0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले आपूm नगरवासीसँग विकासका काममा सहकार्य गरेर अगाडि बढ्न इच्छुक रहेको बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले उनको स्वागत र सम्मानमा हालै लेकसाइडमा आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले विकासमा सहकार्य गरेर अगाडि बढे त्यस्तो विकास दिगो हुने भनाई राखे । पोखरा उपमहानरपालिका विकास निर्माणका काम र पोखराको पर्यटन प्रवद्र्धनका काममा संघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको पनि कार्यकारी अधिकृत अधिकारीले बताए । अधिकारी यसअघि पनि पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृत रही सकेका थिए । फेवा ताल वरपर साइकल मार्ग र पदयात्रा मार्गको निर्माण, नगरमा सौर्य बत्ती विस्तार, फेवा तालको संरक्षण, सडकमार्गको विस्तार लगायतका कामलाई आफूले जनताको साझेदारीमा अगाडि बढाउने उनले सो अवसरमा प्रतिबद्धता व्यक्त गरे ।

संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा सौर्य बत्ती जडान, फोहोरमैला व्यवस्थापन, एसियाली विकास बैंकको कालो सूचीबाट पोखरालाई मुक्त गर्न कार्यकारी अधिकृत अधिकारीले यसअघि उल्लेखनीय र सकारात्मक भूमिका खेलेको बताए । यसैगरी छाडा चौपायको नियन्त्रण र पर्यटनको विकासमा समेत अधिकारीले गरेको कामको पराजुलीले प्रशंशा गरे । कार्यक्रममा फेवा तालबाट जलकमुम्भी झार हटाउने र त्यहाँको माटो हटाउने मेशिन ल्याउन, हल्लनचोक क्षेत्रमा पर्यटन सूचना केन्द्र राख्न, मालपोत नजिकको पुललाई सुरक्षित र भरपर्दो बनाउन माग पनि गरिएको थियो ।

सो अवसरमा संघका सल्लाहकारहरु गोविन्दराज पहारी, सुन्दरकुमार श्रेष्ठ, बच्चुराम तिवारी, लक्ष्मीवहादुर भट्टराई, संघका प्रथम उपाध्यक्ष विकल तुलाचन, तालिमका सहभागी एवं नेपाल पर्यटन वोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठी, अर्की सहभागी उर्मिला श्रेष्ठ, टोल विकास समवन्वय समितिका संयोजक गिरिराज अधिकारी र तालिमकी प्रशिक्षक नेदरल्याण्डकी एनी मिटेरडोरफरले पनि आफ्ना भनाई राखेका थिए । सो अवसरमा तालिमका प्रशिक्षार्थीलाई कार्यकारी अधिकृत अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए । नेदरल्याण्ड स्थित पुम नामक विज्ञहरुको संस्थाको सहकार्यमा सुरु भएको चार दिने पर्यटन तथा होटल व्यवस्थापन तालिममा पोखरा स्थित विभिन्न होटलका संचालक, व्यवस्थाक एवं कर्मचारी गरी ४० जनाको सहभागिता रहेको तालिम संयोजक एवं संघका द्वितीय उपाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाल पर्यटन वोर्डले कार्यक्रमलाई सघाएको थियो । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

यसैबिच कास्कीको प्रमुख जिल्ला अधिकारीबाट सरुवा भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयमा जिम्मेवारी सम्हाल्न जान लागेका कृष्णवहादुर राउतलाई पश्चिमाञ्चल होटल संघ पोखराले विदाई गरेको छ । सो अवसरमा संघका पदाधिकारी तथा सल्लाहकारले अध्यागमन कार्यालय मार्फत देशविदेशमा नेपालको छवि उँचो राख्ने खालको काम गर्न प्रमुख जिल्ला अधिकारी राउतलाई सुझाव दिएका थिए । विमानबाट विदेशी पर्यटक विमानस्थलमा अवतरित हुन साथ त्यहाँको व्यवहार र गतिविधि हेरेर नेपालप्रति आफ्नो धारणा बनाउने स्मरण गराउँदै पर्यटकप्रति गरिने व्यवहारमा सुधार ल्याउन सुझाव दिइएको हो । कार्यक्रममा बोल्दै राउतले १९ महिने आफ्नो कार्यकालमा निर्वाह गरेको भूमिकाबाट आफू सन्तुृष्ट भएको बताए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मुअब्जा वितरण, लुम्ले र भदौरे तमागिमा पहिरो जाँदा आफूले खेलेको जनसहयोगी भूमिका, विनासकारी भूकम्प जाँदा खेलेको समन्वयकारी भूमिका, सडक विस्तार र नाकाबन्दीको समस्यामा जनतालाई पु¥याएको योगदानको प्रजिअ राउतले स्मरण गरे ।

Post a Comment

 
Top