0
गोल्डेन न्यूज संवाददाता
भूकम्प र नाकाबन्दीका कारण पर्यटन र खसागरी होटल क्षेत्र बढी प्रभावित भएको भन्दै यसलाई पूर्ववत् अवस्थामा फर्काउन आफूहरु सक्रिय रुपमा लागि रहेको होटलकर्मीले बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको लेकसाइडमा शुक्रबार आयोजित छैटौं साधरणसभाका अवसरमा व्यवसायीले त्यस्तो भनाई राखेका हुन् । भूकम्प र नाकाबन्दी पछि पर्यटनमा क्षति न्यूनिकरण गरेर संगठितरुपमा अगाडि बढ्ने विषयमा समेत व्यवसायीहरु बीच साधरण सभामा छलफल भएको थियो । पर्यटनको पुनर्जागरणका लागि व्यवसायीहरु लागिरहेको तर यसमा सरकारी पक्षको पनि उत्तिकै सहयोग आवश्यक भएको संघका अध्यक्ष भरतराज पराजुलीले सो अवसरमा बताए । कार्यक्रममा पराजुलीले विगत वर्ष जे जस्तो भए पनि व्यवसायीहरु सन् २०१६ लाई पर्यटन र अन्य हिसावले समेत सफल बनाउन सकारात्मक शोचका साथ अगाडि बढेको बताए । रफ गाइड नामक वेबसाइटले नेपाललाई विश्वका उत्कृष्ट १० गन्तव्य भित्र पहिलो स्थानमा राख्नु राम्रो पक्ष भएको बताउँदै उनले भारतीय नाकाबन्दी पनि अब विस्तारै खुल्ने संकेत मिलेको बताए । संकटको समयमा पनि व्यवसायीहरु धैर्यता, अनुशासन र जिम्मेवारीपूर्वक अगाडि बढेको भनाई उनको थियो । सौर्य बत्ती जडान, सीसीटीभी जडान, फेवा संरक्षण र सामाजिक उत्तरदायित्वका अन्य काममा संघ जिम्मेवार रुपमा लाग्दै आएको उनले स्मरण गराए ।
कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले अहिले पर्यटक घट्दैमा नआत्तिन व्यवसायीलाई ढाडस दिए । पर्यटकीय प्रडक्टको विकास गर्दै पुनर्जागरणका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर काम गर्न जरुरी भएको भनाई उनले राखे । उनले पोखराका जिल्लाको पर्यटन र विकास कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा बसेर छलफल गर्न व्यवसायीलाई निम्ता पनि दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले संकटबाट पाठ सिकेर उर्जा संकट हटाउन सौर्य लगायत बैकल्पिक उर्जातर्फ ध्यान दिन आग्रह गरे । फेवा लगायत कास्कीका अन्य तालको संरक्षणमा समेत सबैले चासो दिनुपर्ने भनाई उनको थियो । राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका क्षेत्रीय संयोजक एवं पुनर्जागरण समितिका केन्द्रीय सदस्य गोविन्दराज पहारीले अहिले व्यवसायीहरुको ध्यान व्यवसाय टिकाउन मात्र रहेको बताउँदै नाकाबन्दी र भुइँचालोबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए ।  संघका सल्लाहकार सुन्दरकुमार श्रेष्ठले आफ्नो ३२ वर्षे पर्यटन अनुभवमा अहिलेको संकट पहिलो पटक व्यहोरेको बताउँदै यस्तो बेला धैर्यताले काम गर्न जरुरी भएको भनाई राखे । संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले भौतिक पूर्वाधारको विकास, व्यवस्थित शहरिकरण, संगठित र सकारात्मक शोच अहिलेको आवश्यकता भएको बताए । 
नेपाल पत्रकार महासंघ कास्कीका सभापति रामकृष्ण ज्ञवालीले मुस्ताङको कोरला नाका खुलाउन व्यवसायीले चीन सरकारलाई दवाव दिन जरुरी भएको भनाई राखे । कार्यक्रममा पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष प्रकाश खनाल, टान पश्चिमाञ्चल संघका अध्यक्ष रामचन्द्र शर्मा, रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई र संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले पनि भनाई राखेका थिए । कार्यक्रममा गृहलक्ष्मी ग्याँस कम्पनीका अध्यक्ष धर्मराज बर्तौलालाई सम्मान गरिएको थियो ।









Post a Comment

 
Top