0
म्याग्दीको ग्रामीण क्षेत्रमा दाता निकायले लाखौँ खर्चेर निःशुल्क जडान गरेको सोलार मिल अहिले उपयोगविहीन बनेका छन् । ढिलो काम हुने, मर्मत सम्भारको अभाव र व्यवस्थित रूपमा प्रयोग हुन नसक्दा युरोपियन युनियनले जडान गरेका सोलार मिल प्रयोगविहीन बनेका हुन् । युनियनको नवीकरणीय ऊर्जा आयोजनाअन्तर्गत विसं २०६८ मा म्याग्दीको मुदी, रुम र अर्मनमा तीनवटा सौर्य ऊर्जाबाट चल्ने मिल स्थापना भएको थियो । जडान भएको केही महिना सञ्चालन भए पनि प्रभावकारी नदेखिएपछि हाल सोलार मिल अलपत्र बनेको मुदीका सोलार मिल सञ्चालक गौबहादुर रोकाले बताए । कोदो, मकै, गहुँ, जौ पिस्न सकिने सोलार मिलका उपकरणहरू बिग्रिएर थन्किएका छन् । उनका अनुसार पिसानीको काम गर्दा ढिलो हुँदा सोलार मिल प्रभावकारी बन्न सकेको थिएन । मिल बिग्रिएपछि स्थानीयस्तरमा मर्मत गर्न नसकिएपछि पुनः सञ्चालनमा आउन नसकेको रोकाले बताए । उनका अनुसार मिलका उपकरण ढुवानी, जडान र भवन निर्माण गर्न व्यक्तिगत रूपमा रु चार लाख लगानी भएको थियो । आयोजनाले एकसय वाट बराबरको सौर्य ऊर्जा र मिलका उपकरण भने निःशुल्क उपलब्ध गराएको थियो । एउटा सोलार मिल जडान गर्न आयोजनाले रु दुई लाखभन्दा बढी खर्च गरेको थियो । सोलार मिल स्थापना गर्दा भएको लगानी पनि उठ्न नसकेको सञ्चालकले बताएका छन् । आयोजनाले सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा जडान गरेको सौर्य ऊर्जा भने उपयोगी बनेको छ । बत्ती र कम्प्युटर प्रयोग गर्न सौर्य ऊर्जाको प्रयोग भएको छ ।

Post a Comment

 
Top