0
गोल्डेन न्यूज संवाददाता
कास्की दक्षिण भेगस्थित चण्डी माध्यमिक विद्यालयले आफ्नो ५२औं वार्षिकोत्सव एवम् ५४औं अभिभावक दिवसका अवसरमा विद्यालयका विभिन्न तह र कक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार एवम् सम्मान गरेको छ । विद्यालयका तर्फबाट विभिन्न अतिरिक्त क्रियाकलाप समेतमा प्रथम द्वितीय र तृतीय स्थान ओगट्न सफल विद्यार्थीलाई पनि उक्त अवसरमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक मित्रनाथ गर्तौलाले विभिन्न समस्याका बावजुद पनि विद्यालयमा राम्रो नतिजा ल्याउन गरिएको प्रयास प्रशंसायोग्य भएको बताए । सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षा वर्तमानको आवश्यकता भएको चर्चा गर्दै उनले विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिबृद्धिका शिक्षक, अभिभावक तथा सम्बद्ध व्यक्ति लाग्नुपर्ने बताए । विद्यालय निरीक्षक पदमराज आचार्यले माध्यमिक तहमा एउटा दरबन्दी नहुँदा पनि विद्यालयले राम्रो नतिजा ल्याएको बताउँदै समयको परिवर्तनलाई आत्मसात गरी समयसापेक्ष शिक्षा प्रदान गर्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले विद्यालयमा शैक्षिक गुणस्तर कायम गराउन निरन्तर प्रयास भएको बताउँदै विद्यलायको समग्र विकासका लागि शिक्षक, अभिभावक तथा सम्बद्ध निकाय र पक्षको सहकार्य अपरिहार्य हुनेमा जोड दिए । विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले विद्यालयको शैक्षिक तथा आर्थिक अवस्था बारे प्रकाश पार्दै विद्यालयलाई सुव्यवस्थित गर्दै गुणस्तरीय शिक्षा प्रदानका लागि निरन्तर प्रयास जारी रहेको बताए । कार्यक्रममा शिक्षा सेवी यज्ञप्रसाद आचार्य, सल्लाहकार समितिका रामचन्द्र पौडेल, शिक्षासेवी केशरप्रसाद निर्दोशी, रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका वासुदेव पौडेल शान्ति उदय उच्च मा.वि.का टेकनारायण गिरी, समाजसेवी मनोहर शर्मा, सदनकुमार महत, सोमबहादुर गुरुङ, लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा विद्यलायका विद्यार्थी अविशेक पौडेल लगायतका विद्यार्थीले आ आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए भने जनचेतना मूलक नाटक र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Post a Comment

 
Top