0
गोल्डेन न्यूज संवाददाता
कास्की भदौरे तामागी गाविसको वडा नं. ७ तामागीस्थित कुद्मीडाडा गाउँमा एक महिला स्वास्थ्यकर्मी कुटपिटको प्रयास भएको छ । ती स्वास्थ्यकर्मीले खाएको भाँडा नमाजेको भन्दै उनीमाथि आक्रमणको प्रयास भएको हो । भदौरेतामागी गाविसको उप–स्वास्थ्यचौकीमा कार्यरत अनमी अम्बिका सुनारलाई ०७२ पुस २८ गते स्थानीय उपस्वास्थ्य चौकीमै अनमी पोष्टमा कार्यरत हरिकुमारी गुरुङको छोरा बृटिस आर्मीमा भर्ती भएको खुशीयालीमा आयोजित पार्टीमा उनीमाथि आक्रमणको प्रयास भएको थियो । घटनाक्रम अनुसार सोही गाउँकी ठकुर शोभा गुरुङको होटलमा आयोजित पार्टीमा स्वास्थ्य केन्द्रमा कार्यरत सबै कर्मचारीहरुलाई बोलाइएको थियो । सबै कर्मचारीलाई निम्ता गर्नेक्रममा अम्बिकालाई पनि बोलाइएको थियो । उनले त्यहाँ सहभागी भएर खाना खाइन र भाँडा भने माझिनन् । आफूले खाएको भाँडा नमाझेको भन्दै होटलधनी ठकुरशोभा गुरुङले गालीगलौज र अपमानित र आक्रमणको समेत प्रयास गरेका थिए । आक्रमणको प्रयास भएपछि पार्टीमा सहभागी अन्यले छुटाएका सथिए । उक्त घटनापछि पीडित अम्विकाले प्रहरीमा उजुरी दिएकी छन । अपमानित गर्दै आक्रमणको प्रयास गर्ने ठकुरशोभा गुरुङ स्वयं महिला स्वास्थ्य स्यंसेविका हुन् । उनीहरुलाई तालिम दिन अम्विका उप–स्वास्थ्यचौकीमा गएकी थिइन । त्यसैबेला आयोजित पार्टीमा सहभागी अम्विकालाई गुरुङले खाना खाएको भाँडा माभ्mन भनेकी थिइन । ‘खाएको भाँडा नमाझेको भन्दै मलाई गुरुङले अपशब्द प्रयोग, अपमान र आक्रमणको समेत प्रयास गरिन् ।’–पीडित अम्विकाले भनिन्–‘होटल सञ्चालिका ठकुरशोभाका श्रीमानले समेत तँ पढेर ठूली भएपनि कामीको छोरी कमिनी होस्, तैले खाएको भाँडा तँ आफैले माझनुपर्छ भन्दै हातपात गर्न खोज्दा अहेब हरिबहादुर राइले छुट्टाउनुभयो ।’ 
यसैबीच उक्त घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र 
(इन्सेक) र शान्तिका लागि नागरिक समाज सञ्जालले गम्भीर ध्यानाकर्षण भएको छ । नागरिक समाजको सञ्जाल कास्की संयोजक सरला कुमारी पाण्डे र इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका संयोजक शिब खकुरेलले संयुक्त विज्ञप्ति जारी गरि उक्त घटनाले मानव अधिकारको उल्लंघन भएको भन्दै २१ औं शताब्दीमा आईपुग्दा समेत भएका यस प्रकारका घटनाको घोर निन्दाजनक र र भत्सर्ना गर्न लायक भएको जनाएको छ । विज्ञप्तिमा भनिएको–‘कुनैपनि ब्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय, वा शारीरिक अवस्थाको आधारमा कुनैपनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छूवाछूत गर्न पाउँदैन ।’
‘जातीय आधारमा छूवाछूत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव गर्न पाइने छैन भन्ने नेपालको संविधान २०७२ को धारा २४ मा उल्लेखित जातीय छूवाछूत तथा भेदभाव विरुद्धको हकको विपरीत र नेपाल पक्ष राष्ट्र भएको सबै प्रकारका जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी १९६५ को मूल्य मान्यता र भावना विपरित  जातीय आधारमा गरिएको यस प्रकारको निन्दनिय कार्यको सत्यतथ्य छनबिन गरी दोषीहरुलाई कानूनी दायरामा ल्याई पीडितलाइ न्याय दिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’–जारी विज्ञप्तिमा भनिएको छ ।



Post a Comment

 
Top