0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेस पोखरा उपमहानगर समितिको सभापति पदमा बजीरमान श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १३औं महाधिवेशनको क्रममा पोखरा उपमहानगर समितिको अधिवेशन यहि माघ १५ गते हुँदैछ । श्रेष्ठले केही कांग्रेस कार्यकर्ता र पत्रकारहरु माझ सोमबार औपचारिक रुपमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफूलाई पार्टीको जिल्ला तहका सबै जसो नेताको समर्थन रहने भन्दै श्रेष्ठले पार्टीका क्रियाशील सदस्यहरुको चाहना र अग्रज नेताहरुको शुभकामना र समर्थन कै कारण आफू उम्मेदवार बनेको स्पष्ट पारे । आफूलाई २०३६ सालदेखि निरन्तर कांग्रेसमा लागेर सबैजसो मोर्चामा लागिरहेको व्यक्तित्वको रुपमा पहिचान गराउदै श्रेष्ठले आप्mनो बुबा दुर्गामान श्रेष्ठलाई २०१५ सालमा कांग्रेस नेतृत्वको सरकारले सुकुम्वासी आयोगको अध्यक्ष बनाएको जानकारी दिए । त्यस पछि २०१७ सालमा राजा महेन्द्रको निरंकुश दमनपछि बुवाले लामो र कठोर जेल जीवन बिताएको र जेल यातनाकै कारण बुबाको मृत्यु भएको स्मरण गरे ।
आफ्ना काका सनकमान, दाजु पुलेन्द्रमान र भाई योगेन्दमानले पनि नेपाली कांग्रेस र प्रजातन्त्रको लडाइँमा सबै किसिमबाट सहयोग गर्दै आएको श्रेष्ठले स्पष्ट गरे ।

आफू पारिपारिक पृष्ठभूमिका साथै आम कांग्रेस कार्यकर्ताको चाहनाका कारण उम्मेदवार बन्न लागेको भन्दै श्रेष्ठले आफू सभापतिमा विजयी भएपछि गर्ने १० बुँदे कार्ययोजना समेत सर्वजनिक गरेका थिए । उनको कार्ययोजनामा कांग्रेसलाई सुदृढ बनाउन भौतिक रुपमा सुविधा सम्पन्न कार्यालय संचालन गर्ने, व्यवस्थित वेवसाइट निर्माण गर्ने, पोखरा नगर क्षेत्रभित्रका कांग्रेस नेता तथा कार्यकर्ताको अभिलेख व्यवस्थित गर्ने, पार्टीको भातृ संस्था र शुभेच्छुक संस्थाको संगठन सम्भव भएसम्म वडा तहसम्म पु¥याउने, प्रतिस्पर्धी दलसंग वैचारिक वहस गर्न सक्ने कार्यकर्ता बनाउन समसामयिक विषयमा प्रशिक्षण संचालन गर्ने लगायतका विषय समेटिएका छन् । 
योग्यता र क्षमताको आधारमा नेता कार्यकर्ताहरुलाई नगर क्षेत्रभित्र रचनात्मक जिम्मेवारी दिने तथा माथिल्लो तहमा कार्यकर्तालाई उपयुक्त जिम्मेवारी दिन सिफारिस गर्ने विषय समेत उनको कार्ययोजनामा छ । यसैगरी सहयात्री तथा प्रतिस्पर्धी राजनीतिक दलहरुसंग समन्वय र सहकार्य गरि कांग्रेसको भूमिकालाई सदैव नेतृत्वदायी बनाइराख्न प्रयत्न गर्ने विषयलाई पनि श्रेष्ठले प्राथमिकता दिएका छन् । विभिन्न राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा निरन्तर क्रियाशील रहेर अन्य महत्वपूर्ण काम समेत आफूले गरेको स्पष्ट पार्दैै उनले कांग्रेसजनहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग र पोखरा क्षेत्रमा रहेका ६ हजार ५ सय क्रियाशील सदस्यहरुको समर्थनबाट आफू अध्यक्षमा निर्वाचित हुने विश्वास व्यक्त गरे । पोखरामा विकास निर्माणसंग सम्बन्धित थुप्रै विषय अधुरो रहेको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको विमानस्थल व्यवस्थित बसपार्क, चक्रपथ निर्माण, फेवाताल संरक्षण, विभिन्न प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणका लागि राजनीतिक दलको तर्फबाट उपयुक्त भूमिका निर्वाह गर्न नेपाली कांग्रेसको नेतृत्व गम्भीर बन्नु पर्ने बतए । यसका लागि म सक्षम छु भन्ने लागेको छ श्रेष्ठले भने । हाल नेपाली कांग्रेको पोखरा–१३ का वडा सभापति रहेका श्रेष्ठले पोखरा उपत्यका नगरविकास समितिमा २ कार्यकाल  सदस्य रहेर काम गरेका छन् भने शैक्षिक र सामाजिक लगायतका क्षेत्रमा पनि उनी संलग्न छन् । कांग्रेसको पोखरा नगर सभापतिमा उम्मदवारी घोषणा गर्ने श्रेष्ठ दोस्रो व्यक्ति हुन् । यसअघि अघिल्लो निर्वाचनमा पराजित विमलबहादुर कार्कीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । यसैगरी सुवास कोइराला र सुवर्णजं केसीले पनि नगर सभापतिको उम्मेदवार बन्ने चाहना राखेको बताइन्छ । सोमबार आयोजित श्रेष्ठको उम्मेदवारी घोषणा कार्यक्रममा वडा कार्यसमितिका उपाध्यक्ष शरदकान्त सिग्देल र राजेन्द्र भण्डारी लगायतले बोलेका थिए ।




Post a Comment

 
Top