0
गोल्डेन न्यूज संवाददाता
विभागीय टोली त्रिभुवन आर्मी क्लव पोखरामा जारी आहारारा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आर्मीले सहारासंग ११आंै आहारारा गोल्डकपमा भोगेको पराजयको बदला समेत लिएको छ । ११आंै आहारारा गोल्डकपमा सहारासंग टाइबे्रकरमा आर्मी ४–२ ले पराजित भएको थियो । दुई पटक फाइनल पुगेको आर्मी दुवै पटक नेपाल पुलिससंग पराजित हँुदै उपाधि विहिन बनेको थियो । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक सहारा क्लव पोखरालाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीले बिहीबार हुने मनाङ–मस्र्याङ्दी र झापा–११ बीच हुने सेमीफाइनलको बिजेतासँग शनिबार उपाधिका लागि खेल्नेछ । शुरुदेखि नै आक्रमक रणनीति अपनाए पनि आर्मीले गोलका लागि भने अतिरिक्त समयसम्म कुर्नुप¥यो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरी भएपछि थपिएको ३० मिनेटको समयमा आर्मीले दुबै गोल गरेको हो । आर्मीका लागि १०२ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दिलाए । उनले करिब २२ यार्ड टाढाबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । एकपछि अर्को गर्दै सहारालाई लगातार दवाबमा राखेको आर्मीले १०७ मिनेटमा दोश्रो गोल गर्दै जित सुनिश्चित ग¥यो । सन्तोष तामाङको लामो पासमा दीप लामाले गोल गरेका हुन् । उनले करिब २४ यार्ड टाढाबाट प्रहार गरेको बल सहारा किपर विनय श्रेष्ठले रोक्ने कुनै मौका पाएनन् । रक्षात्मक रणनीति अपनाएको आयोजक सहारा बिरुद्ध आर्मीले आधा दर्जन भन्दा बढी गोल गर्ने अवसर पाएको थियो । विपक्षीलाई लगातार दवाबमा राख्न सफल आर्मीले २६औं, पहिलो हाफको ईञ्जुरी समय, ५४औं, ८५ औं, ९७ औं र ११४औं मिनेटमा पाएका गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । सहारा क्लवले भने ४५औं, ४८औं र ११९औं मिनेटमा पाएको अवसर सदुपयोग गर्न सकेन । बुधबारको खेलमा त्रिभुवन आर्मीका सन्तोष तामाङ म्यान अफ दी म्याच घोषित भए । जितपछि आर्मीका प्रशिक्षक मेघराज केसीले सहारा क्लबले जसरी हुन्छ टाइबे्रकरमा लैजाने रणनीति अपनाउँदा निर्धारित समयमा गोल निकाल्न नसकेको बताए । उनले आफ्नो लक्ष्य उपाधि जित्ने भएकाले बिहीबार जसले जितेपनि उसलाई हराउन आफ्नो टिम सक्षम हुने दाबी गरे । पराजित टीम सहारा क्लवका प्रशिक्षक किरण श्रेष्ठले आर्मीले फिजिकल्ली पेलेर खेल्दा आफ्नो टीम दवाबमा परेको बताए । उनले बुद्ध लामा घाइते हुनु नै टर्निङ प्वाईन्ट भएको भन्दै सोही कारण पराजित हुनुपरेको जिकिर गरे । बुद्ध लामा ५०औं मिनेटमा घाइते भएका थिए । उनको बाँया काँधको हड्डीमा समस्या देखिएको छ। उनलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । यसैबीच बिहीबार फाइनल प्रवेशका लागि मनाङमस्र्याङ क्लव र झापा–११ बीच खेल हुनेछ । ३ पटक आहारारा गोल्डकपको उपाधि उचालिसकेको मनाङले चौथोपटक पनि उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ भने पहिलो पटक सेमिफाइनलमा पुगेको झापा पनि यो पटकको उपाधि जितेर इतिहास रच्ने रणनीतिका साथ मैदान उत्रँदैछ ।




Post a Comment

 
Top