0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका उप–प्रधानमन्त्री कमल थापाले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण राष्ट्र निर्माणको अभियान भएको बताएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पोखरामा आयोजना गरेको पश्चिमाञ्चल क्षेत्रको आव २०७२÷०७३ को अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको मंगलबार उद्घाटन गर्दै उनले नवनिर्माण अभियान चलाएर देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए । उनले भूकम्पले जनधनको क्षतिसँगै सांस्कृतिक, पुरातात्विक संरचना पनि ध्वस्त भएको भन्दै भूकम्पले दिएको पीडालाई भुलेर, अवसरका रुपमा लिनुपर्ने बताए । संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका थापाले स्थानीय निकायको निर्वाचन छिटै हुने बताएका छन् । थापाले स्थानीय निकायको निर्वाचन छिटै हुने भन्दै स्थानीय निकायका प्रमुखहरुलाई तयार रहन निर्देशन दिए । उनले निर्वाचनबाट आउने जनप्रतिनिधि लाई सक्षम र सवलरुपमा स्थानीय निकाय हस्तान्तरणका लागि तयारी गर्न निर्देशन दिए । उनले भने–‘जनप्रतिनिधि आउँदा आफ्नो जिम्मेवारी सहजरुपमा सञ्चालन गर्न सक्ने गरी स्थानीय निकायको व्यवस्थापकीय र कार्यक्रम तयार गर्नु होस्,’ उपप्रम थापाले भने,–‘मन्त्रालयले नयाँ कार्यक्रम सहित आउँदै छ ।’ ‘कुल बजेटको ८० अर्ब रुपैयाँ खर्च गर्ने जिम्मेवारी स्थानीय विकास मन्त्रालयको छ’,उनले भने–‘जिविस, नगरपालिका र गाविसलाई आफ्नो जिम्मेवारी पूरा गरी लक्ष्य प्राप्तिमा योगदान दिन आग्रह गर्छु ।’ जनप्रतिनिधि बिहीन भएको अवस्थामा स्थानीय निकायको सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै उनले कर्मचारीको प्रशंसा गरे ।  अर्को प्रसङ्गमा उपप्रम थापाले संविधानका केही कमजोरी भए पनि देश नयाँ चरणमा प्रवेश गरेको भन्दै अब आर्थिक विकास र सुशासनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सशस्त्र द्वन्द्व र राजनीतिक संक्रमणकालका नाममा २ दशक समय त्यसै खेर गएको भन्दै उनले अब आर्थिक विकास, सुशासन र आर्थिक समृद्धि प्राथमिकतामा राखेर बढ्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुमित्रा अमात्यले अबको अर्थतन्त्र डिजितल अर्थतन्त्र हुनु पर्न बताइन् । उनले स्थानीय निकायले उर्जा र जलविद्युतमा विशेष प्रथामिकताका योनजा अगाडि बढाउनु पर्ने बताइन् ।
कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सचिव माधव प्रसाद रेग्मी, उपसचिव अमृत लम्साल लगायतले कार्यक्रमका बारेमा प्रस्ट पारेका थिए । गोष्ठीमा पश्चिमाञ्चलका १६ जिल्लाका स्थानीय विकास अधिकारी, प्राविधिक कार्यालयका इन्जिनियर, नगरपालिकाका कार्यकारी प्रमुखहरुको सहभागिता छ । गोष्ठी माघ ८ गतेसम्म चल्ने बताइन्छ ।

Post a Comment

 
Top