0
गोल्डेन न्यूज संवाददाता
नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपसभापति एवं वर्तमान सल्लाहकार राजबहादुर गुरुङ तमु पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । हङकङ व्युटि इन्स्टिच्युट प्रालि.का संचालक मिना गुरुङद्वारा स्थापित र तमु संचारकर्मी संघ कास्कीद्वारा संचालित पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ । गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, पुरस्कारका संस्थापक मिना गुरुङ र तमु संचारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति गुरुङले सम्मान गरेका हुन् । 
सम्मानित गुरुङको परिचय र सम्मानका आधारका बारेमा प्रतिभा छनौट समितिका संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले जानकारी गराइन । संघका कानुनी सल्लाहकार अधिवक्ता जुनाकुमारी गुरुङ संयोजक, तमु साँस्कृतिक प्रतिष्ठानका पुर्व अध्यक्ष झम गुरुङ, पुरस्कार संस्थापक मिना गुरुङ, संघका कास्की अध्यक्ष शान्ति गुरुङ र सचिव देविजङ्ग गुरुङ सदस्य रहेको प्रतिभा छनोट समिति गठन गरेको थियो ।
काठमाडौँबाट प्रकाशित जनसत्ता साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार गुरुङले सन्ध्याकालिन दैनिक, सगरमाथा टेलिभिजनमा कार्यरत हुदै हाल पोखराबाट प्रकाशित युनाईटेड राष्ट्रिय दैनिकको प्रधानसम्पादक तथा प्रकाशक हुन्। गुरुङ हाल महासंघका सल्लाहकार, गुरुङ तमु संचारकर्मी संघ नेपाल केन्द्रीय सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीका सल्लाहकार हुन् । उनी  पत्रकार महासंघ कास्कीको भवन निर्माण समितिको सह–संयोजक भई कार्य गरेका थिए । 
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले ४ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाइने उद्घोष गरे । हाम्रो प्रदेश प्राकृतिक श्रोत साधन, मौलिक सँस्कृति, विभिन्न समुदायगत क्षेत्र भएकाले सबैको साथ, सहभागीताबाट नमुना प्रदेश बनाउने आधारहरु रहेको बताए । 
सम्मानित व्यक्तित्व राजबहादुर गुरुङले आफू सम्मानित हुदाँ समाजप्रति केही गरेछु कि भन्ने महसुस भएको बताए । उनले आफूले पाएको पुरस्कार ११ हजार रुपैयाँ नेपाल पत्रकार महासंघ कास्कीको भवन निर्माण सहयोगका लागि पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीलाई हस्तान्तरण गरे । कार्यक्रममा पुरस्कारका स्थापिका, हङकङ ब्युटि इन्स्टिच्युट प्रालिका संचालक मीना गुरुङले पत्रकारिता क्षेत्रमा प्रोत्साहन प्रदान गर्न थोरै भने पनि योगदान पुर्याउन पुरस्कार स्थापना गरेको बताइन । तमु संचारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, आम मगर संचारकर्मी समाजका सचिव रुद्र श्रीस मगर, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय प्रचार सचिव मनोज गुरुङ, आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मो, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका उपाध्यक्ष हर्कबहादुर गुरुङ, संघका उपाध्यक्ष भुपाल गुरुङ र सचिव देविजङ्ग गुरुङ लगायतले बोलेका थिए ।









Post a Comment

 
Top