0
गोल्डेन न्यूज संवाददाता
स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष तथा आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बाँस्तोलालाई पितृ शोक परेको छ। उनका पिता पं. नुरप्रसाद बाँस्तोलाको ९२ वर्षको उमेरमा बिहीबार आफ्नै निवास पोखरा– ८ मा निधन भएको हो। उनी केही वर्ष अघिदेखि उच्च रक्तचापबाट पीडित थिए। स्व. बाँस्तोलाका तीन छोरा र एक छोरी छन्। प्रधान सम्पादक बाँस्तोला कान्छा छोरा हुन्। जेठा छोरा बलराम शर्मा बाँस्तोला शिवशक्ति उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष छन्। त्यस्तै माइला छोरा ओमराज बाँस्तोला पूर्व कर्मचारी हुन्। 
स्व. बाँस्तोलाको शवयात्रा शुक्रबार बिहान आठ बजे निवासबाटै हुने र पोखरा–९ शान्तिघाटमा अन्त्येष्टी गरिने भएको छ। बाँस्तोलाको कास्की जिल्ला पोखरा उप–महानगरपालिका वडा नम्बर ११ फूलबारीमा वि.सं.१९८१ आश्विन शुक्लपञ्चमीमा जन्म भएको थियो। उनी त्रिलोचन बाँस्तोला र माता पूर्णी बाँस्तोलाको कोखबाट माइला सुपुत्रको रुपमा जन्मिएका हुन्।
उनको विवाह कास्की आर्वा गाविसको अमलाचौर बस्ने गणपति उपाध्यायकी सुपुत्री घनकुमारीसँग भएको हो। बाँस्तोलाले प्राथमिक शिक्षा बेद तथा चण्डी (दुर्गासप्त सति) आफ्नै पिताको रेखदेखमा पिँढी शिक्षाबाट प्राप्त गरेका थिए। पछि विन्ध्यवासिनी संस्कृत पाठशालाका प्रसिद्व पण्डित शिवकुमार रेग्मीसँग लघु, कौमुदी, रघुबंश र अमरकोष समेत अध्ययन गरेका थिए। पोखराबाटै संस्कृत अध्ययन पूरा गरेपछि काठमाडौं रानीपोखरी संस्कृत पाठशालामा अध्ययन गरेका थिए। उनी पत्रकारिताका प्रेरक व्यक्ति थिए।
बाँस्तोला पण्डित कार्यमा समेत आफूलाई अब्बल सावित गर्दै आएका थिए। उनी पुराण वाचक र एक सफल कृषकसमेत थिए। उनले तरकारी खेतीमा तालिम लिएर तत्कालीन राजा श्री ५ महेन्द्रबाट प्रमाणपत्र प्राप्त गरेका थिए। त्यसपछि उनले तत्कालीन समयमै कृषि विकास बैंकबाट ऋण लिएर भैँसीपालन र तरकारी खेतीमा लगानी गरेका थिए।

Post a Comment

 
Top