0
गोल्डेन न्यूज संवाददाता
बङ्गलादेशमा जारी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसोसिएट सदस्य राष्ट्र आयरल्यान्डको सामना गर्ने भएको छ। बङ्गलादेशको फल्तुल्लाह स्थित खान साहेब ओसमान अलि रङ्गशालामा आज शनिबार नेपालले दोस्रोपटकक्वार्टरफाइनलमा पुग्ने लक्ष्यका साथ आयरल्यान्डको सामना गर्ने भएको हो। यसअघि सन् २००० मा पहिलो पटक यु–१९ विश्वकपमा सहभागी हुँदा नेपाल दोस्रो चरणमा पुगेको थियो। 

नेपालले आयरल्यान्डलाई पराजित गरेमा नेपालको दोस्रो चरणमा प्रवेश गर्ने सपना भने साकार हुनेछ। हिजो बिहीबार भएको खेलमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई प्रबल बनाएको थियो। त्यस्तै सन् २००६ मा श्रीलङ्कामा सम्पन्न विश्वकपमा नेपालले न्युजिल्यान्डलाई नै एक विकेटले पराजित गर्दै प्लेट च्याम्पियनसीप उपाधि उचालेको थियो। न्युजिल्यान्ड यु–१९ विश्वकपमा उपविजेतासमेत भइसकेको छ। यसअघि न्युजिल्यान्ड सन् १९९८ मा भएको विश्वकप फाइनल खेलमा इङ्ल्यान्डसँग ७ विकेटले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो। मलेसियामा गत अक्टोबरमा भएको आइसिसी उन्नाइस वर्षमुनिको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको थियो। विश्वकपमा प्रत्येक समूहको शीर्ष दुईभित्र पर्ने टोली अघिल्लो चरणका लागि छनोट हुने प्रावधान छ। 

विभिन्न १६ टोली सहभागी विश्वकपमा नेपाल भने समूह ‘डि’ मा परेको छ। जारी प्रतियोगितामा नेपाल दुई अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने समूह ‘डि’ मा नै रहेको आयरल्यान्ड अङ्कविहीन हुँदै लिगको चौथो स्थानमा छ। त्यस्तै, शीर्ष दुई अङ्क नै जोडेको भारत लिगको पहिलो स्थानमा छ भने न्युजिल्यान्ड लिगको तेस्रो स्थानमा छ। न्युजिल्यान्डले पनि अङ्क जोड्न सकेको छैन। समूह ‘डि’ मा रहेका सबै टोलीले समान एक–एक खेलेका छन्। बिहीबार नै भएको खेलमा भारतले आयरल्यान्ड लाई ७९ रनले पराजित गरेको थियो।

Post a Comment

 
Top