0
गोल्डेन न्यूज संवाददाता
कांग्रेस सभापति सुशिल कोइराला बाहेक शीर्ष तहकासहित तीन दर्जन बढी नेताहरु पोखराको एउटै कार्यक्रममा सहभागी भए । उनीहरुको सहभागिताले कार्यकर्ता उत्साही थिए । नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रतिष्ठानले पोखरामा आयोजना कार्यक्रममा उनीहरु सहभागी भएका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सभापति सुशिल कोइराला आउने चर्चा चलेपनि स्वास्थ्यको अवस्था देखाउँदै आएनन् । कार्यक्रममा कोइराला नआएपछि विभिन्न टिकाटिप्पणी भएका थिए । कोइराला नआउनुको कारण नबताइएपनि कार्यक्रममा सहभागी कार्यकर्ताहरुले सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेलबी तिक्तता बढ्दै गएकाले कोइराला सहभागी नभएको आशंका गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ नेता देउवा सहभागी भए । कास्की कांग्रेसको व्यवस्थापनमा भएको प्रशिक्षणमा प्रदेश नं. ४ अन्तर्गतका क्षेत्रीय सभापति, महिला महासमिति सदस्यहरुको सहभागिता छ । प्रशिक्षण आज बिहीबार समापन हुनेछ । 
प्रशिक्षणको उद्घाटनमा सहभागी कांग्रेसका नेताहरुले विगतका इतिहासलाई स्मरण गर्दै पार्टी र मुलुकलाई एकतावद्ध बनाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले कांग्रेसका अग्रजहरुले खेलेको भूमिका र राम्रा कामको सम्झना गरे । उनीहरुले मुलुकको हरेक परिवर्तन र महत्वपूर्ण काम तथा भूमिकामा कांग्रेसले नै नेतृत्व गरेको बताए । नेताहरुले २००७ सालमा पार्टीका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाले बनाएको अन्तरिम संविधान, २०४७ को संविधान बनाउँदा कृष्णप्रसाद भट्टराई, २०६३ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम संविधान र सुशिल कोइरालाको नेतृत्वमा २०७२ मा घोषणा भएको नयाँ संविधान स्मरण एवं प्रशंसा समेत गरे । पार्टी एकतामा मात्र जोड दिएका नेताहरुले आगामी कार्यदिशा बारे खासै जोड दिन सकेनन् । उनीहरुले भने–‘विगतको भूमिकालाई आत्मसाथ गर्दै आगामी दिनमा पनि पार्टीलाई एकढिक्का बनाइ मुलुकको नेतृत्व एवं संविधानको सफल कार्यान्यन गर्नुपर्छ ।’
नयाँ संविधान कस्तो भन्यो भन्ने विषयमा कांग्रेसका सबै नेताहरुको धारणा भने एउटै थियो । उनीहरुले भने–‘संविधान कांग्रेसको अवधारणा अनुसार उत्कृष्ट, लोकतान्त्रिक, समावेशी बनेको छ ।’ संविधानको कार्यान्वयनमा भने उनीहरुले अत्यन्तै चुनौती रहेको बताए । ‘संविधान निर्माणमा कांग्रेसको भूमिका अत्यन्तै राम्रो रहेकाले कार्यान्वयनको चरणमा पनि कांग्रेसले नै नेतृत्व एवं भूमिका खेल्नुपर्छ’–नेताहरुले भने । 
कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भने आरोप–प्रत्यारोप मै उत्रिए । देउवा भन्दा अघि बोलेका पौडेलले पार्टी एकताका लागि ६० र ४० को भगवण्डा अन्त्य हुनुपर्ने जोड दिंदा देउवाले भने त्यसको ठाडै प्रतिवाद गरे । रामचन्द्रको भनाइले निकै आक्रोशित बनेका देउवाले रामचन्द्रसंग प्रश्न गर्दै भने–‘६० र ४० को भगवण्डा अन्त्य हुनुपर्छ भन्ने अनि आफै एक कित्तामा बसेर काम गर्ने यस्तो पनि हुन्छ ? आफूले पार्टीलाई एकलौटी रुपमा संचालन गर्न हुँदैन भन्दा रामचन्द्रले सधैं विरोध गरेको र एक कित्तामा बसेर रामचन्द्रले काम गरिरहेको देउवाले आरोप लगाए । देउवाले यसो भनिरहँदा पार्टी उपसभापति पौडेल भने मुसुमुसु हाँसिरहेका थिए भने कार्यकर्तामा पनि हाँसोको फहरा छुटेको थियो ।   देउवाले पौडेललाई भने–‘सधैं ६० र ४० को विरोध गर्दै हिंड्नुहुन्छ । एक कित्तामा लागेर उपसभापति हुनुभयो । अब सभापतिमा आशा गर्नुभएको छ । यसैको विरोध गर्दै एक कित्तामा लाग्दा चिप्लिनुहोला नि !’ 
केही अघि पार्टी सभापति सुशिल कोइरालाले पोखरामा बोलेको प्रसङ्ग कोट्याउँदै नेता देउवाले सभापति कोइराला पार्टी चलाउन पूरै असफल भएको आरोप लगाए । उनले भने–‘पार्टीको नेतृत्व गर्ने व्यक्तिले नै पार्टी भित्र एकता भएन, पार्टी १ कांग्रेस २ भन्ने कुरा सुहाउँछ ?’ कार्यक्रममा धेरै नबोलेका शेरबहादुर देउवाले पनि नयाँ संविधान उत्कृष्ट बनेको, संशोधन गरि असन्तुष्टको माग सम्वोधन गर्न सकिने बताए । कांग्रेसले संविधान संशोधनको प्रस्ताव अघि बढाइसकेकोले त्यसैमा सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । पार्टीको आगामी महाधिवेशनका बारेमा भने देउवा नखुलेका उनले पार्टी र मुलुकलाई कुशलतापूर्वक हाँक्न सक्ने व्यक्तिले कांग्रेसको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने आगामी १३औं महाधिवेशनबाट आफूले नेतृत्व गर्ने आकांक्षा राखे । आफू सभापतिमा लड्ने भनेर सिधै भन्न नसकेका नेता पौडेलले पार्टीमा अब परिवर्तन आवश्यक भएको स्पष्ट पारे । ‘कांग्रेसले मुलुकमा धेरै परिवर्तन ग¥यो, धेरै अनुभव बोकेको छ । कुनैपनि कम्युनिष्ट पार्टीले बनाउन नसकेको र ७० वर्षदेखिको अधुरो काम नेपाली कांग्रेस नेतृत्वले नै ग¥यो ।’, पौडेलले भने–‘सधैंभरि एकै किसिमले पार्टी चल्न सक्दैन, नयाँ नेपाल र कांग्रेसलाई सशक्त ढङ्गले अघि बढाउन पार्टीभित्र परिवर्तन अपरिहार्य आवश्यक छ । सबै नेता कार्यकर्ताले पनि पार्टीमा परिवर्तन चाहेका छन् ।’
कांग्रेस पार्टी आफ्नो नीतिमा हिंडेको दावी गर्दै नेता पौडेलले आफ्नो एकल प्रयासमा अभिमुखीकरण र प्रशिक्षण अभियान लिएर हिंडेको बताए । ‘यस अभियानमा पनि भाँजो हाल्ने र खुट्टा तान्ने धेरै थिए तर त्यसलाई वेवास्ता गर्दै म अघि बढेको हुँ’, उनले भने–‘यो अभियानले कांग्रेशलाई सशक्त र शक्तिशाली पार्टी बनाउँछ, मुलुकलाई संवृद्धिको दिशामा अघि बढाउँछ ।’ 
कांग्रेसको नेतृत्वमा,कांग्रेसकै आदर्श, सिद्धान्त र अवधारणामा आएको संविधान विश्वकै सर्वोत्कृष्ट भएको नेता पौडेलले दावी गरे ।  उनले भने–‘९० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर जारी भएको संविधान कुनैपनि मुलुकमा छैन।’
अर्को प्रसङ्गमा नेता पौडेलले मुलुकको समस्या समाधानमा सत्ता पक्ष गम्भीर नभएको आरोप लगाए । प्रधानमन्त्री केपी ओली वार्ताबाट पन्छिन खोजेका र मधेशको आन्दोलन जारी रहेको अवस्थामा  कांग्रेसले नै अग्रसरता लिने नेता पौडेलले स्पष्ट पारे । कांग्रेस भविष्य सोच्न सक्ने, मुलुकमा संकट आउँदा बोल्न सक्ने र आवश्यक पर्दा काम समेत गर्न सक्ने पार्टी भएको भन्दै नेता पौडेलले मुलुकको वर्तमान समस्या समाधान गर्ने पनि कांग्रेस नै भएको बताए । 
कार्यक्रममा महामन्त्री कृष्ण सिटौलाले कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुने ठोकूवा गरे । ‘तपाई नेता कार्यकर्ता ढुक्क हुनुस्, महाधिवेशन तोकिएकै समयमा हुन्छ । वडा, गाउँ, क्षेत्र, नगर र जिल्लाको अधिवेशन समयमै सक्नुस् ।’–नेता सिटौलाले भने । ‘पार्टीमा देखिएका क्रियाशील सदस्यता विवाद कहिल्यै साम्य नभएको भन्दै उनले यो समस्या पार्टीको चुनौती भएको बताए । मुलुक र कांग्रेस भित्रको समस्यालाई ख्याल गरि पार्टी र नेतृत्व अघि बढ्नुपर्ने खाँचो औंल्याउँदै नेता सिटौलाले कांग्रेस भित्र एकता कायम गर्दै राष्ट्रिय एकताको खोजी गर्नुपर्नेमा जोड दिए । उनले भने–‘नेपाललाई सफल राष्ट्र बनाउन कांग्रेस एकतावद्ध र प्रतिवद्ध हुनुपर्छ ।’ सिंगो नेपाली र नेपाललाई एकतावद्ध बनाउन पनि कांग्रेस एक हुनुपर्ने उनले स्पष्ट पारे । 
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले संविधान राम्रा बनेपनि सबैलाई मिलाएर कार्यान्वयन गर्नु चुनौती भएको बताए । उनले हरेक प्रकारले मुलुक संवृद्धिको बाटोमा रहेको स्पष्ट पार्दै मुलुक संवृद्धिका लागि आपूmले भूमिका खेलेको र त्यसैको प्रतिफल आफूले हालै पाएको सम्मान भएको दावी गरे। उनले आफूले पाएको सम्मानलाई राष्ट्र र कांग्रेसले गर्व गर्नुपर्नेमा जोड दिए ।  
कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीभित्रको विकृति र कमजोरीलाई हटाई पद्धतिमा बसाल्नु अहिलेको चुनौती भएको बताए । उनले कांग्रेस नीतिमुखी भन्दा नेतामुखी, नेतामुखी भन्दा नातामुखी र नातामुखी भन्दा पनि बढी नाफामुखी भएको आरोप लगाए ।  अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारलाई कसैले ढाल्नु नपर्ने आफै ढल्ने दावी गरे । उनले पार्टी एक ढिक्का भएमात्र नयाँ संविधान कार्यान्वयन गर्न सजिलो हुने बताए ।
नेता तथा सांसद धनराज गुरुङले नेपाली कांग्रेस पार्टीलाई प्रधानमन्त्री केपी ओलीले समाप्त भयो भन्दै हिंडेको भन्दै कांग्रेसलाई हात्तिको संज्ञा दिए । उनले भने–‘कांग्रेस हात्ति हो । काम गर्नेक्रममा थाकेर अहिले आराम गरिरहेको छ । २÷४ दर्जन बाँदरहरुले हात्तिमाथि खेलिरहेका छन् । हात्ति उठेर काममात्र हल्लायो भने सबै बाँदरहरु ३ कोष पर भाग्नुपर्छ ।’ 
केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले संविधान निर्माण पछि जुन उत्साह हुनुपर्ने हो त्यो कांग्रेस पार्टी र नेपाली जनतामा नभएको भन्दै मुलुकमा देखिएको समस्या समाधानमा कांग्रेस नै अग्रसर हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले नयाँ संविधान प्रगतिशील दस्तावेज भएको भन्दै यसलाई कार्यान्वयन गर्न सबै नेता तथा कार्यकर्ता एक हुनुपर्नेमा जोड दिए । उनले ५ लाख बढी सक्रिय सदस्य भएको कांग्रेस पार्टीलाई सशक्त ढङ्गले अघि बढाउन जुझारु नेतृत्व आवश्यक भएको बताए । 
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, सचिव कृष्ण केसी, अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमका कार्यकारी निर्देशक मधु आचार्य, कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, क्षेत्रीय सभापति आइबहादुर गुरुङ, पर्वत सभापति लालकाजी गुरुङ, सभासद एवं केन्द्रीय सदस्यहरु इन्दिरा तिवारी, भीष्मराज आङदाङवे, जीवन परियार, लक्ष्मणबहादुर बस्नेत, रामकृष्ण यादव, शारदा पौडेल, तारानाथ रानाभाट, उदय सम्शेर राणा, प्रदीप पौडेल, गुरुराज घिमिरे, गोविन्द भट्टराई, राजन पन्तले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य तथा सभासदहरु शंकर भण्डारी, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, कमला पन्त,दीपक गिरी, अर्जुन जोशी, गोपालमान श्रेष्ठ, डा.चन्द्रमोहन यादव लगायतले व्यक्तिलाई होइन नीतिलाई विचार गरेर नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए ।











Post a Comment

 
Top