0
नेपाली काँग्रेसका स्थानीय नेताले पार्टीलाई गुठबन्दीबाट मुक्त गरी पुराना नेताको अनुभव र युवा नेताको ऊर्जालाई संयोजन गरी पार्टी चलाउन नेतृत्वलाई सुझाव दिएका छन् । काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा चारवटा प्रदेशमा भएको प्रदेशस्तरीय प्रशिक्षण तथा सुझाव सङ्कलन कार्यक्रममा सहभागी स्थानीय नेताले गुठबन्दीले आजित भएको भन्दै असन्तुष्टि र निरासासमेत व्यक्त गरेका हुन् । उनीहरूले पार्टी नीतिभन्दा नेता केन्द्रित हँुदै गएकाले नीतिप्रधान पार्टीको रुपमा विकसित गर्न पनि जोड दिएका थिए । पार्टीलाई छलछाम र मनोगत तरिकाले चलाउने गरिएको भन्दै विचार र परामर्शका आधारमा पार्टी चलाउने परिपाटी बसाल्नुपर्नेमा धेरैको सुझाव आएको प्रतिष्ठानका प्रमुख तथा पार्टीका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । “उहाँहरूमा सबैभन्दा धेरै चिन्ता गुटबन्दीको बारेमा पाइयो, यसको अन्त्य होस् भन्ने नै उहाँहरूको चाहना छ, साथै परिवर्तनलाई आत्मसात् गर्दै पार्टी हाँक्ने नीति तथा नेतृत्वको आवश्यकतामा पनि उहाँहरूले जोड दिनुभएको छ”, पौडेलले भने । उनले अहिलेको संविधान लोकतान्त्रिक समाजवादको भावनासँग नजिक रहेकाले यसको कार्यान्वयन गराउनु नै काँग्रेसले मूल कर्तव्य सम्झनुपर्छ भन्ने धारणा धेरैको पाइएको बताए । पार्टी विधानसम्मत नचलेकाले विधानअनुसार चल्नुपर्नेमा धेरैले ध्यानाकर्षण गराएको प्रशिक्षणमा सहभागी काँग्रेस नेता गगन थापाले जानकारी दिए । उनले भने, “संविधानअनुसार विधान र विधानअनुसार पार्टी चलाउनुपर्छ भन्ने धेरैको सुझाव छ, गुठबन्दीको विपक्षमा स्थानीय नेता खरोरुपमा उभिएको पाइयो ।” पार्टीलाई तलैदेखि समावेशी बनाउनुपर्ने सुझाव धेरैको आएको नेता थापाले बताए । उनले समावेशी र समानुपातिक कोटा पटकपटक एउटै व्यक्तिलाई दिनु यसको मर्मविपरीत भएको तर्क पनि आएको जानकारी दिए । प्रशिक्षणमा सहभागी अर्का नेता गुरुराज घिमिरेले कार्यकर्ताको योगदान, क्षमता र सक्रियताका आधारमा जिम्मेवारी दिन स्थानीय नेताले माग गरेको बताए । उनले पार्टीमा कुनै पनि जिम्मेवारी दिँदा कुनै न कुनै मापदण्ड बनाउनुपर्ने खाँचो धेरै कार्यकर्ताले औँल्याएको बताए । “पार्टीको महाधिवेशन नीतिभन्दा नेता केन्द्रित र व्यक्ति केन्द्रित भएकाप्रति पनि धेरैलाई चित्त बुझेको रहेनछ”, घिमिरेको भनाइ थियो । प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यको बुझाइमा आन्तरिक लोकतन्त्र कमजोर भएको महसूस धेरै कार्यकर्ताले गरेका छन् । उनका अनुसार हरेक नेता तथा कार्यकर्ताले पार्टीभित्र जवाफदेहिता, पारदर्शीता र सहभागिता खोजेका छन् । “त्यसबाहेक पार्टीभित्रको ६०÷४० को भाडबन्डा, महाधिवेशनको बेला एजेन्डाभन्दा नेताको चर्चा बढी हुनु राम्रो नभएको धेरै स्थानीय नेताको भनाइ छ,” आचार्यले भने । काँग्रेसका नेताभन्दा कार्यकर्ताले परिवर्तनको धेरै चाहना राखेको आफूले पाएको प्रतिष्ठानका विज्ञ सदस्य प्रताप पौडेलले बताए । उनले विधान कार्यान्वयन कडाइका साथ हुनुप¥यो, विधान उलङ्घन गर्नेलाई कारबाही हुनु प¥यो, पार्टीको अनुशासन समिति र संसदीय बोर्ड निर्वाचनबाट गठन गरी शक्ति र अधिकार सम्पन्न बनाउनु प¥यो, कार्यकारी पदका लागि उमेरको हदबन्दी तोकिनु प¥यो, पार्टीका सबै पदमा निर्वाचन हुनु प¥यो भन्नेलगायतका सुझाव आएको जानकारी दिए । काँग्रेसमा साधारण सदस्यको व्यवस्था भए पनि स्पष्ट अभिलेख नभएकोतर्फ पनि कार्यक्रममा सहभागीले नेताको ध्यानाकर्षण गराएका थिए । कृषि जलस्रोत र पर्यटनमार्फत मुलुकलाई सम्बृद्ध बनाउन सकिने, समाजवादलाई भुल्न नहुने, परराष्ट्रका बारेमा काँग्रेसले स्पष्ट नीति बनाउनुपर्ने तर्फ पनि स्थानीय नेताले सुझाव दिएको प्रतिष्ठानका सदस्य पौडेलले जानकारी दिए । काँग्रेसको प्रशिक्षण प्रतिष्ठानले गएको पुस ७ गतेदेखि ९ गतेसम्म प्रदेश नं ७ को धनगढीमा, २३ देखि २५ सम्म प्रदेश नं १ को विराटनगरमा, २८ गते देखि ३० गतेसम्म प्रदेश नंं ५ को पोखरामा र माघ २ देखि ४ गतेसम्म प्रदेश नं ४ को दाङमा प्रशिक्षण तथा सुझाव सङ्कलन कार्यक्रम भएको थियो । ती हरेक प्रदेशका कार्यक्रममा जिल्ला सभापति, क्षेत्रीय सभापति, समावेशीतर्फका महासमिति सदस्य गरेर सरदर ७० जना जति स्थानीय नेता सहभागी भएको प्रतिष्ठानका सदस्य पौडेलले जानकारी दिए । बाँकी प्रदेशमा पनि चाँडै नै प्रशिक्षण तथा सुझाव सङ्कलन कार्यक्रम गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । रासस


Post a Comment

 
Top