0
गोल्डेन न्यूज संवाददाता
यहि माघ १५ गते हुने नेपाली कांग्रेसको पोखरा उप–महानगरपालिका कार्यसमितिको अधिवेशनका लागि बिमलबहादुर कार्कीले सभापति पदमा उमेदवारी घोषणा गरेका छन् । कांग्रेसको आशन्न १३औं महाधिवेशनको क्रममा नगर कार्यसमिति, वडा समिति र गाउँ समितिको निर्वाचन माघ १५ गते हुँदैछ । कार्कीले बुधवार आफ्ना शुभचिन्तक, कार्यकर्ता तथा संञ्चारकर्मीहरुमाझ आफ्नो उमेदवारी घोषणा गरेका हुन् । कांग्रेसको गाउँ, वडा तथा नगरपालिकाको अधिवेशन आउन नौ दिन बाँकी रहँदा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने कार्की पहिलो हुन् । यसका साथै पोखरा उपमहानगरपालिका वडा नं. १३ का कांग्रेस सभापति वजिरमान श्रेष्ठले पनि नगर समितिको सभापतिमा चुनाव लड्ने भन्दै तयारी शुरु गरेका छन् । यस बाहेक नगर समितिका सचिव धर्मदत्त ढुङ्गाना, नेविसंघका सुवर्णजंग केसी लगायतले पनि सभापति पदमा चुनाव लड्ने आकांक्षा प्रकट गरेका छन् । 
सभापतिका उम्मेदवार कार्कीले  पोखरा नगर क्षेत्रमा नेपाली कांग्रेस लथालिंग र भताभुंग भएकाले संगठनलाई बलियो बनाउन आफूले उम्मेदवारी घोषणा गरेको स्पष्ट पारे । यसअघि १२औं महाधिवेशनका क्रममा पनि पोखरा नगर कार्यसमितिको सभापतिमा उम्मेदवार बनेका कार्की विष्णुहरि बरालसंग झिनो मतले पराजित भएका थिए । यस पटक कार्कीले आफ्नो ६ बुँदे कार्ययोजना सहित निर्वाचनमा जाने तयारी गरेका छन् । उनले सार्वजनिक गरेको कार्ययोजनामा आफू पोखरा नगर सभापति भएपछि यथाशीघ्र कार्यालय खोली कार्यालय सचिवको व्यवस्था सहित व्यवस्थित कार्यालय संचालन गर्ने, सबै वडामा वडा कार्यसमितिको कार्यालय खोलिने, साधारण र क्रियाशील सदस्यको छुट्टा–छुट्टै अभिलेख राख्नुका साथै माथिल्लो तहबाट प्राप्त निर्देशनको पालना र तल्लो तहमा जानकारी गराउने पद्धति बसालिने उल्लेख छ । यसैगरि पार्टी कार्यकर्ता र शुभेच्छुक संस्थाका सदस्यहरुलाई आवश्यक प्रशिक्षण दिएर अन्य दलका कार्यकर्तासंग वैचारिक रुपमा सवालजवाफ गर्न सक्ने बनाइने उनको कार्ययोजना छ । 
“पोखरा भित्रका सबै कांगे्रस सदस्यहरु अब सामाजिक बिकासका लागि तयार रहनुपर्छ जुन आवश्यकता पनि हो”, उमेदवारी घोषणा गर्दै कार्कीले भने । उनले आफू कुनैपनि गुट उपगुटका पछि लागेर उमेदवारी घोषणा नगरेको भन्दै आम कांग्रेस कार्यकर्ताको विश्वासले आफूलाई नेपाली कांग्रेस पोखरा नगर कार्यसमिति सभापति बनाउने दावी गरे । 
पत्रकारको जिज्ञासामा उनले आफू सभापति भएको ३ दिनभित्रमै कार्यालयको स्थापना, कर्मचारीको नियुक्ति र टेलिफोन जस्ता काम गर्ने बताए । नपाली कांग्रेस पोखरा उपमहानगर क्षेत्र भित्र करिब ६ हजार ५ सय मतदाता (क्रियाशील सदस्य) रहेकाले उनीहरु सबैले आफूलाई सहयोग गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस पोखरा–११ का टंकराज बाँस्तोला र नेता सिकन्दर कुमार लामिछानेले कार्कीलाई सभापतिमा जिताउन आग्रह गरेका थिए ।




Post a Comment

 
Top