हरि पन्त/गोल्डेन न्यूज
पोखरा ४ पुस ।
गैरकानूनी ढंगले संचालित व्यापार नै सबै व्यवसायीहरुको साझा समस्या भएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । व्यवसायीहरुले पोको बोकेर घर–घर, टोल–टोल पुग्ने व्यवसायीलाई गैरकानूनी व्यापार भन्दै आएका छन् । उनीहरुले गैरकानूनी व्यवसाय शदिऔंदेखि चल्दै आइरहेको भएपनि सरकारको नीति र व्यवसायीबीच एकता हुन नसक्दा व्यवसायीका यो समस्या ज्यूँका त्यूँ रहेको बताएका छन् । वक्ताहरुले भनेका छन्–‘सरकारको नीति अस्पष्ट छ, कसैले आवाज उठाउन पाउँदैन, यसमा पनि व्यवसायीहरु एकजुट हुन सकेका छैनन् ।’ सबै व्यवसायीहरु एकजुट भएर आवाज उठाउने हो भने सरकारले पनि स्पष्ट नीति ल्याउने पोखराका व्यवसायीहरुले दावी गरेका छन् । ‘गैरकानूनी व्यापारका कारण वैधानिक व्यवसायीलाई समस्या त छँदैछ, उपभोक्ताले ठगिनुपनि एकातिर छ भने राज्यलाई समेत करोडौं नोक्सान भएको छ’–वक्ताहरुले भने ।


‘गैरकानूनी व्यापार सबै उद्योगी व्यवसायीका एकैखाले समस्या हुन्, यो समस्याको समाधानमा एकलेमात्र केही गर्न सक्दैन, सबैबीच एकताको खाँचो छ’,थापाले भने–‘सबै व्यवसायी एकजुट भएर नियमक निकायलाई दवाव दिन सके उपयुक्त नीति बन्छ र कार्यान्वयनमा ल्याउँछ । तबमात्र समस्याको समाधान हुन्छ ।’
अर्को प्रसङ्गमा थापाले भूकम्प, मधेश आन्दोलन र नाकाबन्दीले नेपालीको जनजीवन संकटमा परेको बताए । गत वैशाखको भूकम्पले ७ खर्व र
नाकाबन्दीले १० खर्ब बराबरको नोक्सान पुर्याएको भन्दै उनले ती नोक्सानलाई परिपूर्ति गर्न धेरै समय लाग्ने बताए । उनले भने–‘भूकम्प र नाकाबन्दी राष्ट्रिय समस्या भएकाले धैर्य गर्दै समस्या समाधानका सबै लाग्नुपर्छ ।’ घरभाडा, गैरकानूनी व्यवसाय व्यवसायी तथा उद्योगीहरुको समस्या रहेको भन्दै थापाले यो समस्यामा पोखरा उद्योग वाणिज्य संघ प्रतिवद्ध रहेकोले पोउवासंघको अभियानमा सबै वस्तुगत संघ तथा व्यवसायीहरु लाग्नुपर्नेमा जोड दिए । उनले जनवरी महिना लाग्नासाथ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने बताए । उनले भने–‘मुआव्जाको विषय टुंगिसकेको छ । डिसेम्वर महिनाभित्र चीनसंग आवश्यक सम्झौता हुने र जनवरी महिनामा शिलान्यास हुन्छ ।’ उनले विमानस्थल निर्माण संगै पोखरा अन्तर्राष्ट्रिय सहरको रुपमा विकास हुने दावी गरे ।
कार्यक्रममा हार्डवेयर एशोसिएशन पोखराका अध्यक्ष प्रेम पौडेलले पेशा र व्यवसायलाई व्यवस्थित ढङ्गले संचालन गर्नुपर्नेमा जोड दिए । उनले समस्या छ भनेरमात्र हुँदैन, समस्या कहाँबाट आयो भनेर खोज्नुपर्नेमा जोड दिए । उनले हार्डवेयर व्यवसायमा पनि गैरकानूनी व्यापार मौलाउँदै गएकोमा चिन्ता प्रकट गरे ।
बुद्ध विशालबजार व्यापारिक एशोसिएशनका अध्यक्ष बलराम गौतमले गैरकानूनी व्यवसायलाई प्रोत्साहन दिने सबै व्यवसायीहरु नै रहेको स्पष्ट पारे । ‘गैरकानूनी व्यवसायको विकस हुनुमा हामी व्यवसायी नै जिम्मेवार छौं’, उनले भने–‘गैरकानूनी व्यवसा गर्नेहरुलाई निरुत्साहित पार्ने हो भने होलसेल व्यवसायीले सामान दिन रोक लगाउनुपर्छ ।’
कपडा व्यवसायी एशोसिएशनका अध्यक्ष यामनाथ तिमिल्सिनाले गैहकानूनी व्यवसायीलाई निरुत्साहित पार्न आफू र आप्mनो संस्थाले पटक–पटक पहल गरेको भएपनि जिम्मेवार निकाय गैरजिम्मेवार भएको आरोप लगाए । आफूहरुको मागमा पोखरा उद्योग वाणिज्य संघले नै ध्यान नदिंदा आफूहरुको चित्त दुखेको उनले गुनासो गरे ।
उक्त अवसरमा एशोसिएशनका सदस्य शिव सापकोटाले संस्था चलाउन पद्धति आवश्यक पर्ने भएकाले पद्धति बसाल्न नेतृत्व जागरुक हुनुपर्नेमा जोड दिए । व्यवसायीहरुका थुप्रै समस्या छन्, ती समस्या समाधानमा एकता छैन, प्रश्न गर्दै उनले भने–‘जब व्यवसायी बीच नै एकता हुँदैन अनि समस्या समाधान कसरी हुन्छ ?’
कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु प्रसाद तिमिल्सिना, एशोसिएशनका महासचिव नविन नापित, कोषाध्यक्ष, जीवन प्रकाश श्रेष्ठ, प्mलोरिङ एण्ड फर्निसिङ व्यवसायी संघका अध्यक्ष रहमोहन सुवेदी, कस्मेटिक्स व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद बाँस्तोला, फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष गिरीधारी अधिकारी, खुद्रा तथा किराना व्यवसायी संघका अध्यक्ष धनीराम बराल, भाँडा व्यवसायी संघका अध्यक्ष कुश कार्की लगायतले गैरकानूनी व्यवसाय सबै व्यवसायीका साझा समस्या भएकाले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले शनिबार पसल बद गर्न हुने र नहुनेमा समेत आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले कसैले शनिबार पसल बन्द गर्नुपर्छ भनेका थिए भने कतिपयले शनिबार पसल बन्द गर्नुहुँदैन भनेका थिए ।
कार्यक्रममा अग्रज व्यवसायी चक्रपाणि वाँस्तोला, गतवर्षको एसएलसी परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने संस्थाका सदस्यका छोराछोरीहरु मध्ये सागर सुवेदी र इशा गोयललाई सम्मान गरिएको थियो ।
Post a Comment