0
नयाँ संविधान घोषणा भएको चार महिनाभित्र संविधान संशोधन गरिए पनि यसबाट मधेशवादी दलहरु सन्तुष्ट हुन सकेका छैनन् । संविधान संशोधनले आफ्ना मुद्धालाई आंशिकरुपमा सम्बोधन गरेको भन्दै केही मधेशवादी नेताहरुले यसलाई सकारात्मकरुपमा लिएको प्रतिक्रिया दिएका छन् । तर नाकाबन्दी जस्तो अमानवीय कार्यलाई सघाउने, नाका अवरोध गर्ने काम जारी राखेका छन् । कम्तिमा उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरी जनतामाथि भइरहेको दुस्ख र पीडालाई संवेदनशील ढंगले बुझेर त्यसको निकास खोज्नुपर्ने हो । तर उनीहरुले राजनीतिक सुझबुझयुक्त जिम्मेवार व्यवहार एवं संवेदनशील चरित्र देखाउन सकिरहेका छैनन् । सीमांकनको नाममा मधेशलाई दुई प्रदेश बनाउने उनीहरुको हठ मुलुकको आवश्यकता हो कि दक्षिण छिमेकीको स्वार्थपूर्ण चाहना हो ? यसमा देशभित्रको जनमत के छ भन्ने कुरा पनि उनीहरुले ख्याल गर्नुपर्ने हो । पाँच–सात जिल्लामा आन्दोलन भएजस्तै अन्य जिल्लाको स्थिति त्यस्तो नभएको आन्दोलनकारी पक्षले बुझ्न जरुरी छ । अन्ततः जसले जे भने पनि जनमत नै निर्णायक कुरा हो । निर्वाचनको परिणाम पनि नस्वीकार्ने र जनमत पनि नमान्ने हो भने लोकतन्त्रमा यो भन्दा ठूलो मजाक अरु केही हुँदैन । चार–पाँच जिल्लामा आन्दोलन उठ्दैमा मधेशलाई दुई प्रदेश बनाउने हो भने अन्यत्र पनि आन्दोलन उठ्छ र उठ्नु पनि स्वाभाविक हुन्छ । त्यसैले यस्तो अव्यवहारिक मागमा हठ गरिराख्नु उचित हुँदैन । मधेशकेन्द्रित दलहरुको आन्दोलन एवं नाकाबन्दीले सबैभन्दा बढी आक्रान्त मधेश छ र त्यसको पीडा तराई मधेशका जनताले सबैभन्दा बढी भोगिरहेका छन् । यो यथार्थलाई आन्दोलनरत दलहरुले स्वीकार्न सक्नुपर्छ । तराईका उद्योग धन्दा, कलकारखाना, शिक्षण संस्थाहरु राम्ररी सञ्चालन हुन सकेका छैनन् । अहिले पनि नागरिक जीवन सहज हुन सकिरहेको छैन । काठमाडौंमाथि दबाब दिने उद्देश्य राखिएको आन्दोलनले सबैभन्दा बढी पीडा तराई मधेशमा थपेको छ । त्यसैले संविधान संशोधनले आफ्ना मुद्धालाई आंशिकरुपमा संबोधन गरेको भन्नेहरुले पुरानै शैलीको आन्दोलन जारी राख्नु कुनै पनि दृष्टिले उपयुक्त हुँदैन । छिमेकी मुलुक भारतले यतिबेला नेपालको घााटी आठ्याइरहेको छ । अहिलेको २१औंं शताब्दीमा नाकाबन्दी जस्तो अत्यन्तै अमानवीय, घृणित र बर्बरतापूर्ण व्यवहार गरिरहेको छ । यसमा मधेश केन्द्रित दलहरुले सघाउ पु¥याइरहेका छन् । भारतले एकातिर संविधान संशोधनको स्वागत गरेजस्तो र अर्कोतिर अन्य मागहरु पूरा गर्दै जानुपर्ने कुरा गरेर दोहोरो चरित्र देखाइरहेको छ । यस्तो चरित्र असल छिमेकीपन हुन सक्दैन । नेपाल मामिलामा उसको यतिविघ्न रुचिका पछाडि गहिरो स्वार्थ लुकेको अब सामान्य नागरिकले समेत बुझ्न थालेका छन् । यस्तो परिस्थितिमा भारतीय स्वार्थ पूरा गर्न उसको दलाली गर्नेहरु राष्ट्रवादी हुन सक्दैनन् । मधेशकेन्द्रित दलहरुसंग यदि नेपाली राष्ट्रवाद छ भने तत्काल आन्दोलन स्थगित गरेर भारतलाई नाकाबन्दी खोल भन्न सक्नुपर्छ । नेपाल राष्ट्र र नेपाली जनताले इतिहासमा यति ठूलो पीडा एवं दर्द कहिल्यै महसूस गरेका थिएनन् । अहिलेको नाकाबन्दी छिमेकी भारतको निधारमा लतपतिएको कलंकको कालो टीका हो । उसले यो टीका आफै धोइपखाली गरोस् । करोडौं नेपाली जनमनहरुले दशकौंसम्म नाकाबन्दीको यो पीडा भूल्न सक्ने छैनन् । नेपाली जनतामाथि भारतीय शासकवर्गले गरेको यस खालको अपराधलाई इतिहासको विषय मात्र नबनाएर भविष्यका लागि गतिलो शिक्षाका रुपमा ग्रहण गर्नुपर्छ । नेपालका राजनीतिक दल र सत्ताधारी वर्गमा मुलुकलाई नयाँ ढंगले माथि उठाउने आँट एवं जाागर पैदा गर्न जनता फेरि जाग्नुपर्ने बेला आएको छ ।

Post a Comment

 
Top