0
म्याग्दी जिल्लाको कुइनेमङ्गले गाविसमा अवस्थित धौलागिरि हिमालको फेदैमा अवस्थित ‘हिमालका देवता’ को वासस्थान मानिने रिखार क्षेत्रको संरक्षण, प्रचार प्रसार र त्यस क्षेत्रको पर्यटन विकासका लागि स्थानीय बासिन्दा एकजुट भएका छन् ।
जिल्ला सदरमुकाम बेनीबजारदेखि करिब ४० किलोमिटर उत्तरतर्फ, धौलागिरी हिमालको फेदमा अवस्थित रिखार क्षेत्र धार्मिक दृष्टिका साथै पर्यटकीय सम्भावना भएको महत्वपूर्ण स्थल हो ।  आवश्यक प्रचार प्रसार र भौतिक पूर्वाधारको अभावका कारण ‘बत्तीमुनिको अँध्यारो’ बनेको रिखार क्षेत्रको प्रचार प्रसारका लागि स्थानीयले जिल्लाका सरोकारवाला निकायहरूलाई जानकारी गराउनेदेखि लिएर सो क्षेत्रको सरसफाइ र गोरेटो बाटो निर्माणमा जुटेका हुन् । स्कन्दपुराणका अनुसार द्वापर युगमा देवीदेवता र ऋषिमुनिहरूले तपस्या गर्ने रिखार क्षेत्र मनमोहक प्राकृतिक वातावरण, जैविक र सांस्कृतिक विविधता, वन्यजन्तु तथा पक्षीहरूका कारण आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने प्रवल सम्भावना रहेको स्थानीय दर्शन छन्त्यालले बताए । रिखार क्षेत्रलाई हिमालका देवताको वासस्थान भनेर चिनिने गरिएको छ । रिखार ताल छेउमै रहेको शिव मन्दिर र वर्षौंपहिलेका शिल्पीहरूको संरक्षणका लागि स्थानीय तहबाट भएको प्रयासलाई माथिल्लो निकायबाट सहयोग नभएको त्यस क्षेत्रको पर्यटकीय विकासमा सक्रिय रहँदै आएका बमबहादुर शेरपुञ्जाले बताए । उनका अनुसार संरक्षणको अभावमा मन्दिर जीर्ण बनेको छ भने छन्त्याल, मगरलगायत भाषाका शिल्पलिपीहरू नष्ट हुने अवस्थामा छन् । त्यस क्षेत्रको सम्भावनाका बारेमा केही वर्षअघि स्थानीय निकायको अगुवाइमा स्थलगत अवलोकन पनि भएको थियो । सरोकारवालाको बेवास्ताका कारण अध्ययन प्रतिवेदन अहिले अलपत्र परेको छ । रिखार क्षेत्रमा पुग्न उचित बाटोघाटो निर्माण र अन्य भौतिक संरचनाको निर्माणतर्फ सबैको ध्यान पुगे त्यहाँको विकास हुने स्थानीय बासिन्दा देउमान घर्तीको भनाइ छ । तलाउको जलले स्नान गरी भगवान्को पूजाअर्चना गर्नाले भगवान्को लोक पाउने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । देशका विभिन्न स्थानका साथै भारतबाट आउने तीर्थयात्री र पर्यटक बाटो र खानेबस्ने होटलको सुविधा नहुँदा समस्यामा पर्ने गरेका छन् । रिखार क्षेत्रमा चुरेपहाडमा देखिने सुन्दर छहरा, गुफा, रघुगङ्गा नदी, सांस्कृतिक रूपमा अन्यभन्दा पृथक् जीवन शैलीमा रमेका छन्त्याल जातिको रहनसहन र प्राकृतिक दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहीको मन लोभिन्छ ।

Post a Comment

 
Top