0
गोल्डेन न्यूज संवाददाता
छैठौँ विग आइकनको दोस्रो दिनको अडिसनमा ४५ जनाले अघिल्लो चरणका लागि ग्रीन कार्ड प्राप्त गरेका छन् । यो सँगै दुई दिन गरेर कुल ९७ जनाले अघिल्लो चरणको लागि ग्रीन कार्ड प्राप्त गरे । विग आईकनको यो सिजन अन्तरगत पहिलो चरणको अडिसन तीन दिनसम्म चल्ने एफएमले जनाएको छ । पहिलो चरणको अडिसनको अन्तिम दिन मंगलबार विहान ८ बजेदेखि नै सहभागीहरु लाई गीत गाउन लगाईने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । अडिसन न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा भैरहेको छ । सोमबार सहभागीहरुलाई निर्णायकहरु श्यामसुङ तामाङ, सुनील थापा र विनोद बाँनियाले अडिसन लिएका थिए । ‘यो पटक निकै राम्रा प्रतिभाहरु आएका छन् । र, हामीले पहिलो चरणबाटै निकै कडा निर्णय लिँदै गएका छौँ ।’ निर्णायक मध्येका एक सुनील थापाले भने–‘पहिलो चरणमै को भन्दा को कम प्रतियोगीहरु आउँदा हामीलाई पनि मज्जा लागेको छ ।’ 

अन्तिम चरणसम्म पुग्दा निकै खारिएर मात्रै गायन प्रतिभा आउने उनले बताए । यो पटक नयाँ थपिएका निर्णायकद्वय कर्ण दास र विवेक श्रेष्ठ दोस्रो चरणको अडिसनपछि मात्रै आउने एफएमले जनाएको छ । छैठौँ विग आईकनको विजेताले उपाधिसँगै १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर र बेलायतको साँगीतिक यात्रा पुरस्कार स्वरुप पाउने एफएमले बताएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट १० प्रतिभा छनौटका लागि निर्णायकहरुको शतप्रतिशत अधिकार रहनेछ । उत्कृष्ट १० पछि उत्कृष्ट तीनसम्म छनौटका लागि निर्णायकको अग्राधिकार रहनेछ । ग्राण्ड फिनालेमा भिड्ने तीन जना प्रतिस्पर्धीका लागि भने उत्कृष्ट छान्ने सर्वाधिकार स्रोताको एसएमएस मतदानमा रहने एफएमले जनाएको छ ।












Post a Comment

 
Top