0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकामा दोस्रो पटक कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका झलकराम अधिकारीले तत्काल सुधारको ३३ बँुदे कार्ययोजना सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलन गरी उनले शुक्रवारबाटै लागू हुने गरी तीन महिना भित्र सम्पन्न गर्ने गरी सुधारका कार्ययोजना सार्वजनिक गरेका हुन् । तत्काल सुधारको कार्ययोजना अन्तर्गत उनले भूकम्प पछि रोकिएको नक्सा पासलाई पहिलो प्राथमिकतामा पारेका छन् । उनका अनुसार घर नक्सा शाखा, प्राविधिक शाखा र कर शाखाको पुनःसंरचना गरिनुको साथै विद्युतीय टोकन सिस्टम जडान गरी करदाता मैत्री संरचना वनाईने उल्लेछ छ । करदाताले तत्काल व्यवस्थित सेवा पाउने गरी ४५ दिन भित्र यो काम गरिने उनले जनाएका छन् । त्यस्तै नक्सा शाखाका सबै घर नक्शाहरुलाई डिजिटलाईज गरि तीन महिना भित्र विद्युतीय अभिलेखमा रुपान्तर गरिने उनको सुधार कार्ययोजनामा उल्लेख छ । पहिलो चरणमा कम्तिमा ५ वडाको घर नक्सा पासलाई पूर्ण अनलाईन सिस्टममा लैजान आवश्यक तयारी गर्ने उनले जनाएका छन् ।

अधिकारीका अनुसार तीन दिन भित्र नगरपालिकामा थपिएका ११ वडामा एकीकृत सम्पत्तिकर संकलनको व्यवस्था मिलाउने, नगरपालिकाको सूचना व्यवस्थापन, प्रत्येक शाखाको क्षतिपूर्ति सहित नागरिक वडापत्र तयार गरी दुई महिना भित्र लागू गरिनेछ । तालिम गोष्ठीका नाममा होटलमा पैसा खर्च गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्दै नगरपालिकाबाट संचालन हुने सबै प्रकारका तालिम, गोष्ठी संचालनका लागि नगरपालिकामा क्षमता विकास केन्द्रको स्थापना गर्ने उनले बताएका छन् । कार्यकारी अधिकृत अधिकारीले सार्वजनिक गरेको ३ महिने सुधार कार्ययोजनामा मुख्यतः क्षमता विकास केन्द्र, महत्वपूर्ण सडक चोकमा नगरपालिकाको सूचना बोर्डको स्थापना गर्ने, पत्रकारिताको स्थापना गर्ने, संस्थागत पेश्की घटाउने, प्लाष्टिक निषेधित नगरपालीका बनाउने, ल्याण्डफिल्ड साइटमा काञ्जि हाउस हुने, भुस्याहा कुकुर नियन्त्रण छाडा चौपाय नियन्त्रण गर्ने, फोहोर व्यवस्थापनका लागि नगरपालिकाले वडा समितिहरुसँग समन्वय गरि सिसि क्यामरा राख्ने र फोहोर फाल्नेलाई कडा कार्वाही गर्ने, नगरपालिकाको प्रोफाइल तयार गर्ने साथै ३ वटा सार्वजनिक शौचालयको निर्माण गर्ने, सार्वजनिक जग्गाको एकीकृत लगत तयार गर्ने, सबै वडाका खुल्ला क्षेत्रलाई संरक्षण गरिने जनाइएको छ । 
यस्तै फेवाताल फुटट्रयाक तथा साईकल ट्रयाकको सम्भाव्यता अध्ययन, साईकल लेनको कार्यान्वयन तत्कालै सुरु गरिने, फेवाताल वरिपरी सडक सौर्य वत्ती जडान गरिने, हाल निर्माण भएका सौर्यवत्तीको नियमित मर्मत सम्भार गरिने लगायतका काम उनको तत्काल सुधार योजनामा परेका छन् ।
यस्तै कार्यकारी अधिकृतले सार्वजनिक गरेको कार्ययोजनामा एनजिओ डेस्क गठन गरि सुचना केन्द्रको रुपमा विकास गर्ने, सुचकको विकास गर्ने र उपलब्धिको आधारमा दण्ड, पुरस्कारको संस्थागत गर्ने, संगठनको पुनः संरचना गर्ने र टोलफ्रि नम्बर जडान गरिने रहेका छन् । 
यस्तै पोखराको बगरमा रहेको बसपार्कलाई १ महिनाभित्र बाटुलेचौर वा लामाचौरमा स्थानान्तरण गरिने छ । त्यस्तै गरी अतिक्रमण रोकिने, होडिङ्गबोर्डको व्यवस्थापन र १२ वटा बस प्रतिक्षालय निर्माण हुने, प्रदषणको प्रोफाइल तयार गर्ने र सिटि म्याप तथा डकुमेन्ट्री तयार गर्ने, २६५ दिननै कर तिर्न पाउने व्यवस्था गर्ने, कर असुलि दरमा १० प्रतिशत वृद्धि हुने, मापदण्डको अनुगमन गरि प्रत्येक पसलमा मापदण्डको अवस्था टाँस गर्ने कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
यस्तै नगरपालिकामा थप भएका ११ वटै वडामा निःशुल्क असाहय, जेष्ठ नागरिक, महिलाका लागि शिविर संचालन गर्ने बताइएको छ । कार्यकारी अधिकृतले जारी गरेको कार्ययोजना पौषको ३ गतेबाट नै लागू गरिने जनाइएको छ । यो कार्ययोजना सम्बन्धित क्षेत्रका प्रमूखले जिम्मेवारी पुरा गराउन करार गराइने र कामम गर्दा लक्ष्य पुरा नगरेको पाइए मूल्यांकन गरि जिम्मेवारी हेरफेर गरिने र विभागीय कार्बाही समेत गरिने कार्यकारी अधिकृत अधिकारीले बताए।








Post a Comment

 
Top