0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित कुन्तिदेवी शिक्षा पुरस्कार २०७२ द्वारा अमर सिद्ध नमूना उच्च मा.वि. लेखनाथ–११, पचभैयाकी छात्रा उषा सुवेदी सम्मानित हुने भएकी छिन्। लेखनाथ नगरपालिकाका सामुदायिक विद्यालयहरुमध्येबाट एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रालाई प्रदान गरिने उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ र प्रशंसा पत्र रहेको छ। २०७१ को एस.एल.सी. परीक्षामा सुवेदीले ८३.७५ प्रतिशत अङ्क प्राप्त गरेकी थिइन्। कवि शिरोमणि लेखनाथ पौडेलकी कान्छी छोरी स्व.कुन्तीदेवी भट्टराईको स्मृतिमा उनको परिवारद्वारा स्थापित उक्त पुरस्कार सहित कवि शिरोमणि लेखनाथ प्रा.वि. अर्चलेका विद्यार्थीहरुलाई पनि रु. १० हजारको छात्रवृत्ति प्रदान गरिँदै छ। यसैगरी कवि तथा गायक पद्मराज ढकालद्वारा स्थापित तथा सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराद्वारा सञ्चालित मधुमाया ढकाल छात्रवृत्ति–२०७२ जनज्योति उच्च मा.वि. कालिकाकी छात्रा सविना पौडेलले प्राप्त गर्ने भएकी छन्। उनले २०७१ को एस.एल.सी. परीक्षामा ८२.१२ प्रतिशत अङ्क प्राप्त गरेकी थिइन्। 

ढकालकै परिवारजनबाट स्थापित तथा लेखनाथ सांस्कृतिक समूह, लेखनाथद्वारा सञ्चालित चन्द्रकान्त ढकाल छात्रवृत्ति लेखनाथ नगरपालिकाका सामुदायिक विद्यालयहरुमध्येबाट २०७१ को एस.एल.सी.मा सर्वोत्कृष्ट ८५.२५ प्रतिशत अङ्क प्राप्त गर्ने त्रिभुवन शान्ति उच्च मा.वि. लेखनाथ–१२ खुदीका छात्र निरज भट्टराई र संस्थागत विद्यालयहरुमध्ये २०७१ को एस.एलसीमा सर्वोत्कृष्ट ९०.७५ प्रतिशत अङ्क प्राप्त गर्ने नेपाल आदर्श आवासीय उच्च मा.वि. लेखनाथ–१ भण्डारढीकका छात्र आशिषबाबु बगाले दुवैलाई रु. पाँच÷पाँच हजार र प्रशंसापत्र प्रदान गरिने भएको छ।

यसैगरी ढकालकी बहिनी अम्बिका ढकालद्वारा स्थापित फणिन्द्रकुमारी ढकाल स्मृति छात्रवृत्ति २०७१ को एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट ७१.२५ प्रतिशत अङ्क प्राप्त गर्ने लक्ष्मी आदर्श उच्च मा.वि.का छात्र अमृत त्रिपाठीलाई पाँच हजार रुपैयाँ सहित प्रशंसापत्र प्रदान गरिनेछ। कास्कीको अर्घौं अर्चलेमा पुस १५ गते हुने कवि शिरोमणि लेखनाथ पौडेलको १३२ औं जन्मजयन्ती समारोहबीच उक्त पुरस्कार प्रदान गरिने लेखनाथ साहित्य प्रतिष्ठानको अध्यक्ष प्रद्मराज ढकालले जानकारी दिए ।




Post a Comment

 
Top