0
गोल्डेन न्यूज संवाददाता
फेवा विकास बैंकमा देखिएको बिवादको अन्त्य भएको छ । फेवा विकास बैंकको हालै सम्पन्न शेयर सदस्यहरुको बृहत भेला र लगत्तै बसेको संचालक तथा सेयरधनीहरुको बैठकले विवाद सल्ट्याएको हो । 
बरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा संयोजक रहेको सो समितिले लगानीकर्ताहरुको सुझावलाई मध्यनजर राख्दै तत्काल मर्जरमा जानुभन्दा पनि फागुन मसान्तभित्र साधारणसभा गर्ने सर्वसम्मत सहमति गरेको हो । साधारणसभाले दिने म्याण्डेट अनुसार बैंकका गतिविधि अगाडि बढाउन बैंकका सबै संचालकहरु तयार भएपछि बिवादले निकास पाउन लागेको हो । यसका लागि माघ मसान्त भित्र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने प्रक्रिया अगाडि बढाइएको बरिष्ठ अधिवक्ता थापाले बताए । ‘तत्काल मर्जरमा जाने भन्दा पनि साधारणसभाबाट नयाँ म्याण्डेट लिएर अगाडि बढ्ने निर्णय भयो ।’– बिवादबारे जानकारी दिँदै थापाले भने । साधारण सभाबाट नयाँ संचालक समिति गठन हुने र त्यही समितिले बैंकलाई अगाडि बढाउने छ । 
सो निर्णयलाई कार्यान्वयन गराउनको लागि बरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाकै संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन गरिएको छ । समितिमा सुशिल गौचन र दिलबहादुर गुरुङ, शेयरधनी टुवराज बाँस्तोला र देवीप्रसाद अर्याल रहेका छन् । अनुगमन समितिले वर्तमान संचालक समितिले यो सहमति कार्यान्वयन गरे गरेको अनुगमन गर्दै छिटो काम गराउन निर्देशन दिनेछ । बैंकका अध्यक्ष जगनबहादुर गुरुङ बैंक मर्जर प्रक्रियामा असहमत देखिएपछि संचालक समितिको बैठकले उनलाई अध्यक्षबाट हटाएर रामभक्त रञ्जितलाई अध्यक्ष चुनेपछि बैंकमा बिवाद बढेको थियो । 
सो बिवाद अदालतसम्म पुग्यो भने बिजनेस युनिभर्सल डेभलपमेण्ट बैंकसँग हुने भनिएको मर्जर प्रक्रिया समेत अलपत्र हुन पुग्यो । मुद्धा अदालतमा विचाराधिन नै रहेकोले हाललाई रामभक्त रञ्जितकै अध्यक्षतामा साधारण सभा गरिने र अदालतले पुनस्र्थापना गराएमा भने जगनबहादुर गुरुङलाई नै अध्यक्ष कायम गरिने सहमति समेत भएको थापाले बताए । यो सहमतिमा बैंकका सबै संचालकहरुको सहमति रहेकोले फेवाको बिवाद साम्य भएको थापाले जानकारी दिए ।

Post a Comment

 
Top