0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका कार्यालयमा घर नक्सा पास रोकिंदा चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा करीब चार करोड रुपैयाँ नोक्सान भएको छ । गत वैशाख १२ गतेको विनाशकारी महाभूकम्प सँगै पोखरा उपमहानगरपलिका कार्यालयले घर नक्सापास रोक्का गर्दा यो नोक्सान भएको हो ।  नगरको क्षेत्र हेरी न्यूनतम ९ रुपैयाँ र अधिकतम १६ रुपैयाँ प्रति स्क्वायर फिट घर नक्सा पास हुँदै आएको थियो । नगरपालिकाले यो वर्ष थप गरेका १० गाविसका ११ वटा वडाको हकमा भने न्यूनतम ४ दशमलव ५ रुपैयाँ प्रति स्क्वायर फिटका दरले नक्सापास गर्दै आएको छ । यो दर साविकका वडाका घर नक्साको ५० प्रतिशत कम दररेट हो । गत वर्ष नगरपालिकाले नक्सापासबाट मात्र ५ करोड रुपैयाँ  आम्दानी गरेकोमा यो वर्ष ५० हजार रुपैयाँ पनि आम्दानी नभएको कर अधिकृत शिवहरि शर्माले जानकारी दिए । ‘पाँच महिनाको अवधिमा नै ४ करोड रुपैयाँ लस भयो, वेलैमा नक्सापास खुलाएको भए यो पैसा क्यास गर्न सकिन्थ्यो र नगरको आय बढ्थ्यो’–कर अधिकृत शिवहरि शर्माले भने ।  गत वैशाख महिनादेखि रोकिएको नक्सापासको काम गत कार्तिक महिनादेखि खुलेपनि नक्सापास गर्न नगरपालिकामा सेवाग्राहीहरु विगतको तुलनामा निकै कम आएको कर अधिकृत शर्माले बताए । कार्यालयले गत ५ महिनाको अवधिमा ३ करोड ४४ लाख ९१ हजार ३ सय ३७ रुपैयाँ मात्र एकीकृत सम्पत्ति कर संकलन गरेको छ । यो अवधिमा एकीकृत सम्पत्तिकर तिर्ने करदाता ३२ हजार २ सय ४० जना रहेका छन् । त्यस्तै घरजग्गा कर बापत ३ करोड २६ लाख १७ हजार ३ सय १७ रुपैयाँ संकलन भएको छ । यो कर तिर्ने करदाता संख्या ४ हजार २ सय ७४ जना करदाता रहेका छन् । त्यसैगरी मालपोत भूमिकर १५ लाख ५२ हजार १ सय ७२ रुपैयाँ र व्यवसाय करवापत ६४ लाख ५१ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको कर अधिकृत शिवहरि शर्माले जानकारी दिएका छन् । कार्यालयले यो पाँच महिनामा आन्तरिक आयतर्फ ११ करोड ४३ लाख २६ हजार ३ सय ३८ रुपैयाँ, राजस्व वाँडफाँडतर्फ २५ लाख ७४ हजार १ सय १ रुपैयाँ, बाह्य आम्दानीतर्फ १३ करोड १२ लाख ६० हजार ६ सय ६५ रुपैयाँ आम्दानी गर्न सफल भएको कर अधिकृत शर्माले बताए । चालु आर्थिक वर्ष श्रावण महिनादेखि पौष मसान्तसम्म पोखरा उप–महानगरपालिका कार्यालयको कुल आम्दानी २४ करोड ८१ लाख ६१ हजार १ सय ४ रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए । यता पोखरा उप–महानगरपालिका कार्यालयले एकीकृत सम्पत्ति कर तिर्ने सयम तीन महिना थप गरेको छ । अब एकीकृत सम्पत्ति कर तिर्ने समय चैत्र मसान्तसम्म थप भएको पोखरा उपमहानगरपालिका कार्यालयले जनाएको छ । घर जग्गा र मालपोत करबाहेक खाली जग्गा हुने नगरवासीले पनि यो कर तिर्नुपर्नेछ । कर तिर्ने नागरिकको लागि नगरपालिकाले तोकेको समयसम्म १० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । यसअघि गत साउन १ गतेदेखि पौष मसान्तसम्म एकीकृत सम्पत्ति कर तिर्ने समय तोकेको नगरपालिका कार्यालयले सेवाग्राहीको अत्याधिक भीड बढेका कारण एकीकृत सम्पत्ति कर तिर्ने समय थप गरेको हो । पोखरामा एकीकृत सम्पत्ति कर लागू भएपछि ठूला करदातालाई धेरै गुणा फाईदा पुगेको छ भने साना करदातालाई केही बोझिलो भएको महसूस गरिएको छ । विगतमा पोखराको मणिपाल शिक्षण अस्पतालले वार्षिक ४५ लाख रुपैयाँ कर तिर्दै आएकोमा एकीकृत सम्पत्ति कर लागू भएपछि जम्मा ३ लाख कर तिरे उम्कने भएको छ । त्यस्तै किसिमका ठूला करदातालाई एकीकृत सम्पत्ति करले फाईदा पुरर्याएको नगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए । विगतका वर्षहरुमा भन्दा यसपालि मालपोतको मूल्याङ्कन भन्दा ५० देखि ७० प्रतिशत कम कर मूल्याङ्कन नगरपालिकाले गरेका कारण करको दरमा संकुचन आएको उनले बताए । नगरपालिकामा गत वर्षे थप भएका १० वटा गाविसको एकीकृत सम्पत्ति कर तिर्ने सेवाग्राहीलाई भने संवन्धित वडामा व्यवस्था गरेको छुस्के डटकमले उल्लेख गरेको छ ।



Post a Comment

 
Top