0
हरि पन्त/गोल्डेन न्यूज
पोखरामा जारी १४औं आहारारा गोल्डकप फुटवल प्रतियोगिताको फाइनल आज हुँदैछ । सहारा क्लवद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उपाधिका लागि चीरपरिचित मनाङ–मस्र्याङ्दी क्लव र विभागीय टीम त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुँदैछ। मनाङले प्रतियोगिताको क्वाटर फाइनलमा इण्डियन आर्मी गोर्खा ब्रिगेट टीमलाई २–० र सेमिफाइनलमा झापा–११ लाई ४–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै आर्मीले प्रि–क्वाटरमा
जाउलाखेल युथ क्लवललाई २–०, क्वाटरफाइनलमा थ्रीस्टारलाई १–० र सेमिफाइनलमा सहारा क्लवलाई १–० गोलले पराजित गरेको थियो । प्रतियोगितामा यी दुवै टोलीले गोलको सामना गर्नुपरेको छैन । मनाङ आहारारा गोल्डकपमा यसपटक सहित ९ पटक फाइनल पुगेको टीम हो भने आर्मी १ पटक २०६५ मा फाइनल पुगेको थियो, जसमा नेपाल पुलिससंग ५–० गोल अन्तरले पराजित भएको थियो ।  फाइनलमा यी दुई टोलीको भिडन्त पहिलो पटक हो भने सेमिफाइनलमा २ पटक खेलिसकेका छन्, जसमा दुवै पटक मनाङले बाजी मारेको थियो । आहारारा गोल्डकपमा मनाङ र आर्मीबीच २०६७ र २०७० मा आहा भेट भएको थियो । आहारारा गोल्डकपमा चौथो पटक उपाधि उचालेर इतिहास कायम राख्ने धूनमा मनाङ छ भने आर्मी पनि पहिलोपटक उपाधि उचालेर इतिहास रच्ने धूनमा छ । मनाङले यसअघि २०६०, २०६१ र २०६८ मा उपाधि उचलेको थियो भने आर्मीले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । नेपाली फुटवलमा मनाङ र आर्मीको इतिहास हेर्ने हो भने लामै छ, जसमा आर्मी भन्दा मनाङ हावी छ । तर १४औं आहारारा गोल्डकपमा आर्मी दरिलो टीम सावित भएको छ भने मनाङ केही कमजोर । आर्मीमा २ भरपर्दा खेलाडी बाहेक सेट टीम नै रहेको छ भने मनाङका ७ जना भरपर्दा खोलाडी छैनन् । मनाङका ७ जना खेलाडी राष्ट्रिय टीममा रहेकाले यसपटक पोखराको मैदानमा आउन पाएनन् । अहिले मनाङका भरपर्दा खेलाडी अनिल गुरुङ, ओलावाले र अनुभवी गोलरक्षक किरण चेमजोङ हुन् तर ओलावाले र चेमजोङ अघिल्लो खेलमा घाइते भएका छन् । ओलावालेले यसअघि नै ह्याट्रिक गरिसकेका छन् । उनी यसपटकको प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्ने निश्चित छ ।


मनाङका टीम प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ मनाङ खेलेको सबै प्रतियोगिताको उपाधि मनाङले नै जित्ने गरेको दावी गर्दैै यसपटकको आहारारा गोल्डकपको उपाधि पनि मनाङले नै जित्ने दावी गर्छन् । उनी भन्छन्–‘आर्मी पावर गेम खेल्ने टीम हो । आर्मीसंग हामीले पटक–पटक खेल्दै र हेर्दै आएका छौं । आर्मीसंगको सबै भेटमा हामी सफल भएका छौं । आहाराराको फाइनलमा पनि टेक्निकल गेम खेलेर आर्मीलाई पराजित गर्छौं ।’
यता, आर्मीका टीम प्रशिक्षक मेघराज केसी पनि यसवर्षको उपाधि जितेर इतिहास रच्न चाहेको बताउछन् । आर्मी टीम शक्तिशाली छ र जसरी भएपनि उपाधि जित्छ केसी दावी गर्छन् । उनी भन्छन्–‘मनाङलाई हामी कमजोर मान्दैनौं तर मनाङको टेक्निकल गेमलाई तोडेर यसपटकको उपाधि जित्छौं ।’ टीम प्रशिक्षकहरुले जून दावी गरेपनि घरेलु दर्शकको साथ भने मनाङलाई नै जाने निश्चित छ जुन यसअघिका प्रतियोगिताले पनि  सिद्ध गरेको छ । यसपटकको उपाधि विजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छ भने उप–विजेताले २ लाख ५१ हजार रुपैयाँ पाउनेछ । 

Post a Comment

 
Top