0
नेपाली काँग्रेसको १३औँ महाधिवेशन नजिकिँदै जाँदा आइतबार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनसम्बन्धी निर्देशिका, २०७२ पारित गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले महाधिवेशनको तयारीका क्रममा निर्वाचन निर्देशिका पारित गरेको प्रवक्ता दीलेन्द्रप्रसाद बडूले जानकारी दिए । बैठकमा निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले निर्देशिकाका विषयमा जानकारी गराएका थिए । “बैठकले काँग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री डा रामशरण महतलाई ‘द बैंकर’ पत्रिकाले सन् २०१५ मा विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेकाले बधाई दिने निर्णय गरेको छ, भूकम्पपछिको पुनर्निर्माणमा आर्थिक सहायता जुटाउन नेतृत्वदायी भूमिका निर्बाह गरेकाले यो सम्मान दिएको हो, यो काँग्रेसनेतृत्वको सरकारको सफलता हो”–उनले भने । लन्डनवाट प्रकाशित हुने विश्वप्रसिद्ध पत्रिका ‘द फिनान्सियल टाइम्स’को सह(प्रकाशन ‘द बंैकर’ले आफ्नो ९०औँ वर्षगाँठको अवसरमा सन् २०१५ का लागि डा महतलाई भूकम्प पश्चात्को राहत एवम् पुनःनिर्माणका निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालनमा र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने क्रममा निर्वाह गरेको भूमिकाका लागि एसिया प्यासिफिक र विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा सम्मानित हुनुभएकोमा तत्कालीन सरकार र अर्थमन्त्रीलाई बधाइका साथै उक्त संस्थालाई धन्यवादज्ञापन गर्ने निर्णय गरिएको पनि उनले बताए ।
उपसभापति रामचन्द्र पौडेलले भारत भ्रमणका क्रममा विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेट गरी दुई देशका बीचमा उत्पन्न भएको आपूर्ति असहजतालाई सहज बनाउन अनुरोध गरिएको सन्दर्भमा बैठकमा छलफल भएको जानकारीसमेत उनले दिए । तराई मधेसका समस्या समाधानका लागि पार्टीबाट कार्यदलमा खटिएका केन्द्रीय सदस्य महेश आचार्यले बैठकमा मोर्चासँग भइरहेको वार्ताका विषयमा जानकारी गराएका थिए। वार्तामा सीमाङ्कन र भाषाका विषयमा छलफल भइरहेको नेता आचार्यले जानकारी दिएका थिए । मधेसी मोर्चाको बैठकमा सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) को अस्पष्ट विचार समस्या समाधानमा बाधक भएको निष्कर्ष समेत काँग्रेसले निकालेको छ ।  बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेललगायत नेताले आमरण र रिले अनशनरत नेता कार्यकर्ताका माग पूरा गरिने भएकाले अनशन तोड्न अनुरोध गरिने बताएका थिए । महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय कार्यालयमा आमरण अनशन र रिले अनशन बस्नेका कारण कार्यकर्ताको चहलपहल बढेको छ । जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यता सदर एवम् बदर गरिनुपर्ने माग गर्दै एउटै जिल्लाका फरक–फरक समूह अनशनरत छन् । दुर्गम जिल्ला डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय पुस १० गतेदेखि जिल्लाबाट सिफारिस गरिएका ८९३ वटै सदस्यता सदर गरिनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका छन् । “पुराना २७२ र नयाँ सिफारिस गरिएका ६२१ क्रियाशील सदस्यमध्ये सदस्यता छानबिन समितिले १८ जनाको सदर गरी अरू बदर गरेकाले सिफारिस गरिएका सबै सदस्य सदर गरिनुपर्ने माग गर्दै सभापति उपाध्याय आमरण अनशनमा बस्नुभएको हो, विधिअनुसार सदस्यता वितरण होस् भनी उहाँ अनशन बस्नुभएको हो”–डोल्पाका नेविसङ्घ अध्यक्ष जयश उपाध्यायले भने ।
कार्यालय परिसरमा सोलुखुम्बु जिल्लाका केन्द्रीय सदस्य बलबहादुर केसी र सभापति आङगेलु शेर्पाका छुट्टाछुट्टै समूह सदस्यता सदर र बदरको फरक फरक माग राखेर अनशनमा बसेका छन् । कैलाली, भक्तपुर र रौतहटका फरक फरक समूह पनि अलगअलग मागका साथ केन्द्रीय कार्यालय परिसरमा अनशनरत छन् । बैठकका लागि केन्द्रीय कार्यालयमा शीर्षनेता एवम् केन्द्रीय सदस्य प्रवेश गर्दा अनशनरत जिल्लाका असन्तुष्ट कार्यकर्ताले माग पूरा गरिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
 काँग्रेसले १३औँ महाधिवेशनका क्रममा माघ १५ गते गाउँ एवम् नगर, माघ २२ गते क्षेत्र र माघ २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । रासस 









Post a Comment

 
Top