुग्न सकिन्छ ।  दुर्घटनास्थलमा हिउँ र पानी परिरहेकोले हेलिकप्टर जान नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले जनकारी दिए। उनका अनुसार दुर्घटनास्थलमा मौसम सुधार आउने वित्तिकै उड्नको लागि हेलिकप्टर जोमसोम र पोखरामा तयारी अवस्थामा राखिएको छ । उनले भने,–‘हामी अहिले हेलिकप्टर लिएर जान सक्ने अवस्थामा छैनौं । मौसम अनुकुल हुनेवित्तिकै दुर्घटनास्थलमा उडिहाल्छ ।’  निजकै हेलिकप्टर बस्ने ठाउँ नभएकाले संकलन गरिएका शवलाई पोखरा तत्काल ल्याउन कठिन भएको जानकारी स्रोतले दिएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले म्याग्दीमा भएको विमान दुर्घटनाको घटनाप्रति दुस्ख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आफन्तजन मा गहिरो समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेललाई टेलिफोन गरेर मृतकहरुको शव यथाशक्य चाँडो आफन्तजनलाई बुझाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । भारतको राजकीय भ्रमणमा रहेका ओलीले उद्धारकार्यमा खटिन तीनवटै सुरक्षा निकाय र सरोकारवालाहरुलाई खट्न आग्रह समेत गरेका छन् । दुर्घटना बारे छानविन गर्न उच्च स्तरीय दुर्घटना जाँच आयोग गठन गर्न समेत मन्त्री पोखरेललाई निर्देशन दिएका छन् । यसैबीच बुधबार बिहान तारा एयरको  ९ एन–ए एच एच विमान म्याग्दी जिल्लाको सोली घोप्टे भिर केकरको बुटा भनिने स्थानमा दुर्घटना हुँदा चालक दलका सदस्यहरु सहित विमान सवार २३ जना सबै निधन भएकोमा नाट्टा पश्चिमाञ्चल  क्षेत्रीय संघ, पोखरा दुःख व्यक्त गरेको छ । नाट्टा पोखराका महासचिव सुवास भण्डारीले बुधबार एक विज्ञप्ति जारी गरी नेपालको भौगोलिक बिकटता एवं मौशमी प्रतिकुलता कारण नेपालको आकाश असुरक्षित बन्दै गएकाले बेला बखतमा यस्ता दुर्घटनाहरु हुने भईरहे पनि सम्बन्धित निकाय र हवाई कम्पनीहरु समेत सजक नभएका कारण ठूलो भौतिक एवं मानवीय क्षति बेहोर्नु परेको बताएको छ । ‘यस सम्बन्धमा सम्बन्धित निकाय नेपाल सरकार, नागरिक उड्डयन र सम्बन्धित हवाई कम्पनीहरु सचेत भई यस्ता घटनाहरु दोहोरिन नदिनका लागि आवश्यक पहल गर्न सबैमा हार्दिक अपिल गर्न चाहन्छौं।’, विज्ञप्तिमा भनिएको छ–‘दुर्घटनामा परि दिवंगत  सम्पूर्णको चीरशान्तिको कामना गर्दै शोकको यस घडिमा आफन्त जनहरुमा परेको यस दुःखद परिस्थितिमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि हार्दिक समवेदना समेत व्यक्त गर्दछौं । छानविन समिति यसैबीच तारा एयरको विमान दुर्घटनाबारे छानविन गर्न सरकारले आयोग बनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा पाँच सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा महासेनानी दीपक वास्तोला, क्याप्टेन श्रवण रिजाल, वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला छन् । सदस्य सचिवमा मन्त्रालयका सहसचिव सुरेश आचार्य तोकिएका छन् । आयोगलाई दुर्घटनाकार कारण पत्ता लगाउन र भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिन भनिएको छ । आफन्तको रुवावासी पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज म्याग्दीको दाना २ सोलिघोप्टेभिरमा दुर्घटना भएपछि त्यसमा सवार यात्रुका आफन्तको पोखरा विमानस्थलमा रुवाबासी चलेको छ । विहान ७ बजेर ५० मिनेटमा उडेको विमान १० मिनेटमै संम्पर्क विहिन भएपछि विमानस्थल आएका आफन्त दुर्घटनामा परेर ज्यान गुमाएको खबरले भावविह्ल भएका छन् । उनीहरु विमानस्थलमा शब ल्याउने आशामा बसिरहेका छन् । जहाजमा सवार दाजुको अवस्था बुभ्mन आएका पोखरा फूलवारीका टुवराज बाँस्तोला दुर्घटनाको खबर सुनेपछि भक्कानो छोडेर रोए । मुस्ताङको मुक्तिनाथ गाविसका सचिव समेत रहेका उनका दाजु मुक्तिनाथ बाँस्तोलाको जहान दुर्घटनामा निधन भएको छ । त्यस्तै उपचारपछि घर पठाएका बाबु कान्छा परियार जहाज दुर्घटनामा परेपछि पोखरा विमानस्थल आएकी छोरी शान्ता परियारलाई सम्झाउन आफन्तलाई हम्मेहम्मे परेको छ । विमानमा सवार यात्रुका आफन्त दिनभर पोखरा विमानस्थलमा थिए ।

अधुरै रह्यो विवाह गर्ने योजना

बुधबार दुर्घटनामा परेको तारा एयरलाइन्सको विमानका को पाइलट थिए ललितपुरका विकेश नेमकुल । अपरान्ह विकेशको ललितपुर पाटनढोका स्थित रातोबंग्ला नजिकै उनको घरमा रातोपाटी टीम पुग्दा उनको परिवारलाई विकेशको विमान सम्पर्क विच्छेद भएको खबर मात्र थाहा थियो । कसैले दुर्घटनाको दुःखद् परिणाम अझ सम्झाउन सकेका थिएनन् । विकेश दुघर्टनामा परेको भन्दै परिवारका सदस्य र आफन्तहरु शीघ्र स्वास्थ्य लाभको कामना गर्दै एउटा कोठामा जम्मा भएर प्रार्थना गरेर बसिरहेका थिए । एक आफन्तले भने,–विकेशलाई भगवानले अवश्य बचाउनेछन् । भगवानसंग हामीले यही प्रार्थना गरिरहेका छौं । भगवानको चमत्कारको आशमा हामी प्राथना गरिरहेका छौं । उसलाई भगुवानले बचाउनु हुन्छ भन्ने हामी पूर्ण विश्वासमा छ । भगवानले चमात्कार देखाए विकेश घर फर्केर आउने छ ।’ २९ वर्षीय विकेश एमफूल कोपाइलटको रुपमा तारा एयरलाइन्समा गत बर्षदेखी काम गर्दै आएका थिए । उनले सन् २०१४ मा साउथ अफ्रिकाबाट उडान कोर्स गरेका थिए । गत शनिबार मात्रै उनी परिवारसँगै शालीनदी गएका थिए । विकेशका आमा, दुई दिदी र एक बहिनीका छन् । ललितपुर माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका उनले अमृत साईन्स क्यापसमा आइएस्सी पास गरेका हुन् । वैशाखमा उनको विहेको तयारीका लागि पछिल्लो समय उनका परिवार र आफन्तहरु  तयारी गर्दै आएका थिए ।
पाइलटले ‘फेरि भेटौंला, गुड डे’ भनेका थिए 
पोखराबाट जोमसोमको लागि उडेको कल साइन ९ एन–ए एच एच कलसाईनको तारा एयरको जहाज सम्पर्कबिहीन हुनुअघि पाइलटले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा ‘फेरि भेटौंला, गुड डे !’ भनेको रेकर्ड छ । बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग अन्तिम कुराकानी गरेपछि सम्पर्कबिहीन भएको थियो। पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताए । त्यसपछि जोमसोम टावरसँग पनि कुनै कुराकानी नभएको जोमसोम विमानस्थलका प्रमुख सूर्य खत्रीले बताएका छन् ।

Post a Comment

 
Top