0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसले आफ्नो स्थापनाको सात दशक लामो यात्रा पार गर्दै छ । देशको प्रमुख राजनीतिक दलको रुपमा रहेको नेपाली काग्रेस १३औँ महाधिवेशनको सघारमा छ । १३औँ महाधिवेशन अन्तर्गत अहिले जिल्ला, क्षेत्र, नगर र गाउँ समितिको अधिवेशनका लागि नेता कार्यकर्ता दौडधूपमा छन् । कास्कीमा पनि कांग्रेसका सबै जसो नेताहरु चुनावी रणनीति बनाउने र आफ्नो अनुकुलकालाई क्षेत्रीय प्रतिनिधि हँुदै माथिल्लो जिम्मेवारीमा ल्याउने कसरतमा छन् । गाउँ र नगरको अधिवेशन माघ १५ गते शुक्रवार हुँदैछ । यसका लागि सबै नेता कार्यकर्ता आफ्नै गाउँ र नगरमा बढी केन्द्रित भएका छन् । पार्टीको क्रियाशील सदस्य रहेकाहरुले मात्र नेतृत्व चयन प्रक्रियामा भाग लिन पाउने भएकोले क्रियाशील सदस्य वितरणमा जिल्ला कार्यसमितिका सीमित पदाधिकारीहरु संलग्न रहेको बताइन्छ । केही गाउँ र नगरका वडाबाट कांग्रेसको जिल्ला समितिको महत्वपूर्ण पदमा आउन चाहनेहरुको सदस्यता हटाइएको र केही ठाउँमा स्थानान्तरण नगरिएकोले कतिपय आकाक्षीको पार्टीमा जिम्मेवारी लिने बाटो बन्द भएको छ । तर कतिपय गाउँ र वडामा भने नयाँ सदस्यहरु थपिनेक्रम माघ १४ अर्थात बिहीबारसम्म पनि जारी छ । कास्की कांग्रेसको समितिमा रहेका केही पदाधिकारीले आफ्ना अनुयायीलाई मात्र पार्टीमा आउन दिने र आफूसंग असहमत राख्ने वा नेतृत्वमा आउन सक्ने क्षमता भएकाको बाटो बन्द गर्ने खेल खेलिरहेका छन्। कास्कीमा सभापतिको उम्मेदवार भएर चर्चामा आएका महासमिति सदस्य देवराज चालिसेको नाम समेत क्रियाशील सदस्यको सूचीमा नभएपछि बिहीबार बिहानमात्र चालिसेको नामलाई छुट सदस्य भन्दै केन्द्रले पठाएको छ । चालिसेको नाम संगै क्रियाशील सदस्यको फाराम समेत नभरेका दर्जनौं व्यक्तिको नामावली केन्द्रले पठाएपछि खैलाबैला नै मच्चिएको थियो । १२औं महाधिवेशनमा पार्टीको जिल्ला सचिवका प्रत्यासी गंगाधर पराजुलीको नाम समेत सम्बन्धित क्षेत्रमा नआएपछि धेरै नेता कार्यकर्ता अचम्ममा परेका छन् । पूर्व महामन्त्री तारानाथ रानाभाट लगायतका केही नेताले क्रियाशील सदस्यको नामावलीमा भएको त्रुटी सच्याउन जिल्ला र केन्द्रका निर्वाचन अधिकृतहरुसंग माग गरेपनि उनीहरुले पार्टीको जिल्लाले गरेको निर्णयलाई नै आफूहरुले कार्यान्वयन गरेको भन्दै पन्छिएक थिए । कास्कीका निर्वाचन अधिकृत खिमराज पौडेल पनि जिल्लाका सीमित व्यक्तिसंग मात्र बसेर उनीहरुकै इसारामा काम गरिरहेका छन् । उनीसंग त्रुटि सच्याउन आग्रह गरेपनि निरीहपन मात्र देखाउने गरेको नेविसंघका नेता गोपाल गुरुङले बताए । गुरुङको पनि ढिकुरपोखरीमा क्रियाशील सदस्य हुनुपर्नेमा छुटाइएको छ । गुरुङले जिल्ला समितिमै रहेका केही पदाधिकारीले आफूहरुलाई समस्या पर्ने सम्भावना देखेपछि जिल्लाको विभिन्न ठाउँका क्रियाशील सदस्यहरुको नाम छुटाएको बताए । निर्वाचनको अघिल्लो दिन पनि कास्की कांग्रेसको कार्यालय वेवारिसे जस्तै देखिएको थियो । निर्वाचन समिति र सचिवालयको नाममा पार्टीका कार्यालय सचिव भगवान ...ले मात्र सदस्यहरुको नामावली सम्बन्धित ठाउँमा पठाउने काम गरेको देखिन्छ । निर्वाचन अधिकृत बनेर आएका पौडेल भने १÷२ जना जिल्लाका नेतासंग हिंड्ने र समस्या आएमा भागेर पार्टी कार्यालय नजिकैको होटलको कोठामा पुग्ने गरेका छन् । सदस्यताको नामावली सम्बन्धमा त्रुटि भएको गुनासो लिएर गाउँ–गाउँका कार्यकर्ता कार्यालयमा पुगेपनि उनीहरुको गुनासो सुन्ने जिम्मेवार व्यक्ति नहुँदा चिन्तित देखिन्थे । यस्तै समस्या र गुनासो सुनेपछि जिल्ला सभापति यज्ञबहादुर थापा दिनभर ज्वरो आएर विरामी परेको भनि घरमै आराम गरेर बसेका थिए । ‘मैले ज्वरो आयो भनेर नाटक गरेको होइन, साच्चै बिरामी भएर घरमै सुतेको छु ।’–गुनासो गर्ने नेता कार्यकतालाई सभापति थापाको जवाफ  थियो । पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता लगायत केही विषयमा विवाद भएमा र त्रुटि भएमा सम्बन्धित निर्वाचन अधिकृतले पार्टीको सम्बन्धित समिति र नेताहरुको बैठक गरेर निर्णय गर्ने अधिकार निर्वाचन अधिकृतलाई दिएको छ । तर कास्कीका निर्वाचन अधिकृत पौडेलको कमजोर कार्यशैली र जिल्ला समितिका पदाधिकारीहरु को स्वार्थ अनि वेवास्ताका कारण कार्यकर्ताको असन्तुष्टिलाई सम्बोधन गर्नेतर्फ कुनै पहल भएको छैन । जसका कारण थुप्रै नेता कार्यकर्ताले पार्टीको विभिन्न तहको जिम्मेवारी लिन सक्ने क्षमता र सम्भावना भएपनि उनीहरु त्यसबाट बञ्चित हुन पुगेका छन् भने कतिपयले मताधिकारको सुविधा समेत नपाउने भएका छन् ।




Post a Comment

 
Top