0
गोल्डेन न्यूज संवाददाता
बैदाम तामाङ्ग समाजको आयोजनामा २८५२औं सोनाम ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१६ हुने भएकोछ । तामाङ्ग समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभूषा, भाषा, संस्कार र संस्कृतिप्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्देश्यले मिस तामाङ्ग पोखरा २०१६ आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । प्रतियोगिता सौन्दर्य प्रतियोगिता मात्रै नभई तामाङ्ग संस्कार र संस्कृतिको प्रबद्र्धन हेतु गर्न लागिएको प्रतियोगिताका संयोजक जेसिका तामाङ्गले बताए । प्रतियोगितामा तामाङ्ग समुदायका १२ जना प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन ।  प्रतियोगीहरुमा पोखरा संगमटोलका मुना स्याङ्गबो तामाङ्ग, लेकसाईडकी जानुका तामाङ्ग, ढुङ्गेसाँघुका सोनी दोङ्ग तामाङ्ग, बगरका सोनी योञ्जन तामाङ्ग, शहिदचोकका बिपना लामा, लेकसाइड खहरेका मनिषा तामाङ्ग, लेकसाईड डिहिको पाटनका आस्मा तामाङ्ग, निमा तामाङ्ग, जिना तामाङ्ग, लेखनाथ रिठ्ठेपानीका उत्साह तामाङ्ग, लेकसाईडका डोल्मा लामा र गीता लामा रहेका छन् । प्रतियोगीहरुलाई १ महिना लामो ब्यक्तित्व बिकास सम्बन्धी तालिम दिइएको तालिम संयोजक सन्जय मल्लले जानकारी दिएका छन् । अहिले सम्म तामाङ्ग भाषा र संस्कृति सम्बन्धी धनबहादुर तामाङ्ग, सार्वजनिक भाषण कला बारे पोखरा एफ एमका स्टेशन इन्चार्ज सन्जय मल्ल, महिला अधिकारका बारेमा अधिवक्ता जुनाकुमारी गुरुङ्ग, महिला सशक्तिकरण बिषयमा मिना गुरुङ्ग, नेतृत्व विकासका बिषयमा बिग एफ एमका अध्यक्ष महेश भण्डारी, कास्की आवाज दैनिकका अध्यक्ष सरस्वती गुरुङ्ग, र्याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेल, तामाङ्ग धर्म तथा संंस्कारका बिषयमा मिन गुरु, ब्यवस्थापकिय दक्षताका बिषयमा ओम फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्ल, फिटनेसमा तमन्ना गुरुङ्ग तथा ट्राफिक नियमका बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका नायब निरीक्षक राजेन्द्र कार्कीले सहजीकरण गरेका थिए । माघ १६ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा डान्स इण्डिया डान्सका उपविजेता निर्मल तामाङ्गलाई सम्मान गरिने समाजका अध्यक्ष तामाङ्गले बताए । कार्यक्रममा इन्दिरा गोले गुरुङ्ग, निर्मल तामाङ्ग, शुक्र लामा र संजिव लामाको सांगीतिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताए ।





Post a Comment

 
Top